घोराही सिमेन्ट आइपिओ प्रकरण : ठूलो अनियमितता भएको दाबीसहित छानविन समिति गठन

नेपाली पुँजीबजारको विश्वसनीयतामा शंका

हिमालय टाइम्स
Read Time = 23 mins

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आइपिओमा ठूलो अनियमितता भएको आशंकामा हाल नेपाल धितोपत्र बोर्ड (सेवोन)ले कम्पनीको काम कारबाही रोक्का गरेको छ । तर, घोराही सिमेन्टको आइपिओ खारेज गरी उक्त प्रक्रियामा संलग्न सबैमाथि छानविन र कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ । बिक्री प्रक्रिया चलिरहेको आइपिओलाई बोर्डले रोकेपछि भित्रैभित्र ठूलो मिलेमतो भएको आशंका गरिएको छ । वोर्डले गल्ती ढाकछोप गर्दै सेयर निष्कासन प्रक्रिया अघि बढाएको भन्दै आइपिओ खारेज गर्नुपर्ने सेयर लगानीकर्ताले माग गरेका छन् । बोर्ड मात्र नभई उक्त प्रक्रियामा संलग्न अन्य कम्पनीहरूमाथिको समेत विश्वासनीयतामा प्रश्न उठ्न थालेको छ । कम्पनीको आइपिओ निष्कासन प्रक्रियासँग संलग्न रहेका अण्डरराइटर कम्पनी नागरिक लगानी कोष (सिआइटी) बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ, क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालप्रति पनि लगानीकर्ताले प्रश्न उठाएका छन् । बिक्री नभएको सेयर बिक्री प्रबन्धक र सेयर प्रत्याभूत गर्ने संस्थाले गर्नुपर्ने भएपछि उच्च मूल्यको सेयर किन्नबाट जोगिन कम्पनीको षड्यन्त्रमा परेको हुनसक्ने स्रोतको भनाइ छ । जसका कारण यो विवादमा हिमालयन क्यापिटलसहितका कम्पनीसमेत शंकाको घेरामा तानिएका छन् ।

स्रोतका अनुसार घोराही सिमेन्टमा जोखिम देख्दा पनि सिइआटीले अण्डरराइटिङ गरेको भेटिएको छ । घोराही सिमेन्टको प्रिमियम मूूल्यमा जारी गरिरहेको आइपीओमा जोखिम देखेर पनि बढी शुल्क लिएर अण्डरराइटिङ गरेको सिआइटी स्रोतको दाबी छ । बोर्डले प्रिमियम मूल्य घटाएर आइपिओ जारी गर्न दिनुपर्नेमा मूल्य नघटाई आइपिओ जारी गर्न दिएको स्रोतको भनाइ छ ।

कम्पनीको आइपिओमा फर्जी आवेदन दिएर सर्वसाधारण लगानीकर्तालाई आकर्षित गर्न खोजेको विवादबीच स्वार्थ बाझिने गरी कम्पनीको क्रेडिट रेटिङ गरेको भेटिएपछि बोर्ड पनि विवादमा परेको हो । कानुनी छिद्रहरू प्रयोग गरी संघई र अग्रवाल दुई परिवार मिलेर सर्वसाधारणबाट करिब दुई अर्ब ६५ करोड रुपैयाँ असुली गर्ने प्रयास विवादित बनेको देखिन्छ । घोराही सिमेन्ट उद्योगमा करिब तीन अर्ब १७ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेकोमा ७५ प्रतिशत सेयर स्वामित्व पुरुषोत्तमलाल संघई परिवारका सदस्यले लिएका छन् भने २१.३४ प्रतिशत सेयर स्वामित्व त्रिलोक चन्द्र अग्रवाल परिवारका सदस्यले लिएका छन् । कम्पनीले प्रकाशित गरेको विवरणअनुसार आधारभूत सेयरधनी १८ जना छन्, जहाँ संघई र अग्रवाल परिवारबाहेक अरूको सेयर छैन । संघई परिवारका ११ जना सदस्यको नाममा ७५ प्रतिशत सेयर रहेको छ ।

जसमा पुरुषोत्तमलाल संघई, सुभाषचन्द्र संघई, विनोदकुमार संघई, रामचन्द्र संघई, गोविन्दलाल संघई, शैलेश संघई, हर्षवर्धन संघई, आदित्य संघई, अदिती चोखानी, निलम संघई, अन्जु संघई सुरेका रहेका छन् । उनीहरू सबै पुरुषोत्तम लाल संघईका भाइ, छोरा, छोरी, बुहारी हुन् ।

त्रिलोक चन्द्र अग्रवाल र उहाँका परिवारका सात सदस्यको नाममा करिब २१.३४ प्रतिशत सेयर रहेको छ । उहाँको परिवार सदस्यमा तुलसीराम अग्रवाल, अशोककुमार अग्रवाल, अनुज अग्रवाल, जगदीशप्रसाद अग्रवाल, निकुञ्ज अग्रवाल र विशाल अग्रवालको नाममा घोराही सिमेन्टको सेयर रहेको छ । सञ्चालक समितिमा संघई समूहबाट चार र अग्रवाल समूहबाट एक जना प्रतिनिधि रहेका छन् । सञ्चालक समितिमा पुरुषोत्तमलाल संघई अध्यक्ष र गोविन्दलाल संघई, आदित्य संघई, हर्षवर्धन संघई र त्रिलोक चन्द्र अग्रवाल सदस्य सञ्चालक रहेका छन् ।

स्वतन्त्र पुँजीबजार सुधार संघले घोराही सिमेन्ट इन्डष्ट्रिको आईपीओ निष्कासन प्रक्रियाका वोर्ड अध्यक्ष रमेशकुमार हमालमाथि छानविन गर्न माग गरेको छ । संघले घोराही सिमेन्टको आइपिओ निष्काशन गर्दा सेबोन अध्यक्ष हमालले भ्रष्टाचार गरेको आरोप शंकाको घेरामा परेको भन्दै छानविनको माग गरेको हो । अध्यक्ष हमालमाथि लागेका आरोपको गहिरो छानबिन गरी भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्तिलाई उचित कारबाही गर्न संघले सम्बन्धित निकायसँग माग गरेको छ ।

सिमेन्टको प्रारम्भिक नियमित आइपिओ आवेदन प्रक्रिया पालना नगरी कुन आधारमा आइपिओ निष्कासनका लागि अध्यक्ष हमालले हस्ताक्षर गरेका हुन् ? त्यसको जवाफ संघले खोज्न आग्रह गरेको छ । घोराहीको आइपिओ स्वीकृति प्रक्रियामा भएको जालझेल, आइपिओको लागि आवेदन पेस गरेको मितिदेखि न बोर्ड अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका हमालविरुद्ध आरोप लाग्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

संघका अध्यक्ष सुशीलकुमार लुनीयाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘धितोपत्र बोर्डका अध्यक्ष हमालविरुद्ध लगाइएको भ्रष्टाचारको हालको आरोपले सेबोनको निष्ठा र समग्र नेपाली पुँजीबजारको विश्वसनीयतामा शंका उत्पन्न गरेको छ र यसले पुँजीबजारको विकास र विस्तारमा धेरै पछाडि धकेल्नेछ ।’

नेपालको धितोपत्र बजारको नियामक निकायको रूपमा रहेको सेबोन लगानीकर्ताको विश्वास स्थापित गर्न र आइपिओ स्वीकृति प्रक्रियाले पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न स्थापना गरिएको स्मरण गराउँदै तत्काल छानविनको तत्काल कदम चाल्न पनि संघले आग्रह गरेको छ ।

यसअघि सर्वाेत्तम सिमेन्टको आइपिओ प्रकरणमा पनि बोर्डका तत्कालीन अध्यक्ष भीष्म ढुंगानाले पद छोड्नुपरेको उदाहरण प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय पुँजी बजार विज्ञ मुक्ति अर्याल घोराही सिमेन्टको आइपिओ विवादमा आउँदा बोर्ड अध्यक्ष हमालले पनि राजीनामा दिनुपर्ने बताउनुहुन्छ ।

सेयर बजार विश्लेषक दिनेश आचार्य पनि कम्पनीको आइपिओमा फर्जी आवेदन गराएर सर्वसाधारणलाई गलत सूचना दिँदा वित्तीय अपराध भएको भन्दै फर्जी आवेदन दिएको प्रमाणित भए कम्पनी सञ्चालक, व्यवस्थापक र आवेदन दिने व्यक्तिमाथि कारबाही हुनुपर्ने बताउनुभएको छ । आचार्यका अनुसार विदेशमा फर्जी आवेदन दिएको हो भने ब्लण्डर अपराध मानिन्छ, यस्तो अवस्थामा सञ्चालक, आवेदन दिएका व्यक्ति, कम्पनीको व्यवस्थापकलाई ठूलो कारबाही हुनुपर्ने हो ।

अण्डरराइटर नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत रमण नेपालले बोर्डले आफूहरूलाई झुक्याएको बताउनुभएको छ । एक महिनामा अनुमति दिन सकिने कामलाई वर्ष दिनसम्म झुलाएको भनाइ छ । अण्डरराइट गर्दाको तथ्यांक र प्रोजेक्सन तथा एक वर्षपछिको स्थिति नहुने भएकाले अहिले समस्या आएको भन्दै बदमासीको सबै जिम्मा बोर्डले लिनुपर्ने बताउनुभएको छ ।

तर, आफूमाथिका आरोप र आशंका निवारणका लागि बोर्ड अध्यक्ष हमालले हालसम्म स्पष्ट जवाफ दिइसक्नु भएको छैन । जसबाट घोराही सिमेन्टको आइपिओ प्रकरणमा बोर्डका अध्यक्ष हमालको पनि मिलोमतो आशंका र आरोपमा थप बल पुगेको लगानीकर्ताहरू बताउँछन् ।

यसैबीच, घोराही सिमेन्टको विवाद बढ्दै जाँदा आफूलाई पानीमाथिको ओभानो बनाउने प्रयास कम्पनीले गरेको छ । कम्पनीले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै आफ्नो कम्पनीबाट भए गरेका कामकार्बाही नियम संगत भएको भन्दै आफूलाई चोख्याउन खोजेको हो । कम्पनीले सेयरको सार्वजनिक निष्काशन हुनु भन्दा पहिले कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डलगायत बिभिन्न नियामक निकायहरूको पूर्ण सहभागितामा गरिने हुँदा यसमा आफ्नो भन्दा पनि ति निकायहरू जिम्मेवार रहेको जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्ति हेर्दा यसभित्र झन् शंका उत्पन्न गर्ने ठाउँ बनेको छ । तर, यो विज्ञप्ति आधिकारीक हो वा होइन पुष्टि गर्ने आधर छैन । कम्पनीको नामबाट विज्ञप्ति जारी गरिएपनि त्यहाँ आधिकारीक व्यक्ति, हस्ताक्षर र छाप कुनैपनि प्रयोग भएको छैन ।

बोर्ड अध्यक्ष हमालको विवादित छवि
अध्यक्ष रमेशकुमार हमालका अहिले मात्रै होइन सुरुदेखि नै विवादमा तानिनुभएको होे । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त हमालको गतिविधि शंकास्पद रहेको भन्दै कारबाहीको तयारी गर्नुभएको थियो । सोही क्रममा अर्थ मन्त्रालयले हमाललाई स्पष्टीकरणसमेत सोधेको थियो ।

त्यतिबेलै प्राथमिक सेयर (आइपिओ), ऋणपत्र, बुक बिल्डिङ लगायतका लागि स्वीकृति माग्न गएका कम्पनीहरूसँग आर्थिक लाभ लिन खोजेको आरोपपछि उहाँ विवादमा तानिनुभएको हो । हमाललाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणा र अर्थमन्त्री जनार्दन शर्माको जोडबलमा बोर्डमा ल्याइएको थियो । सुरुमा पुँजीबजारमा सुधार गर्ने कोसिस गरे पनि पछिल्लो समय निजी फाइदाका काममा मात्र केन्द्रित रहेको हमालमाथि आरोप लाग्दै आएको थियो । हमालमाथि बिमा कम्पनी, सिमेन्ट र होटलहरूसँग तत्कालीन अर्थमन्त्री पौडेलको नाम लिएर रकमको ‘बार्गेनिङ’ गर्ने गरेको आरोप थियो । तर, हमालले आरोपको खण्डन गर्दै आउनुभएको थियो । आधारहीन आरोप भने पनि हमालविरुद्ध दर्जनौँ उजुरी अर्थ मन्त्रालयमा परेका थिए । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर खरिद-बिक्री प्रकरणमा विवादमा आएपछि ढुंगानालाई बर्खास्त गरी हमाललाई नियुक्त गरिएको थियो ।

छानविन सुरु गरेका छौँ : धितोपत्र बोर्ड
धितोपत्र बोर्डले घोराही प्रकरणमा छानविन सुरु गरेको जनाएको छ । चौतर्फी दबाबपछि आइपिओ निष्कासन प्रक्रियामाथि छानविन गर्न बोर्डले समिति गठन गरेको हो । नेपाल धितोपत्र बोर्डका सुपरभिजन प्रमुख दिनेश ताम्राकारको संयोजकत्वमा बुधबार समिति गठन भएको हो । समितिले आइपिओ बिक्री प्रक्रियामा संलग्न रहेका अण्डरराइटिङ कम्पनी, बिक्री प्रबन्धक र धितोपत्र बोर्डमाथि पनि छानविन गर्ने बताइएको छ । तथापि, समितिले कस्तो छानविन गर्छ, त्यो भने हेर्न बाँकी नै छ ।

यस्तै, बोर्डकी सहायक निर्देशक सरिता महर्जनले बोर्डले आन्तरिक रूपमा समिति बनाएर छानविन सुरु गरेको जानकारी दिनुभयो । हिमालय टाइम्ससँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘हामीले आन्तरिक रूपमा समिति नै गठन गरेर छानविनको प्रकृया अगाडि बढाइसकेका छौँ, यदि कम्पनीले गलत गरेको भेटिए कानुनअनुसार कारबाही हुन्छ ।’ यस्तै, उहाँले कम्पनीसँग पछिल्लो दुई हप्ताको आवेदनकर्ताको तथ्यांक र आवश्यक कागजपत्र पनि मगाएको जानकारी दिनुभयो । तर, कम्पनीले हालसम्म फाइल भने धितोपत्र बोर्डमा बुझाएको छैन ।

घोराही सिमेन्ट कम्पनीमा अधिकतम सेयर लगानी त्रिवेणी ग्रुप र विशाल ग्रुपको रहेको छ । अहिले विभिन्न बैंक तथा वित्तीय संस्थामा कम्पनीका नाममा ऋण छ । कम्पनीले आइपिओमार्फत सर्वसाधारणबाट संकलन गरेको रकम बैंकको ऋण तिर्न प्रयोग गर्ने मनसाय बनाएको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले एक अर्ब ८३ करोड २० लाख रुपैयाँको कारोबार भएको देखाएको छ । तर, कम्पनीले चालु आर्थिक वर्षमा नौ अर्ब ८९ करोड २० लाख रुपैयाँको कारोबार गर्ने प्रक्षेपण गरेको छ । कारोबारको स्थिति र लक्ष्य भेट्टाउन कम्पनीले सयौँ गुणा बढी व्यापार गर्नुपर्ने देखिन्छ, जुन हालको अवस्थामा सम्भव छैन । साथै उद्योगको ह्रासकट्टी खर्चको लेखांकनसमेत शंकास्पद देखिएको छ । यस उद्योगको ह्रासकट्टी र पिपिई अनुपात चार प्रतिशत मात्रै देखाइएको छ । कम्पनीले नाफा धेरै देखाउन र लगानीकर्तालाई झुक्याउन ह्रासकट्टी खर्चको लेखांकनमा छेड्खानी गरिएको आशंका छ । साधारण लगानी फिर्ता हुने अवधि चार वर्ष आठ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि आठ वर्ष पाँच महिना रहेको छ ।

यस्तो छ- धितोपत्र कारोबारसम्बन्धी कसुर तथा दण्ड सजाय
९६. धितोपत्र बजारलाई प्रभावित पारेमा : कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैँले वा अरूसँग मिली देहायका कुनै काम गरेमा धितोपत्र बजारलाई प्रभावित गरेको मानिनेछः-

(क) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने ।

(ख) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य घटाउने ।

(ग) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्यलाई स्थिर बनाउने ।

९७. झुक्याउने विवरणहरू दिने : कसैले कसैलाई धितोपत्र खरिद बिक्री गर्न उक्साउने उद्देश्यले देहायका काम गरेमा झुक्याउने काम गरेको मानिनेछः-

(क) झुट्टो, भ्रामक वा गलत हो भनी जानीजानी कुनै विवरण वा पूर्व-अनुमानसम्बन्धी विवरण बनाउने वा प्रकाशित गर्ने,
(ख) बदनीयत साथ कुनै तथ्य वा जानकारी लुकाउने,
(ग) बदनीयत साथ झुट्टा वा भ्रामक विवरण, प्रतिज्ञा वा पूर्व अनुमान बनाउने वा प्रकाशित गर्ने ।

९८. जालसाजीयुक्त कारोबार : कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्य लिई देहायका कारोबार गरेमा जालसाजी गरेको मानिनेछः-
(क) कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा ।
(ख) कसैलाई झुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा ।

९९. जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने : कुनै विवरण झुट्टो वा भ्रामक हो भन्ने थाहा हुँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरिद वा बिक्री गर्न उत्साहित गरेमा वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा त्यस्तो काम कारबाही गर्ने गराउनेले जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेको मानिनेछ ।

१०१. दण्ड सजाय : (१) दफा ९१ बमोजिम भित्री कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा बिगो बमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
(२) दफा ९४, ९५ र ९६ बमोजिमको कुनै काम गर्नेलाई पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो काम कारबाहीबाट कसैलाई हानि नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानि नोक्सानीसमेत भराई दिनु पर्नेछ ।
(३) दफा ९७, ९८, ९९ र १०० बमोजिमको कुनै काम गर्नेलाई एक लाख रुपैयाँदेखि तीनलाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनु पर्नेछ ।
(४) कसैले जानीजानी वा बदनीयत साथ यो ऐन वा यस ऐनअन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेस गर्नुपर्ने हिसाब किताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेस गर्नुपर्ने समयमा पेस नगरेमा, नराखेमा वा नबनाएमा वा तयार नगरेमा वा झुट्टा विवरण वा कागजात बनाएमा वा राखेमा, तयार गरेमा त्यस्तो गर्नेलाइ बोर्डले पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?