नेपाली नृत्यको क्षेत्रमा सबैभन्दा धेरै रुचाइएको नाममध्ये एक हो जोगेन्द्र केसी । उहाँले यो क्षेत्रमा अभियानकै रूपमा आफूलाई स्थापित गर्नुभएको छ । थुप्रै विद्यालय, कलेज, विभिन्न प्रशिक्षण केन्द्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरममा नृत्य प्रशिक्षकका रूपमा काम गरिरहनुभएको छ उहाँले यतिबेला । केसीले साकेला, झिँझिँया, धिमे, कौडा, देउडा, गौरा, झर्रा, हुड्केली, कुमारी, मञ्जुश्री, लाखेजस्ता विभिन्न जाति र समुदायमा प्रचलित लोक तथा शास्त्रीय नृत्य बालबालिकादेखि लिएर प्रोफेसनल रूपमा सिक्न आउने नृत्यका पारखी विद्यार्थीहरू र नेपाली नृत्य सिक्न खोज्ने विदेशीहरूलाई समेत प्रशिक्षित गरिरहनुभएको छ । जसले गर्दा उहाँले नृत्यप्रतिको मोह पैदा गर्न महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ । केसी देशको संस्कृतिलाई नेपालमा मात्र नभएर विदेशसम्म चिनाउने अभियानमा जुटिरहनुभएको छ । त्यसका लागि उहाँ नेपाल लोक सांस्कृतिक प्रतिष्ठान, नेपाल फोक लोरिक फाउण्डेसन, एभरेस्ट नेपाल कल्चर ग्रुप, इन्टरनेसनल अर्गनाइजेसन अफ फोक आर्ट जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा आबद्ध हुनुहुन्छ । यिनै संस्थाका माध्यमबाट नेपाली कला र संस्कृतिलाई चिनाउने कार्यक्रम लिएर उहाँ जापान, दुवई, कतार, थाइल्याण्ड, भारत, टर्की, ग्रिस, जर्मन, फ्रान्स, पोल्याण्ड, बेल्जियम, स्पेन, स्विट्जरल्याण्डलगायत दुई दर्जनभन्दा बढी देशमा आफू र आफ्नो संस्थालाई सहभागी बनाएर नेपाल र नेपाली संस्कृतिलाई सांस्कृतिक दूतका रूपमा काम गरेर नेपालको झण्डा विश्वको सांस्कृतिक मेला महोत्सवहरूमा फहराउन सफल भइराख्नुभएको छ । यसरी कला संस्कृतिका माध्यमबाट नेपाललाई विदेशी भूमिसम्म चिनाउन भूमिका खेलेकै कारण उहाँ दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत तथा विभूषित हुनुहुन्छ । हाम्रो कला संस्कृतिलाई विद्यालय हुँदै विश्वविद्यालयसम्म अध्ययनको विषय बनाउनुपर्छ भन्नुहुने वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानी :-
अहिले के गर्दै हुनुहुन्छ ?
केही समयपछि हुन लागेको सांस्कृतिक कार्यक्रमको तयारीमा जुटिराखेकोे छु ।
यो क्षेत्रमा कसरी आइपुग्नुभयो ?
बाल्यकालदेखि नै नृत्यमा मेरो रुचि थियो । त्यसैअनुरूप विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा मेरो सहभागिता हुन्थ्यो । जिल्लास्तरीय नृत्य प्रतियोगितामा सहभागी भइराखिन्थ्यो । पछि उच्च शिक्षा पढ्न काठमाडौं आएपछि पढाइसँगै नृत्य सिक्न थालेँ । यसरी क्रमशः यो क्षेत्रतिर आइपुगेँ ।
तपाईंको बुझाइमा नृत्य के हो ?
शरीरका विभिन्न अंगप्रत्यंगहरूलाई हाउभाउ र चालद्वारा व्यक्त गरी देखाइने सुन्दर कलालाई नृत्य भनिन्छ ।
यो क्षेत्रमा लाग्न प्रेरित गर्ने कोही थिए ?
मेरो प्रतिभा देखेर यो क्षेत्रमा अगाडि बढ्न हौसला र प्रोत्साहन गर्ने अग्रज व्यक्तिहरू धेरै हुनुहुन्छ । मणि थापा, नारायण रायमाझी, कुलमान नेपाली, खिम पण्डित, यादव भण्डारी, टेकराज भारती, प्रेमदेव गिरी जसको सल्लाह, सुझावबाट म यो क्षेत्रमा छु ।
सुरुका दिनलाई कसरी सम्झनुहुन्छ ?
