उपनिर्वाचन : आज मनोनय दर्ता

तीनै क्षेत्रमा ‘हेभिवेट भिडन्त’ हुने संकेत

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका आज (सोमबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ । निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

आयोगका अनुसार चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशत गरिनेछ भने सोही दिन निर्वाचन चिहृन प्रदान गर्ने कार्यतालिका छ । वैशाख १० गते चितवन-१, तनहुँ-१ र बारा-२ मा उपनिर्वाचन हुँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद गएपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य रिक्त बनेको थियो । त्यस्तै, तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि दुई क्षेत्र खाली भएका थिए ।

क-कसले दिँदै छन् उम्मेदवारी ?
वैशाख १० गते हुने उपनिर्वाचनका लागि सबैजसो प्रमुख दलहरूले उम्मेदवार टुंग्याइसकेका छन् । रिक्त तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा नेकपा एमाले, रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलहरूले आंशिक गठबन्धनमा छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले कुनै क्षेत्रमा उम्मेदवार नदिने भएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादीले पनि उम्मेदवार दिने छैन । तीनमध्ये दुई क्षेत्र -चितवन-२ र तनहुँ-२) नेपाली कांग्रेस र एक क्षेत्र (बारा-२)मा जसपालाई समर्थन गरेको छ । माओवादी र एकीकृत समाजवादीले तीनै क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भएका छन् ।

कांग्रेसले दुवै क्षेत्रका उम्मेदवार टुंगो लगाई सकेको छ । कांग्रेसबाट तनहुँ-१ मा गोविन्द भट्टराई उम्मेदवार हुनुहुन्छ भने एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन-२ मा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवनमा रास्वपा सभापति रवि लामिछाने चुनावी मैदानमा आउनुहुने भएको छ भने तनहुँमा रास्वपाबाट अर्थविद् स्वर्णिम वाग्ले उम्मेदवार हुने तय भएको छ । बारा-२ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उहाँ बिहीबार मात्रै माओवादी केन्द्रबाट जनमत पार्टीमा प्रवेश गर्नुभएको हो । त्यस्तै, बारामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्दै हुनुहुन्छ भने रास्वपाले पूर्वएआइजी रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ । बारामा एमालेले पुरुषोत्तम पौडेललाई अगाडि सार्ने तयारी गरेको छ । राप्रपाले तनहुँ-१ मा शोभा गुरुङ, चितवन-२ मा जीवलाल पुरी र बारा-२ मा सोनालाल साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेसले खटायो तनहुँ र चितवनमा दुई महामन्त्री

नेपाली कांग्रेसले उपनिर्वाचनका लागि महामन्त्रीद्वयलाई दुई निर्वाचन क्षेत्रमा खटाएको छ । उपनिर्वाचन हुने तनहुँ-१ मा महामन्त्री गगन थापा र चितवन-२ मा अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको हो । उपनिर्वाचनका लागि आज (सोमबार) हुने मनोनयन दर्तामा महामन्त्री थापा र शर्मा त्यसतर्फ जान लाग्नुभएको हो । उहाँहरूले मनोनयन दर्तापछि आयोजना हुने सभालाई सम्बोधन गर्नुहुनेछ । चितवन-२ मा हुने मनोनयन दर्तामा सहभागी हुन सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनासमेत सहभागी हुने नेताहरूले बताएका छन् । कांग्रेसले बारा-२ मा भने उम्मेदवारी दिने छैन । बारामा कांग्रेसले जसपालाई समर्थन गर्ने औपचारिक निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?