खाना बनाउने ग्यासको बढ्दो प्रयोग र प्रभाव

Read Time = 15 mins

✍️ सञ्जय साह ‘मित्र’

अहिले बजारबाट विस्थापित भइसकेको भए पनि गाउँघरको भान्सामा इन्धनको रूपमा सुकेका झारपात, काठ तथा गुइँठा अझै प्रयोग भइरहेको छ । वनजंगल छेउछाउका अधिकांश बासिन्दा जंगलकै काठ दाउरामाथि निर्भर छन् । अझै पनि वन क्षेत्रबाट काँचो र सुकेको दाउरा ढुवानी भइरहेकै छ । वनस्पति र पशुमा आधारित दाउराको उपयोग गाउँमा निकै हुन्छ । नेपाल गाउँ नै गाउँले भरिएको देश हो । पशुपालकहरूले गोबर ग्यासप्रति खासै रुचि देखाएको पाइएको छैन । कतिपय परिवारको भान्सामा दाउरासँगै एलपी ग्यास भनिने कुकिङ ग्यासको प्रयोग भइरहेको छ ।

गाउँमा पनि शिक्षित परिवारमा अब विस्तारै दाउराको प्रयोग कम हुँदै गइरहेको छ र कुकिङ ग्यासको प्रयोग बढिरहेको छ । मासिक रूपमा निश्चित रकम आउने परिवारमा दाउराको ठाउँमा ग्यास सिलिण्डरको प्रयोग बढेको हो । यसैगरी गाउँमै भए पनि कामकाजी महिलाले भान्सामा ग्यास सिलिण्डर र चुहृलोको प्रयोग गर्न थालेका छन् तर बजारोन्मुख गाउँ र बजार अर्थात् शहरतिर अब विद्युतीय चुहृलो इन्डक्सनको उपयोग बढिरहेको छ । यसरी नेपाली भान्सामा अहिले तीन किसिमका इन्धनको प्रयोग भइरहेको देखिएको छ ।

वनस्पति र पशुमा आधारित दाउरा त स्वास्थ्य र पर्यावरण दुवै दृष्टिकोणले हानिकारक रहेको सबैले बुझेका छन् तर ग्रामीण विपन्नलाई भने कुकिङ ग्यास किन्ने आधार नभएका कारण कतिपय पालिका वा निकायले एकपटक निःशुल्क उपलब्ध गराएको ग्यास सिलण्डर र चुहृलो बेकार भइसकेका छन् । निःशुल्क प्राप्त कुकिङ ग्याससहितको सेट कतिपय परिवारले छोरीलाई दहेज पठाइसकेका छन् । आयस्रोतको अभावमा हानिकारक भए पनि र समय धेरै खर्च हुने भए पनि विपन्न समुदायले दाउरा नै उपयोग गरिरहेको छ । पहिले दाउरालाई विस्थापित गर्ने अभियान सञ्चालन हुँदा दाउराका बेफाइदाबारे निकै प्रचार गरिएका थिए ।

कुकिङ ग्यासबाट स्वास्थ्यलाई असर पार्ने विषयमा पचास वर्ष पहिलेदेखि नै बहस हुँदै आएको छ । त्यत्तिबेला बेलायत र स्कटल्याण्डका शोधकर्ताहरूले पाँच हजारभन्दा बढी बालबालिकाका आमाबुबाको सर्भे गरेका थिए । यसबाट निष्कर्ष निकालिएको थियो कि कुकिङ ग्यास र अस्थमाका लक्षणहरूबीच सिधा सम्बन्ध छ ।

