मलमा अनुदान कटौतीको विरोध

Read Time = 3 mins

काठमाडौं । अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी झापाले रासायनिक मलमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । महासंघका जिल्ला अध्यक्ष विमल निरौलाले मंगलबार विज्ञप्ति जारी गर्दै मलखादमा भएको मूल्यवृद्धि तत्काल खारेजीका साथै भारतबाट भित्रिँदै गरेका विषादीयुक्त र गुणस्तरहीन कृषि उपजको प्रवेशमा रोक लगाउन माग गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ, ‘एकातर्फ कृषि उत्पादनमा महँगी बढिरहेको छ, अर्कोतर्फ उत्पादित कृषि वस्तु लागत बढी भएका कारण उचित बजार मूल्य पाउन सकेको छैन । कृषकले कृषि पेशामा रहेर जीवन निर्वाह गर्न सक्ने सम्भावना अत्यन्तै कमजोर तथा जटिल बन्दै गएको छ ।’

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)अन्तर्गतको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले रासायनिक मलमा अनुदान कटौतीको विरोध गरेको छ । संगठनले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारले किसानको चासो र मागमा समाधान खोज्नुको सट्टा उल्टै किसानलाई प्रत्यक्ष मार पार्ने गरी मलमा मूल्यवृद्धिको निर्णय गरेको जनाएको छ । संगठनका संयोजक सुजित केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट सत्तासीन वर्गले किसानलाई हेर्ने दृष्टिकोण उदांगो भएको छ ।

आफूलाई परिवर्तनकारी तथा अग्रगमनका हिमायती भन्ने सत्तासीनहरूले आफ्नो सेवा सुविधालाई बढाउँदै लाने, ऋण लिएरै वा ब्याज तिरेरै भए तापनि तलबभत्ता वृद्धि गर्दै जाने तर गरिब, विपन्न र निमुखा जनताको हितमा कहिल्यै नसोच्ने कार्य अत्यन्त निन्दनीय छ ।’ संगठनले मलमा अनुदान घटाउने निर्णय फिर्ता नलिए र किसानको समस्यामा नजरअन्दाज गरिरहे कठोर संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?