दुवाथलनको उपाधि साउद र स्नेहललाई

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । नेपाल ट्राइयाथलन संघको आयोजनामा पोखरामा सम्पन्न दुवाथलनतर्फको उपाधि युएईका साउद अलजावी र महिलातर्फको उपाधि भारतकी स्नेहल सुनिल जोशीले हात पार्नुभएको छ । २०२३ एसियन ट्राइयाथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिपअन्तर्गत भएको दुवाथलन खेलमा साउदले पाँच किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौडको दूरी ५९ मिनेट २७ सेकेण्ड र जोशीले एक घण्टा १२ मिनेट १९ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो ।

पुरुषतर्फ नेपालका हिमाल टमाटाले ५९ मिनेट ४७ सेकेण्ड र वसन्त थारुले एक घण्टा दुई मिनेट नौ सेकेण्डमा दूरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हात पार्नुभयो । महिलातर्फ भारतकी सञ्जना सुनिल जोशी एक घण्टा १३ मिनेट २५ सेकेण्ड समयका साथ दोस्रो र नेपालकी हुमी बुढा मगर एक घण्टा १४ मिनेट ३० सेकेण्ड समयका साथ तेस्रो हुनुभयो ।

विजयी खेलाडीहरूलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पूर्वगण्डकी प्रदेश सांसद दीपक कोइराला, नेपाल ओलम्पिक कमिटीका महासचिव एवं ट्राइयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख डिबी नेपाली, पत्रकार केशव पाठकलगायतले मेडल, पुष्पगुच्छा र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?