अहिले गाउँका सक्षम र काँठ तथा शहरको भान्सामा अत्यधिक प्रयोग भइरहेको कुकिङ ग्यासका पनि अनेक हानी छन् भन्नेबारे नेपाली समाज खासै सचेत रहेको पाइएको छैन । कुकिङ ग्यासमा भइसकेको लगानी तथा प्रयोगमा भइसकेको अभ्यस्तताका कारणले कतिपय यसको हानि बारे कुरा गर्न वा सुन्न पनि चाहँदैनन् तर विश्वका शिक्षित र विकसित मुलुकहरूमा यसबारे चर्चा हुन थालेको छ । गत ९ जनवरीका दिन अमेरिकी कन्जुमर प्रोटेक्ट सेफ्टी कमिसनका कमिश्नर रिचर्ड टुम्काले ट्वीट गर्दै लेखेका छन्–ग्यास स्टोभले खतरनाक स्तरसम्म विषालु केमिकल उत्सर्जन गर्छ । बन्द हुँदा पनि यसबाट कम उत्सर्जन भइरहन्छ । हाम्रो एजेन्सीले यसलाई नियमन गर्न सबै उपायमाथि विचार गर्नेछ ।

अमेरिकाको करिब ३५ प्रतिशत घरमा ग्यास स्टोभको प्रयोग हुन्छ । सन् २०२२ मा इन्टरनेसनल इन्भाइरोन्मेन्टल रिसर्च एण्ड पब्लिक हेल्थ म्याग्जिनमा प्रकाशित अध्ययन अनुसार अमेरिकाका बालबालिकाको अस्थमाको १२ प्रतिशत समस्याको सम्बन्ध ग्यास स्टोभको प्रयोगसित सम्बन्धित हुन सक्छ । अध्ययनका सहलेखक तथा स्वयंसेवी स्वच्छ ऊर्जा ग्रुप आरएमआईका म्यानेजर ब्रेड सिल्स भन्छन्-बालबालिका तथा अस्थमाबाट पीडित मानिसलाई अत्यधिक प्रभावित हुने खतरा रहन्छ । म्यानेजर ब्रेड सिल्सको भनाइको तात्पर्य कुकिङ ग्यासबाट बालबालिका र अन्य पनि अत्यधिक प्रभावित हुने खतरा विद्यमान छ । अक्टुबरमा इन्भाइरोन्मेन्टल साइन्स टेक्नोलोजी जर्नलमा प्रकाशित स्टडीमा ग्यास स्टोभ प्रयोग नगर्दा पनि ग्यास स्टोभले अलिकति मिथेन र बेन्जिनको उत्सर्जन गर्दछ भनिएको छ ।

कुकिङ ग्यासबाट स्वास्थ्यलाई असर पार्ने विषयमा पचास वर्ष पहिलेदेखि नै बहस हुँदै आएको छ । त्यत्तिबेला बेलायत र स्कटल्याण्डका शोधकर्ताहरूले पाँच हजारभन्दा बढी बालबालिकाका आमाबुबाको सर्भे गरेका थिए । जसबाट यो निष्कर्ष निकालिएको थियो कि कुकिङ ग्यास र अस्थमाका लक्षणबीच सिधा सम्बन्ध छ तर केही नयाँ अध्ययनहरूले झन् चिन्ता उत्पन्न गरेका छन् । शोधकर्ताले पाएका छन् कि ग्यास स्टोभले नाइट्रोजन डाई अक्साइड र पिएम २.५ नाम अन्य सूक्ष्म कणहरूको उत्सर्जन गर्दछ । यिनीहरूले फोक्सोलाई हानि गर्दछन् । यसको सम्बन्ध बालबालिकाको अस्थमासित रहेको छ ।