विगतका दिनहरूलाई सम्झँदा बाल्यकालको र सुरुका संघर्षका दिनहरूको याद आउँछ । त्यो बेला प्रायः सांस्कृतिक कार्यक्रम राती हुन्थ्यो । कार्यक्रमको नाम नाटक हुन्थ्यो । नाटकमा प्रहसन, गीत, नृत्य, हास्यव्यंग्य आदि हुन्थ्यो । म सबैजसो कार्यक्रममा भाग लिन्थेँ । अहिलेको जस्तो हल, साउण्ड सिस्टम, लाइट हुँदैनथ्यो । सबै लाइभ कार्यक्रम गरिन्थ्यो । प्रेटोमेक्स र लालटिन बालेर कार्यक्रम गरिन्थ्यो । करिब रातको १२-१ बजेसम्म कार्यक्रम हुन्थ्यो र नृत्य गर्दा वा गीत गाउँदा वाद्यवादन सबै सँगै बसेर लाइभ हुन्थ्यो । अहिलेको जस्तो क्यासेट वा डेग स्पिकर हुँदैनथ्यो । दर्शक दीर्घालाई मन पर्यो भने पुरस्कारस्वरूप नगद दिने चलन हुन्थ्यो । मलाई याद छ त्यतिबेला मैले पुरुस्कारस्वरूप दुई हजार ५५१ रुपैयाँ प्राप्त गरेको थिएँ । जुन त्यो बेलाको निकै ठूलो रकम हो । काठमाडौं आइसकेपछि नृत्य सिक्नलाई धेरै नै संघर्ष गरेँ । स्टेज शो गरेको, दिनरात नभनी लामो समयसम्म सुटिङ गरेको हिजो जस्तो लाग्छ ।
अहिले केन्द्रमा रहेको अधिकारलाई स्थानीयमा पुर्याए जस्तै हाम्रो कला संस्कृतिलाई पनि विद्यालयस्तर हुँदै विश्वविद्यालयसम्म अध्ययनको विषय बनाउनुपर्छ । हाम्रा हराएर जान लागेका वा लोप हुन लागेका कला संस्कृतिको लिपि र अध्ययनको विषय बनाएर संरक्षणका लागि सातवटै प्रदेशमा संगीत, नाट्य, नृत्य विभाग गठन गरी यसको कार्य गर्नुपर्दछ । यस्तै, सबै जाति, धर्म संस्कृति, परम्परालाई नारामा मात्र होइन कि व्यवहार मिलाएर ठूला-ठूला सांस्कृतिक महोत्सव गर्नुपर्छ । हामीकहाँ रहेको फरक-फरक धर्म संस्कृतिलाई हाम्रो सम्पत्ति हो भन्ने अनुभूति राज्यले गर्नुपर्छ ।
तपाईंले सफलता हासिल गरेको काममध्ये कुनै एकलाई सम्झनुपर्दा कुनलाई सम्झनुहुन्छ र किन ?
यस्ता सम्झनलायक धेरै छन् । तर, २०५३ सालमा साधना कला केन्द्रद्वारा आयोजना गरिएको राष्ट्रव्यापी लोकनृत्य प्रतियोगितालाई सम्झन्छु । किनकि त्यो निकै ठूलो प्रतियोगिता थियो । राजा वीरेन्द्रको शुभकामनासहित कार्यक्रम सफलताको सन्देश आउँथ्यो । देशभरिबाट उत्कृष्ट टिमहरू सहभागी हुन्थे । त्यो बेला मैले सिकाएको रोधीघरमा नाचिने नृत्यले सर्वोत्कृष्टसहित प्रथम भई ५० हजार रुपैयाँ जित्न सफल भएका थियौँ । यो मेरो पहिलो जित थियो । त्यसकारण त्यही प्रतियोगिताको नाम लिन्छु ।
लोप हुन लागेको नृत्यलाई विश्वमाझ चिनाउन तपाईंले खेलेको भूमिका केही छ कि ?
लोप हुन लागेका नृत्यहरू धेरै छन् । जस्तै, चाँचर, चण्डालिका, होरियाँ, खुकुरी नृत्य, ट्र्याम्कुली, सतार, झोडा, च्याबरुङ, रोधीघरमा नाचिने नृत्यलगायत अन्य । यी नृत्यहरूलाई हामीले प्राथमिकता दिएर नेपाल तथा विदेशमा प्रदर्शन गर्दै आइराखेका छौँ । जुन नृत्यले विश्वमाझ चर्चा र परिचर्चा हुुनुका साथै ध्यानाकर्षण हुने गर्दछ । यी नाचलाई विशेष प्राथमिकतामा राखेर काम गरिराखेको छु ।
तपाईंले यस क्षेत्रलाई समृद्ध तुल्याउन के-कस्तो योगदान पुर्याए जस्तो लाग्छ ?
म यो क्षेत्रमा क्रियाशील भएको तीन दशकभन्दा बढी हुन लाग्यो । कुनै एक जातिले नाच्ने नृत्यमात्र होइन, नेपालमा गरिने हरेक जातजातिहरूको नाचलाई मैले र हाम्रो संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने सांस्कृतिक महोत्सव, मेलाहरू प्रदर्शन गर्ने, डकुमेन्ट्री बनाएर प्रमोसन गर्ने, बुकलेट बनाएर प्रचारप्रसार गर्ने, विभिन्न बैठक, सेमिनारमा नेपाली संस्कृतिको महत्वलाई बुझाउने, विदेशमा मात्र नभएर म र संलग्न संस्था, लोक सांस्कृतिक प्रतिष्ठान एभरेष्ट कल्चरल ग्रुप, इन्टरनेसनल फोक फेस्टिबलद्वारा सांस्कृतिक टोलीलाई नेपालमा बोलाएर अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव गर्ने लगायतका काम गरेका छौँ । ११औँ अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव गरिसक्यौँ । अब १२औँ अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव अर्को वर्ष गर्दछौँ । सरकारीस्तरमा नगरेको यो काम नेपालमा हामीले मात्र गरेका छौँ ।
यहाँ नेपाली कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागिरहनुभएको छ । नेपाली कल्चर नृत्य लिएर धेरै देशको भ्रमण गर्नुभयो, यसबारेमा तपाईंको अनुभव के-कस्तो रहृयो ?
हामी हाम्रो कला संस्कृति झल्काउने विभिन्न नेपाली लोकनृत्य लिएर विश्वको सांस्कृतिक बजारमा पुग्छौँ । यसले अन्तर्राष्ट्रियस्तरमा हुने कार्यक्रमको अवलोकन, स्तरोन्नति, कल्चरल एक्सचेन्ज, एकअर्काको अनुभव साटासाट हुन्छ भने विश्वमै लोप हुन लागेको संस्कृतिलाई कसरी जोगाउने भन्नेमा हामी लोक संस्कृतिकर्मीहरूको ध्यानाकर्षण हुने गर्छ र अगाडि बढ्नलाई थप मद्दत पुर्याउँछ ।
नेपाली मौलिक कल्चर नृत्य र विभिन्न देशका कल्चर नृत्यलाई तुलना गर्दा आफूलाई कहाँ पाउनुहुन्छ ?
हाम्रो कल्चर र विदेशी कल्चरमा धेरै नै फरक छ । पहिलो कुरा भूगोल फरक छ, रहनसहन फरक छ, खानपिन फरक छ । त्यसकारण हाम्रो नेपाली कल्चर सानो देश भए पनि विश्वमै धनी छौँ । हाम्रा हरेक जातका फरक-फरक कल्चर छन् । हाम्रो भाषा फरक छ । हिमालदेखि पहाड र तराईसम्म फरक-फरक कल्चर नृत्यहरू छन् । पूर्वदेखि पश्चिमसम्मको फरक छ । नेपालमा यति धेरै छ कल्चरल जुन हामीले सिक्न खोज्यौँ भने सिक्न नसकिने छ । अन्य देशमा यति धेरै कल्चर छैन । तर, उनीहरूको प्रस्तुति, तयारी, कलेक्सन, खोज अनुसन्धान, लिपि, म्युजियममा अगाडि छन् । जुन हामीले उनीहरूसँग सिक्नुपर्ने कुराहरू छन् । मैले आफूलाई तुलना गर्दा पनि त्यही नै पाउँछु । जुन मैले सिक्न र काम गर्न अझै धेरै बाँकी छ ।
हामीकहाँ भएका नृत्यका बारेमा केही बताइदिनुहोस् न ?
नेपालमा धेरै प्रकारका नृत्यहरू छन् । एउटा त परापूर्वकालदेखि चल्दै आएका ऐतिहासिक पौराणिक शास्त्रीय नृत्यहरू छन् । अर्को विभिन्न जातजातिहरूले आफ्नो चाडपर्व र मेलाहरूमा देखाइने लोक संस्कृति झल्कने लोकनृत्यहरू । त्यसैगरी कथा गीत वा भावबाट सिर्जना भएका गीतमा नाचिने नृत्यहरू ।
यो क्षेत्रलाई अझ समृद्ध गर्न कस्तो सुझाव दिनुहुन्छ ?
