स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै उपमहानगर, विषादीयुक्त भारतीय तरकारी बेच्न रोक

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 6 mins

धनगढी । धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा तरकारी बिक्री गर्न परिचयपत्र आवश्यक पर्ने भएको छ । धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडि रहेको हाटबजारमा तरकारी बिक्री गर्न किसान परिचयपत्र आवश्यक पर्ने भएको हो । आर्थिक वर्ष २०७०÷७१ देखि १० वर्षका लागि सिर्जनशील समाजको सिर्जना (सिसिएस) नामक संस्थाले हाटबजार सञ्चालन गर्दै आएको छ ।
त्रिनगर हाटबजारमा ठूला व्यापारीहरूले रजाइँ गर्न थालेपछि नयाँ नियम बनाउन लागिएको धनगढी उपमहानगरपालिकाका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाटबजारमा कृषकले आफ्नो उत्पादन बेच्ने हो । कृषक कोहो भनेर पत्ता लगाउन वडाबाट कृषकको नामावली मागेका छौँ । हाटबजारमा आफ्नो उत्पादन बेच्नेको नाम आउँछ । हामी उहाँहरूलाई परिचयपत्र दिन्छौँ ।’

धनगढीको त्रिनगर माध्यमिक विद्यालयको जमिनमा सञ्चालनमा रहेको हाटबजारको आम्दानीको ७० प्रतिशत विद्यालयले पाउने सम्झौतामा उल्लेख छ । (सिसिएस) नामक संस्थाले सञ्चालन गर्दै आएको हाटबजारमा तरकारी, फलफूल तथा कृषि उत्पादन बिक्रीका लागि कुनै नियम नै बनाएको थिएन । धनगढी उपमहानगरपालिकाले भारतीय तथा ठूला व्यापारीहरूले रजाइँ गर्दै आएका भन्दै नयाँ नियम लागू गर्ने भएको हो ।

जसअनुसार त्रिनगर हाटबजारमा कृषि उपज बिक्रीका लागि किसान परिचयपत्र अनिवार्य गर्न थालिएको हो । हाटबजारमा हाल एक हजार बढीले व्यापार गर्न अनुमति पाएका छन् । धनगढी उपमहानगरपालिका क्षेत्रका किसानलाई हाटबजारमा कृषि उपज बिक्रीका लागि पहिलो प्राथमिकता दिइने उपमहानगरले जनाएको छ । पहिलो चरणमा धनगढीका किसानलाई प्राथमिकता दिने र त्यसपछि मापदण्ड बनाएर अन्य पालिका तथा पहाडी जिल्लाका किसानका तरकारीलाई प्राथमिकता दिने उहाँको भनाइ छ ।

किसान उत्साहित
धनगढी उपमहानगरपालिकाले भारतबाट ल्याइएका तरकारी, फलफूल हाटबजारमा बिक्री गर्न रोक लगाएपछि स्थानीय किसान उत्साहित बनेका छन् । भारतीय तरकारीले एकछत्र राज गरिरहेको बेला उपमहानगरपालिकाको निर्णयसँगै किसान उत्साहित बनेका हुन् । किसानले अब स्वदेशी उत्पादन बढ्ने बताएका छन् । भारतबाट आयात हुने तरकारीलाई विस्थापन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उपमहानगरको नीतिअनुसार बिक्री रोक लगाइएको हो ।

साताको तीन दिन लाग्ने ