बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी

Read Time = 4 mins

बारा । आगामी १० वैशाखमा हुने बारा क्षेत्र नं. २ मा उपनिर्वाचनका लागि नेकपा एमाले बाराले पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहित तीनजनाको नाम सिफारिस गर्ने भएको छ ।

जिल्ला कमिटीले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज समेत रहनुभएका पौडेलसहित राजेश साह र बन्दना सिंहको नाम सिफारिस गर्ने निर्णय गरेको हो । साह एमाले प्रदेश कमिटी सदस्य र सिंह अनेमसंघ बाराकी अध्यक्ष हुनु हो ।

बारा २ मा उपनिर्वाचन हुने भएपछि एमालेवृत्तमा पौडेललाई उम्मेदवार बनाउनुपर्ने चर्चा चलिरहेको थियो । २०७० सालमा बारा क्षेत्र नं। ६ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका पौडेल त्यसयता चुनाव लड्नुभएको छैन । उहाँ सुशील कोइराला नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री समेत रहनुभएको थियो ।

पछिल्लो दुई निर्वाचनमा बारा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आकांक्षी रहनुभएका पौडेलले टिकट पाउनु भएन । उहाँ आकांक्षी रहेको क्षेत्रमा अच्युत मैनालीले उम्मेदवार बन्नुभयो । २०७४ सालमा पराजय व्यहोर्नुभएका मैनाली यसपटक नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभयो ।

सप्तरी २ बाट पराजित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा २ बाट चुनाव लड्ने भएपछि एमालेले हेभिवेट उम्मेदवारका रुपमा पौडेललाई अघि सार्न थालेको हो । उपराष्ट्रपति रामसहाय यादवले एमालेसँगको तालमेलमा सो क्षेत्रबाट चुनाव जित्नु भएको थियो। उहाँ उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यसैगरी जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने निश्चित छ । नेकपा माओवादी केन्द्रका कुशवाहा हालका उपराष्ट्रपति यादवसँग पराजित हुनुभएको थियो। उपनिर्वाचनमा माओवादी केन्द्र र कांग्रेसले जसपा अध्यक्ष यादवलाई सघाउने संकेत पाएपछि कुशवाहा जनमत पार्टी प्रवेश गरेर उम्मेदवार बन्न लाग्नुभएको हो ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार बन्ने तयारीमा हुनु हुन्छ। काठमाडौं १ बाट पराजित खरेललाई स्वतन्त्र पार्टीले उम्मेदवार बनाउन लागेको हो । खरेल काठमाडौं १ मा नेपाल सुशासन पार्टीबाट उम्मेदवार हुनु हुन्थ्यो ।

उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा प्रवेश गर्न हेभिवेट उम्मेदवारहरु बारा २ केन्द्रीत भएपछि चुनाव प्रतिस्पर्धात्मक हुने देखिएको छ । बारा २ मा स्वतन्त्र उम्मेदवार समेत देखिनेछन् ।

-इन्दीप कोइराला

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?