पहिला त हामी व्यक्ति-व्यक्तिबाट नै आफू सुधार हुन आवश्यक छ । समयको महत्वलाई बुझ्नुपर्छ भने बाँकी जुन-जुन संघ, संस्था अथवा सरकारी निकायले पनि यो क्षेत्रलाई समयअनुसार परिवर्तन गरी हरेक क्षेत्रमा सुधार गरेर अघि बढ्न आवश्यक छ । त्यही पुरानो शैली, पुरानै विचारमा चलियो भने हामी पछि पर्छौं । संस्कृति, मौलिकपन, भेषभूषा पहिलेदेखि जे चलिआएको छ । त्यसरी नै विधि पुर्याएर चल्नुपर्छ । तर, काम गर्ने तरिकामा केही फरकपन र नयाँ हुनुपर्छ । जुन अहिलेको युवा पुस्ताले अँगाल्न सकोस् ।
यो क्षेत्रका कमी कमजोरी के-कस्ता रहेका छन् ?
अहिले पनि हामी समयअनुसार हिँड्न सकेका छैनौँ । दिएको समयभन्दा झण्डै एक-दुई घण्टा ढिलो चल्ने बानी छ । अर्को कार्यक्रमभन्दा आसन ग्रहणमै एक-दुई घण्टा बिताइदिन्छौँ । मन्तव्यलाई बढी महत्व दिन्छौँ । बाँकी भनेको त प्रोफेसनालिजमको महत्वको बुझाइमा कमी । कार्यक्रमको पूर्वतयारी नहुनु, आफ्नो पेशालाई व्यावसायिकरूपमा अगाडि बढाउन नसक्नु, साधना र निरन्तरता दिन नसक्नु र एकले अर्कोलाई सम्मानजनक व्यवहार गर्न नसक्नु कमजोरी जस्तो लाग्छ मलाई ।
राज्यले के गरोस् जस्तो लाग्छ यो क्षेत्रको अझ विस्तार र विकासका लागि ?
अहिले केन्द्रमा रहेको अधिकारलाई स्थानीयमा पुर्याए जस्तै हाम्रो कला संस्कृतिलाई पनि विद्यालयस्तर हुँदै विश्वविद्यालयसम्म अध्ययनको विषय बनाउनुपर्छ । हाम्रा हराएर जान लागेका वा लोप हुन लागेका कला संस्कृतिको लिपि र अध्ययनको विषय बनाएर संरक्षणका लागि सातवटै प्रदेशमा संगीत, नाट्य, नृत्य विभाग गठन गरी यसको कार्य गर्नुपर्दछ । यस्तै, सबै जाति, धर्म संस्कृति, परम्परालाई नारामा मात्र होइन कि व्यवहार मिलाएर ठूला-ठूला सांस्कृतिक महोत्सव गर्नुपर्छ । हामीकहाँ रहेको फरक-फरक धर्म, संस्कृतिलाई हाम्रो सम्पत्ति हो भन्ने अनुभूति राज्यले गर्नुपर्छ ।
यहाँले यो क्षेत्रमा बर्चस्व कायम गर्नुभएको छ भनिन्छ नि ?
यो त मैले कसरी भन्ने र बर्चस्व कायम गरेको छु भनेर । मैले समयलाई चिनेको छु, त्यसैअनुसार सुरुदेखि अहिलेसम्म विभिन्न संघ संस्था, विद्यालय, सांस्कृतिक कार्यक्रम, राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा हुने कार्यक्रममा अपडेट भएर काम गरिराखेको छु । मेरो लडाइँ भनेको म आफैंसँगै हो । हरेक पर्फमेन्सपछि फेरि कसरी अपडेट हुने भनेर म आफैंमा चुनौती देख्छु ।
यस क्षेत्रमा एकखालको चर्चा पाइरहँदा यहाँ अझै पनि विद्यालय, कलेजहरूमा नृत्य सिकाउने गर्नुहुन्छ, यहाँको विद्यालय कलेजप्रतिको मोह नघटेको हो ?
म नृत्य विभिन्न क्षेत्रमा सिकाउने गर्दछु । प्रशिक्षण केन्द्र, विद्यालय, कलेज, संघसंस्था, अनाथालय, स्टेज शो र मेला महोत्सवहरूमा । यी सबैलाई समय छुट्याएको छु र समय तालिका बनाएको छु । तीन दशक भयो काम गरेको । मेरो बुझाइ के छ भने जुन कला मसँग छ, त्यो कला नयाँ पुस्ताका विद्यार्थी भाइबहिनीहरूलाई दिन सकियो भने भोलि उनीहरू अध्ययनका सिलसिलामा बाहिर जाँदा त्यहाँ आफ्नो कलालाई देखाउन सक्छन् । नेपाललाई चिनाउन मद्दत गर्छन् । उनीहरू अनुशासित, लगनशील, समयमा पर्फेक्ट हुन्छन् र सिक्नलाई जिज्ञासु हुन्छन् । यसले मलाई पनि थप ऊर्जा प्रदान गर्दछ । त्यसकारण छोड्न नसकेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच