नदीजन्य पदार्थको चोरीमा सरकारी उदासीनता

फाइल तस्बिर

विवेक खड्का दाङ, संवाददाता
Read Time = 9 mins

दाङ । राजपुर गाउँपालिकाले यस वर्ष नदीजन्य पदार्थ उत्खनन् र निकासीका लागि तीन पटक ठेक्का आह्वान ग-यो तर जम्मा एउटा घाटको नदीजन्य पदार्थ उत्खनन् र निकासीका लागि ठेक्का प-यो । त्यो ठेक्का पनि अझै सम्झौता भएको छैन । नदी तथा खोला क्षेत्रमा दिनहुँ चोरी निकासी भइरहे पनि त्यसलाई नियन्त्रण गर्नेतर्फ चासो छैन । चोरी निकासी बढिरहँदा स्थानीय सरकारले खोलेको ठेक्का समेत लागेको अवस्था छैन । नदीजन्य पदार्थ चोरी भएर राजश्व गुमिरहेको छ भने अर्कोतर्फ स्थानीय सरकारको आम्दानीको स्रोत पनि घटेको छ । १२ वटा घाटमा ठेक्का लगाउन प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन गरिएको थियो । सोही आधारमा सार्वजनिक सूचना प्रकाशित गरेर ठेक्का आह्वान गरिएको हो ।

तर मुस्किलले एउटा ठेक्कासम्म परेको छ । राजपुर गाउँपालिकाको क्षेत्रभित्र रहेको नदी तथा खोला क्षेत्रमा राम्रो बालुवा र ढुंगा नभएको भन्दै प्रस्ताव नआएको दाबी गरिएको छ तर, चोरी निकासी भइरहेकाले कसैले पनि ठेक्का हाल्न तयार नभएको देखिन्छ । ‘हामीले त ठेक्का आह्वान ग¥यौं तर, मुस्किलले एउटा मात्रै प्रस्ताव आयो’– गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादवले भन्नुभयो– ‘चोरी निकासी भइरहने तर पालिकाले लगाएको ठेक्का नपर्ने स्थिति बन्न थाल्यो ।’ नदी तथा खोलामा बालुवा, पांगो माटो थुप्रिदा बस्ती भन्दा खोलाको सहत माथि आएको छ तर खोला खोल्ने काम समेत हुन सकेको छैन । ठेक्का समेत नलाग्दा पालिकाको राजश्व संकलनको अवस्था दयनीय छ ।

दैनिक चोरीका घटना बढेका छन् । रातभरि ट्याक्टर खोलामा पसेका हुन्छन् । उत्खनन् गरेर बिक्री भइरहेको छ । राजपुर गाउँपालिकाले भोगेकै जस्तो समस्या गढवा गाउँपालिकामा पनि छ । गढवा गाउँपालिका क्षेत्रभित्र पर्ने राप्ती नदी र अन्य खोलाबाट नदीजन्य पदार्थ चोरी भइरहेको छ । चोरी निकासी नियन्त्रणका लागि स्थानीय प्रशासनको साथ लिन खोजे पनि नपाएको गुनासो गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीले गर्नुभयो । ‘हामी जनप्रतिनिधि कहाँ–कहाँ पुग्ने ?  खोलामा ट्याक्टर हुन्छन् हामीसँग आफ्नै प्रहरी छैन’– उहाँले भन्नुभयो– ‘नियन्त्रणको प्रयास गर्छौं फेरि बढ्छ ।’

उपभोक्ता समितिको नामबाट नदीजन्य पदार्थ संकलन गर्ने तर त्यही संकलन गरिएको पदार्थलाई क्रसर उद्योगको बिल बनाएर बिक्री वितरण गर्ने गरिएको पाइएको छ । स्थानीय सरकारले यस बारेमा प्रमाण संकलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशीष चौधरीले बताउनुभयो । ‘खोलाबाट उपभोक्ता समितिको नाममा ढुंगाजन्य वस्तु संकलन गर्ने, बिल क्रसर उद्योगबाट लिने प्रवृत्ति बढ्यो’– उहाँले भन्नुभयो– ‘खोलामा बेथिति बढ्दा हामीलाई काम गर्न पनि गाह्रो भयो ।’ गढवा गाउँपालिकाले नदीजन्य पदार्थबाट दुई करोड राजश्व संकलन गर्ने लक्ष्य अनुसार ठेक्का आह्वान गरेको थियो । १५ वटा घाटमा ठेक्का लगाउने गरी सूचना प्रकाशित गरे पनि छवटा घाटमा मात्रै आवेदन परेको छ । अहिले एउटा मात्रै घाटबाट नदीजन्य पदार्थ संकलन गर्न सम्झौता भएको छ ।

नदीजन्य पदार्थको चोरी बढ्दा त्यसको प्रत्यक्ष असर स्थानीय सरकारको राजश्व संकलनमा परेको छ । नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण गर्ने जिम्मेवारी स्थानीय सरकारको भएकाले जिम्मेवारढंगले काम गर्नुपर्ने जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बताउनुभयो । ‘हामीले जिल्ला तहबाट गर्ने अनुगमन गरिरहेका छौं । स्थानीय सरकारले नै चोरी निकासी नियन्त्रण गर्न सक्छ, गर्नुपर्छ’– उहाँले भन्नुभयो– ‘जिम्मेवारीबाट कोही पनि पन्छिन पाउँदैन ।’ प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले नदीजन्य वस्तुको उत्खनन् गर्न ठेक्का लागेको क्षेत्रको निरन्तर अनुगमन गर्नुपर्ने बताउनुभयो

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरी एक्लैले नसक्ने भन्दै सबैको साथ सहयोगबाट चोरी निकासी नियन्त्रण गर्न सकिने बताउनुभयो । ‘यो एक्लो प्रयासबाट मात्रै नियन्त्रण हुने खालको समस्या होइन, सबैको साथ सहयोग चाहिन्छ । बढी जिम्मेवार स्थानीय सरकार हुनैपर्छ’– उहाँले भन्नुभयो– ‘सूचना आएपछि प्रहरी खोलामा पुगेकै छ । रोक्ने प्रयास गरेकै छ ।’ नदीजन्य पदार्थ उत्खनन्का लागि ठेक्का लगाइएको क्षेत्रमा सीमा विवाद बढ्दो छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले ठेक्का लगाएको क्षेत्रमा सीमा विवादका कारण समस्या निम्तिदै आएको हो ।

वन कार्यालयले पनि आफ्नो क्षेत्रमा ठेक्का लगाउँदै

डिभिजन वन कार्यालयले लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका वन क्षेत्रभित्र पर्ने खोलामा नदीजन्य पदार्थ संकलन र बिक्रीको लागि ठेक्का आह्वान गर्ने तयारी गरेको छ । प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन सकेर खोला क्षेत्रबाट नदीजन्य पदार्थ संकलनको लागि ठेक्का लगाउने तयारी गरेको हो । वर्षौंदेखि खोलामा थुप्रिएको नदीजन्य पदार्थका कारण खोलाको सतह वस्ती भन्दा माथि आउन थालेपछि त्यसको सफाइको लागि पनि ठेक्का लगाउनु पर्ने अवस्था आएको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ ।

मादण्डभित्र नरहेका क्रसरको खोजी

जिल्ला अनुगन समितिले मापदण्डमा नरहेका क्रसर उद्योगको खोजी गरेको छ । गृहमन्त्रालयले मापदण्डमा नरहेका क्रसर उद्योग बन्द गराए पनि पुनः सञ्चालनको अनुमति दिएको छ । ती उद्योगहरुले काम कसरी गरिरहेका छन् भन्ने बारेमा अनुगमन गरिएको छ । स्थानीय सरकारले ठेक्का लगाएको क्षेत्र र क्रसर उद्योगको बारेमा अनुगमन गरिएको हो । जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको नेतृत्वमा रहेको टोलीले राजपुर गाउँपालिका, गढवा गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल र स्थलगत अनुगमन गरेको हो । हाल रहेको प्रावधान अनुसार अधिकांश क्रसर उद्योगको मापदण्ड पुग्दैन । नयाँ प्रावधान निर्माण गरेर क्रसर उद्योगहरुको नियमन गर्नुपर्ने आवाज उठेको छ । ‘वन र वस्तीको दूरीको आधारमा मापदण्ड पुग्दैन । उद्योग दर्ता छ नवीकरण छैन’– प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले भन्नुभयो– ‘गृहमन्त्रालयको पछिल्लो परिपत्र अनुसार चालु आर्थिक वर्षमा राजश्व बुझ्न अनुमति दिएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?