साल्ट ट्रेडिङको ६१ औँ वार्षिकोत्सव

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बुधबार ६१औँ वार्षिकोत्सव मनाएको छ । जनतालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको कम्पनीले जनतालाई सुपथ र सहज रूपमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउने कार्यलाई निरन्तरता दिँदै सेवा विस्तार गर्दै जाने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताउनुभयो ।

कम्पनीले कृषि क्षेत्रको विकासमा समेत योगदान पुर्‍याउने उद्देश्यले अनुदानित मलको कारोबारमा मात्रै सीमित नभई गैरअनुदानित मल पनि आयात गरी बिक्रीवितरण गर्दै आएको उहाँको भनाइ थियो । उपभोक्तालाई गुणस्तरीय तेल उपलब्ध गराउन कम्पनीले हेटौंडाको नेपाल वनस्पति घ्यु उद्योगबाट तोरीको तेल उत्पादन सुरु गरेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साल्ट ट्रेडिङले उपभोग्य वस्तुमात्रै नभएर कृषि क्षेत्रमा पनि काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कम्पनीले नुनलगायत दैनिक अत्यावश्यक उपभोग्य वस्तु सुपथ मूल्यमा सर्वसाधारणमा सहज रूपमा उपलब्ध गराउँदै कृत्रिम मूल्यवृद्धि नियन्त्रणमा सकारात्मक भूमिका खेल्दै आएको उहाँले बताउनुभयो । सो अवसरमा कम्पनीले कर्मचारीलाई पुरस्कार र कर्मचारीका उत्कृष्ट छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।

नेपालमा सहज र सुपथ मूल्यमा खाद्य तथा दैनिक उपभोग्य वस्तु बिक्री गरेर मुलुकको आपूर्ति प्रणालीमा उल्लेख्य भूमिका खेल्दै आएको कम्पनीले नाकाबन्दी र कोरोना महामारीमा समेत आपूर्ति शृंखला प्रभावित हुन दिएन । निजी क्षेत्रका कतिपय व्यापारीले संकटमा ग्याँस, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा कालोबजारी, सिण्डिकेट र कार्टेलिङ गरे तर त्यस्तो अवस्थामा पनि सहज रूपमा ग्याँसलगायतका खाद्यान्न उपलब्ध गराउँदै साल्ट ट्रेडिङ कालोबजारी र सिण्डिकेटविरुद्ध झनै सशक्त रूपमा प्रस्तुत भयो ।

बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा कम्पनीले काठमाडौं उपत्यकामा बिक्री कक्ष र मोबाइल भ्यानमार्फत् खाद्य तथा उपभोग्य वस्तुको बिक्री गरेको थियो भने उपत्यकाबाहिरका शहरमा पनि कम्पनीले आवश्यक सेवा प्रदान गरेको थियो । पछिल्ला वर्ष नेपालले सामना गरेको विषम परिस्थितिमा समेत कर्पोरेसनले आपूर्ति व्यवस्था चुस्त राख्दै सहज रूपमा दैनिक आवश्यक सामग्री उपलब्ध गराएको विभागीय प्रबन्धक व्रजेशकुमार झा बताउनुहुन्छ ।

साल्ट ट्रेडिङले हाल नुन, चिनी, आँटा, मैदा, गेडागुडी, चामल, तेल, ग्याँसका साथै कागज, मल, गहुँको बिउलगायतको पनि कारोबार गर्दै आएको छ भने औद्योगिकीकरण, वित्तीय क्षेत्रमा लगानी विस्तार गरेको छ । पछिल्लो समय कम्पनीले कृषकलाई बिउ पनि उपलब्ध गराउँदै आएको छ । कम्पनीले हाल नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)ले सिफारिस गरेको गहुँको बिउ उपलब्ध गराउँदै आएको छ । झाका अनुसार कम्पनीले किसानले उत्पादन गरेको गहुँ खरिदको ग्यारेन्टी गर्दै बजार मूल्यभन्दा एक रुपैयाँ बढी दिएर किसानको खेतमै गएर खरिद गर्ने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?