अन्तिम खेलमा पिएनजी पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पपुवा न्युगिनी(पिएनजी)ले आइसिसी विश्वकप लिग-२ सिरिज हारका साथ समाप्त गरेको छ । यस सिरिजको अन्तिम खेलमा पिएनजी युएईसँग ६ विकेटले पराजित भएको हो । टियु क्रिकेट मैदानमा पिएनजीले दिएको २३५ रनको लक्ष्य युएईले ३८ ओभर चार बलमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

युएईको जितमा ओपनर तथा कप्तान मुहम्मद वासिमले ७६ बलमा ११९ रनको शतकीय इनिङ खेल्नुभयो । ६१ बलमा शतक पूरा गर्नुभएका वासिमले ७६ बलमा १२ छक्का र ६ चौका प्रहार गर्नुभएको थियो ।

त्यसबाहेक वृत्य अरबिन्दले ३३ रन बनाउँदा सिपी रिजवानले अविजित २९ रन बनाउनुभयो । आयान खान २७ रनमा आउट हुनुभयो । पिएनजीका लागि राइली हेरुकेले दुई तथा कबुअ मारिया र जोहन कारिकोले समान एक-एक विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा सात विकेट गुमाएर २३४ रन बनाएको थियो । पिएनजीका लागि कप्तान असद भालाले ९२ बलमा ६५ रन बनाउनुभयो । भालाले ६ चौका र एक छक्का प्रहार गर्नुभयो । नर्मन भानुवाले अविजित ४९ रन बनाउँदा चाल्र्स अमिनीले ४४ बलमा २२ रन बनाउनुभयो । किप्लिन डोरिगाले ६० बलमा २४ रन बनाउनुभयो ।

युएईका लागि हर्जत बिलालले चार तथा जावर फरिद र रोहन मुस्तफाले समान एक-एक विकेट लिनुभयो । जितसँगै युएईले ३५ खेलमा १५ मा जित १७ मा हार बेहोरेको छ । युएई ३३ अंक जोडेर अंक तालिकाको छैटौँ स्थानमा रहेको छ ।

पिएनजीले ३६ खेलमा पाँचमा जित र ३० मा हार बेहोरेको छ । पिएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?