सरकारी सेवाको अनुगमन गर्ने इलाका प्रशासन आफैं बिरामी

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । सरकारी सेवा जनताले सहजरूपमा पाएको/नपाएको अनुगमन गर्ने भोजपुरको उत्तरी दिङ्ला बजारमा रहेको इलाका प्रशासन कार्यालय आफैं बिरामी परेको छ । जनतालाई सेवा दिने प्रमुख नै नभएपछि इलाका प्रशासन आफैं बिरामी बनेको हो । इलाका प्रशासन कार्यालय विगत तीन महिनादेखि अधिकृतविहीन अवस्थामा छ । जसका कारण नागरिकता बनाउन र राहदानी सिफारिसका लागि उत्तरी क्षेत्रका नागरिकले सास्ती पाउँदै आएका छन् । इलाका प्रशासन कार्यालयले षडानन्द नगरपालिका र साल्पासिलिछो दुई पालिकाका नागरिकहरूलाई प्रत्यक्ष सेवा दिँदै आइरहेको छ ।

गृह मन्त्रालयबाट समयमा नै कर्मचारीको व्यवस्थापन हुन नसक्दा ग्रामीण क्षेत्रका नागरिक सहज सेवा पाउनबाट वञ्चित हुने अवस्थामा पुगेका छन् । इलाका प्रशासनबाट काम हुन नसक्दा उत्तरी क्षेत्रका नागरिक सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनुपर्ने अवस्थामा पुगेका हुन् ।

गत माघ पहिलो सातातिर इलाका प्रशासन कार्यालय दिङ्लामा कार्यरत शाखा अधिकृत विकेन पौडेल सरुवा भएर अन्यत्र गएसँगै कार्यालयको कामकाज ठप्प बनेको हो । इलाका प्रशासनको काम ठप्प बनेपछि सो कार्यालयबाट सेवा लिने सेवाग्राही भोजपुर पुगेर सेवा लिन बाध्य बन्नुपरेको छ ।

इलाका प्रशासनको सेवा सुचारु हुने व्यवस्थाको माग उठे पनि कतैबाट समाधान हुन सकेको छैन । तीन महिनादेखि अधिकृत नहुँदा सर्वसाधारणले दुःख पाएको भन्दै नेकपा एमाले निकटको राष्ट्रिय युवा संघ षडानन्द नगर कमिटी भोजपुरले ज्ञापन पत्रसमेत बुझाइसकेको छ । संघले समस्या समाधान गरी इलाका प्रशासनबाट नागरिकले सेवा पाउने ब्यवस्था मिलाउन षडानन्द नगरपालिका र इलाका प्रशासन कार्यालयलाई ज्ञापनपत्रबाट ध्यानाकर्षणसमेत गराएको छ ।

अधिकृतको व्यवस्थापन गरी नागरिकता वितरणका साथै राहदानीलगायतका कामहरू सहज ढंगबाट प्रदान गर्ने व्यवस्था मिलाउन ज्ञापनपत्रमा माग गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?