इतिहासको साँक्षी बनेको ज्यामरुककोटको विचारी चौतारो

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 9 mins

म्याग्दी । तल्लो पट्टी घना जंगल । माथितिर ऐतिहासिक खड्गभवानी कोत । दुवैतिरबाट मोटरबाटोले फन्को मारेको घुम्ती नजिकै कन्थराजको थानको डाँडोमा विशाल समीको रुख र एउटा चौतारी छ । ठूलाठूला ढुङ्गाका छपनी विछ्याइएको त्यो चौतारीलाई स्थानीयले विचारी चौतारी भन्छन् ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको कन्थराजथानमा अवस्थित यो चौतारी विसं १७७८ सालमा जहरसिंह घिमिरेले निर्माण गर्नुभएको स्थानीय रामकृष्ण घिमिरेले जानकारी दिनुभयो । अरु चौतारीमा वरपिपल हुने गरेपनि यो चौतारीमा समी लगाइएको छ । समीको यो रुख पनि ३ सय वर्ष पुरानो रहेको घिमिरेले बताउनुभयो ।

तत्कालीन समयमा पाल्पा अदालतमा विचारी पदमा कार्यरत आफ्ना पूर्वज स्व.जहरसिंह घिमिरेले कन्थराज थानमा चौतारी निर्माण गरी बरपिपल र समिको विरुवा लगाउनुको साथै चौतारी पोखरीको विवाहमा आफ्नै खर्चले ब्राह्मण बरबधुको समेत विवाह गरिदिनुभएको जहरसिंहका छैठौं पुस्ताका रामकृष्ण घिमिरेले बताउनुभयो ।

म्याग्दीको ऐतिहासिक स्थल खड्गभवानी कोतदेखि तल्लोपट्टी रहेको यो चौतारीबाट धौलागिरि,माछापुच्छ्रे, गौरीशंकर,अन्नपूर्ण,निलगिरि,मानापाथी,गुर्जा लगाएतका १४ वटा हिमालहरु,कालीगण्डकी,म्याग्दी नदी,गलेश्वरधाम,गायत्री  मन्दिर,पुलहाश्रम,जडभरत गुफा,डढेकोट,बेनीबजार,मल्लाज,पुलाचौर,पञ्चका्ट लगाएत म्याग्दी,बागलुङ र पर्वतका ४० भन्दा बढी गाउँहरु देख्न सकिन्छ ।

घिमिरेका अनुसार लम्बाइ र चौडाइ (गज) बराबर भएको उक्त चौतारीमा केही वर्ष अघिसम्म नवरात्र (दशैं) का दश दिनसम्म ब्राह्मण राखी चण्डी पाठ लगाउने गरिन्थ्यो । अहिले सो चलन हटिसकेको छ । अहिलेसम्म पनि जनै पूर्णिमामा सोही चौतारीमा जनै मन्त्रणा गर्ने गरिन्छ । चौतारीको एक भागमा कन्थराज (स्थानीय देवता) को मुर्ति स्थापना गरीएको छ । यहाँ फूलपाती, दुध,दही र जनै चढाउने चलन रहेको छ ।
पछिल्लो समय चौतारीको दुईतिरबाट मोटरबाटो खुलेपछि यो चौतारीको अस्तित्व समेत संकटमा परेको छ । चौतारीको अस्तित्व संकटमा परेपनि यहाँ सुस्ताउन आउने,भारी विसाउने र मनोरञ्जन लिने मानीसहरुको अहिलेसम्म पनि भीड लाग्ने गर्छ । मोटरबाटो नखुल्दासम्म यहाँ भारी विसाउने भरिया, गाईवस्तुका हेरालु गोठाला,बटुवा र सर्वसाधारणको थेगीनसक्नु भीड लाग्ने गर्दथ्यो । सिरसिर हावा चल्ने यो चौतारीमा सुस्ताउनका लागि भकुण्डे,फापरखेत,अर्जम,खबरा लगाएतका गाउँहरुबाट युवायुवती र बूढाबूढी समेत आउने गरेका स्थानीय भीमबहादुर पौडेलले जानकारी दिनुभयो ।

पुराना पुस्ताले रोपेका वरपीपल सँगै बनाएका चौतारी नयाँ पुस्ताले संरक्षण गर्न चासो नदिदाँ चौतारी सँगैका वर तथा पिपल मासिदै गएका पौडेलले बताउनुभयो । केहि वर्ष अघि सम्म थकाई मार्ने र चौतारीमा बसेर गफगाफ गर्ने मानिसहरु ठाँउ ठाँउका चौतारीहरुमा प्रशस्त देखिन्थ्यो । तर अहिले तिनै चौतारी सँगै वर पिपल समेत देखिनै छोडेको स्थानीयको भनाई छ ।