नेपाली उपभोक्ताले किनिरहेको ग्यास सिलिन्डरको वर्तमान प्रचलित मूल्यमा करिब एक तिहाइ अनुदान सरकारले दिएको छ । नेपाली भान्सामा सजिलै निर्बाध उपयोग भइरहेको ग्यास चुहृलोले केही मात्रामा निरन्तर उत्सर्जन अर्थात् चुहावट गरिरहेको हुन्छ भन्नेतिर कसैको ध्यान नै गएको हुँदैन । कहिलेकाहीँ कुनै कुनै परिवारले ग्यास चुहृलो बनाउनेसित गुनासो गरेको भने सुनिन्छ तर यो भइरहने किसिमको समस्या हो भन्ने कुरो धेरैलाई थाहा नै छैन । अमेरिकी नेसनल अस्थमा काउन्सिलको सुझाव छ कि भान्सा घरको झ्याल कुकिङका समयमा र त्यसपछि पनि खुला राखिनुपर्छ । तर यसबाट पनि स्वास्थ्य माथिको खतरा पूरै खतम हुने चाहिँ होइन । नेपालमा पनि विगतमा ग्यास सिलिण्डरमा खाना पकाउँदाको समय वा अघिपछि भएका ठूल्ठूला घटनाहरूले नेपालीलाई चिन्तित बनाउने गरेको छ ।

अमेरिकामा ग्यास स्टोभको ठाउँमा इलेक्ट्रिक स्टोभलाई प्रोत्साहन दिन थालिएको छ । अमेरिकाको बोष्टन युनिभर्सिटीमा पर्यावरण स्वास्थ्य विभागका प्रमुख जोनाथ लेवीको भनाइ छ-इलेक्ट्रिक इन्डक्सन चुहृलो किन्दा कैयौं फाइदा छन्, यो पर्यावरणको लागि महत्वपूर्ण हुनेछ । खाना पनि छिटो पाक्छ । अमेरिकामा कुकिङ ग्यासको चुहृलोबाट उत्सर्जन हुने ग्यासहरू स्वास्थ्यका लागि हानिकारक रहेको विषयमा भइरहेको बहसले ग्यास स्टोभमाथि प्रतिबन्ध लगाउन सकिने आशंका पनि एकथरिले गरेका छन् तर यो तत्काल सम्भव देखिँदैन । यद्यपि सचेत नागरिकहरूले विस्तारै ग्यास स्टोभको विकल्प इलेक्ट्रिक इन्क्सन स्टोभलाई लिन थालेका छन् ।

अमेरिकाको पिटर्स वर्गमा रहेको किचन कन्सल्टिङ कम्पनी, डाइनिङ सोलुसन्सका फाउण्डर तथा सेफ क्रिस गलार्जाको दाबी छ–इन्डक्सन कुकिङको प्रयोगले कर्मचारीको मानसिक स्वास्थ्यमा सुधार भएको छ किनकिकिचनतातो रहँदैन । जसरी अमेरिकीहरू स्वास्थ्य, पर्यावरण तथाअन्य सानातिना जस्ता लाग्ने विषयप्रति गम्भीर रहन्छन्, सूक्ष्म तरिकाले विश्लेषण गर्दछन्, अध्ययन र अनुसन्धान गर्दछन् त्यसरी हामी भने अभ्यस्त छैनौं । स्वास्थ्य, सुविधा र बचतबारे उति सचेत नरहेको अधिकांश नेपालीहरूको भान्साघरको व्यवस्थापन पनि त्यत्ति व्यवस्थित छैन । अहिले पनि सहरमा यस्ता लाखौं परिवार र विद्यार्थी छन् जो एउटै कोठामा खाना पकाउने र सुत्ने बस्ने गर्दछन् ।

इन्डक्सनको प्रयोगले नेपाली भान्सालाई आत्मनिर्भर बनाउने कदममा निश्चित र सकारात्मक योगदान पुग्ने देखिन्छ । यसले नेपाललाई पनि आत्मनिर्भरताको पथमा एक पाइलो नजिक पुर्‍याउँछ । ग्यासको आयातमा दिइएको अनुदान कम हुँदा राज्यले रकमको उपयोग अन्य क्षेत्रमा गर्न पाउँछ ।

