धनगढीको ६ लेन सडकमा जेब्रा क्रसिङ बनाउँदै अनेरास्ववियू

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले जेब्रा क्रसिङ बनाउन सुरु गरेको छ । धनगढी उपमहानगरपालिकाले निर्माण गरेको पैदल मार्गमा अनेरास्ववियूले जेब्रा क्रसिङ बनाउन थालेको हो ।

सोमवार देखि ६ लेन सडक खण्डमा राखिएका पैदल मार्गमा अनेरास्ववियू कैलाली र धनगढी नगर कमिटिले जेब्रा क्रसिङ बनाउन थालेको हो । ट्राफिक प्रहरीसँगको समन्वयमा सोमवार धनगढीको नेपाल पुलिस स्कुल अगाडि जेब्रा क्रसिङ बनाइएको छ ।

अनेरास्ववियुका नगर अध्यक्ष नितिश जोशीकाअनुसार ६ लेन सडक खण्डमा पैदल यात्रीहरुले जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम रहेकाले जेब्रा क्रसिङ बनाउन थालिएको हो ।

विद्यार्थी संगठनले ढुंगामुढा वा आन्दोलनका कार्यक्रम मात्र नभएर रचनात्मक काम समेत गर्छन् भन्ने सन्देश दिन पनि क्रसिङ बनाइरहेको उहाँले बताउनु भयो । अनेरास्ववियू कैलालीका अध्यक्ष किशोर शाहले जेब्रा क्रसिङले ६ लेन सडकखण्डमा दुर्घटना न्यूनीकरणमा मद्दत गर्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले जेब्रा क्रसिङ र स्पष्ट संकेत नहुँदा जथाभावी सडक पार गर्दा भइरहेका दुर्घटनामा न्यूनीकरण गर्नका साथै यात्रुहरुमा सचेतना समेत अभिबृद्धि गर्ने बताउनु भयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र जोहारीले पर्याप्त स्रोत, साधनको अभावले जेब्रा क्रसिङ बनाउन नसकिएका बेला युवा र विद्यार्थीले सकारात्मक कामको थालनी गरेको बताउनु भयो । उहाँले उक्त अभियानमा सबै पक्षबाट सहयोग पाउनेमा आशावादी रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?