“अहिले गाँउगाँउमा मोटरबाटो पुगिसकेको छ । मानिसले भारी बोक्न छोडिसकेका छन् । मानिसको सट्टा विभिन्न सवारी साधनले सामानहरु बोक्ने गरेका छन् । तर पछिल्लो समय न त थकाई मार्न चौतारी भेट्न सकिन्छ । नत चौतारीमा बसेर दुःख सुखका कुरा गर्ने मानिसहरु नै भेट्न सकिन्छ,तर पनि विचारी चौतारीमा भने अहिलेसम्म मानिसहरुको भीड लागिरहन्छ” पौडेलले भन्नुभयो ।

बैदेशिक रोजगारीका लागि युवाहरु विदेशमा छन् । गाँउघरमा वृद्धवृद्धा र केटाकेटीहरु मात्र भेट्न सकिन्छ । गाँउघरमा भएका युवा पुस्ताले समेत चौतारी संरक्षणमा ध्यान नदिदाँ वरपिपल सँगै चौतारी समेत मासिएका हुन् ।

कुनै बेला धार्मिक आस्थाका कारण रोपेर हुर्काएका वर पीपल चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सजिलो मात्र थिएन, गाउँ समाजका भएका समस्या र विवादमा भेला हुने थलो पनि चौतारी थियो  । तर हिजो आज विवाद भए पनि चौतारीमा विवादको समाधान गर्न प्रवृद्धि समेत हराईसकेको छ र हराई सकेका छन् चौतारीहरु पनि, पुराना पुस्ताले रोपेका वरपीपल र बनाएका चौतारीको महत्त्व भने अहिले सडक विस्तारले गर्दा हराईसकेको बेनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

“पहिला पहिला त दिनभर चौतारीमा बस्यो गाईभैसी चरायो सुखदुखका गफ गर्यो बस्यो अहिले त त्यस्ता दिन पनि छैनन् र चौतारीहरु पनि छैनन् । पहिला गाँउघरमा मोटरबाटो पुगेको थिएन, भारि भरिया वा खच्चडले बोक्ने गर्दथे, भरियाले चौतारीमा वर पिपलको छायाँ सँगै थकाई मार्ने गर्दथे तर अहिले भने चौतारी भेट्न समेत गाह्रो छ” स्थानीय इन्द्रदत्त सापकोटाले भन्नुभयो ।

केहि वर्ष अगाडि सम्म गाउँमा वरपीपल सहितको चौतारी हुनुपर्छ भन्ने भावना सबैमा हुन्थ्यो । तर अहिले भएका चौतारी पनि मर्मत गर्न भन्दा पनि सडक खन्दा होस् या अन्य विकास निर्माणका कार्य गर्दा भत्काउने गरिएको छ । भत्काएका चौतारीलाई पनि स्तान्तरण नगरिदा पछिल्लो समय चौतारीहरु विस्थापित बन्दै गएका छन् । पहिला वरपीपल रोप्ने, विवाहको संस्कार गर्ने र चौतारा बनाउने धार्मिक विश्वास समेत रहेको थियो ।
“उकाली–ओराली गर्ने स्थानमा पनि चौतारी बनाउनुपर्छ भन्ने भावना सबैमा हुन्थ्यो । पहिला त बैशाख महिना भरि र अरु महिनामा शनिवारको दिन भगवान् विष्णुको प्रतिको रुपमा रहेका वर पिपलको रुखमा पानी हाल्ने प्रचलन थियो । अहिले त त्यो वर पिपलमा पुजा गर्न र पानी हाल्नै कै लागि पनि चौतारी र वरपिपल भेटिदैनन्” फापरखेतकी देवी घिमिरेले भन्नुभयो ।

केहि वर्ष पहिला सम्म वृद्धवृद्धाको गफ गर्ने र भेटघाट गर्ने ठाउँ चौतारी नै हुन्थे । झगडाहरू पर्दा न्याय पाउने ठाँउ नै चौतारी हुन्थ्यो । तर अहिले चौतारी सँगै वर पिपल समेत हराउदै गएका छन् । पहिला वरपीपल रोपेको ठाउँमा ढुंगाका कलात्मक चौतारा बनाउने चलन थियो तर अहिले भने विस्तारै वर पिपल र चौताराहरु नै हराउदै गएको स्थानिय बुढापाकाको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?