निकै साँघुरो ठाउँमा कोच्चिएर जस्तो दुई वा दुईभन्दा बढी मानिसको बसाइको बाध्यतात्मक अवस्था देख्न सकिन्छ । यस्ता लाखौं परिवारमा कुकिङ ग्यासको प्रयोग हुन्छ जसले स्वास्थ्यमा हानि गरिरहेको बारे जानकार छैनन् । कतिपयलाई जानकारी त छ तर विकल्प छैन । नेपाल विद्युतप्राधिकरणले केही समयदेखि विद्युतको उपयोग बढाउन सुझाव दिइरहेको छ । वर्षाको समयमा त नेपालमा विद्युत् खेर गएको पनि भनिएको थियो । अहिले विद्युत्को आयात भारतबाट भइरहँदा पनि प्राधिकरणले विद्युतीय सवारीसाधन प्रयोगका लागि सुझाव दिइरहेको छ ।

विद्युत प्राधिकरणको लाभ-हानि उसैलाई थाहा छ तर भान्साघरको स्वास्थ्यको दृष्टिकोणले वनस्पति तथा पशुजन्य दाउरा र कुकिङ ग्यासभन्दा इलेक्ट्रिक इन्डक्सन निकै स्वस्थकर छ । आर्थिक दृष्टिकोणले पनि दाउरा र ग्यासभन्दा इन्डक्सन सस्तो छ । प्रतिसिलिण्डर नेपाल सरकारले वर्तमान मूल्यमा करिब एक तिहाइ अनुदान दिइरहँदा जति मूल्य पर्छ, त्यहीँ मूल्यमा यदि इन्डक्सनको प्रयोग गर्ने हो भने कम्तीमा एक तिहाइ अवधि बढी खाना पाक्छ । यसको अर्थ भान्सामा प्रयोग गर्दा इन्डक्सनले ग्यासको भन्दा करिब एक तिहाइ आर्थिक बचत गर्ने रहेछ । इन्डक्सनको प्रयोगले एकातिर नेपाल सरकारलाई फाइदा र अर्कोतिर सम्बन्धित उपभोक्तालाई स्वास्थ्य र अर्थ गरी दोहोरो फाइदा हुने देखिन्छ ।

इन्डक्सनको प्रयोगले नेपाली भान्सालाई आत्मनिर्भर बनाउने कदममा निश्चित र सकारात्मक योगदान पुग्ने देखिन्छ । यसले नेपाललाई पनि आत्मनिर्भरताको पथमा एक पाइलो नजिक पुर्‍याउँछ । ग्यासको आयातमा दिइएको अनुदान कम हुँदा राज्यले रकमको उपयोग अन्य क्षेत्रमा गर्न पाउँछ । नेपालको अधिकांश घरमा विद्युत् पुगिसकेको छ । अहिले जति घरम कुकिङ ग्यासको पहुँच हुन सकेको छैन, यसभन्दा कैयौँ गुणा बढी घरमा विद्युत्को पहुँच पुगेको छ । दाउरा र गुइँठा बालिने भान्साघरमा पनि एउटा विद्युत् चिमले उज्यालो दिइरहेको हुन्छ । कतिपय संस्था र पालिकाले निःशुल्क वितरण गरेर कुकिङ ग्यासको पहुँचमा केही वृद्धि अवश्य भएको छ तर कुकिङ ग्यासभन्दा इन्डक्सन विस्तारको अपार सम्भावना छ ।

विश्वबजारमा इन्धनको मूल्यमा भइरहेको निरन्तर वृद्धि र नेपाली रुपैयाँको अवमूल्यनले देशको अन्तर्राष्ट्रिय व्यापार सन्तुलनमा इलेक्ट्रिक इन्डक्सनको भान्सामा पहुँच अनिवार्य भइसकेको छ । साथमा विद्युत्को भरपर्दो सेवा पनि आवश्यक छ । छिनछिनमा लाइन गइरहने समस्याले मुख्य गरी कामकाजी महिला इन्डक्सन चुहृलोप्रति विश्वस्त हुन सकेका छैनन् । महिला स्वास्थ्य र समयको दृष्टिकोणले वरदान साबित हुने विद्युतीय चुहृलोको सहज प्रयोग हुने वातावरण निर्माणमा मुख्यगरी शिक्षित समुदायले ठूलो भूमिका निर्वाह गर्न सक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?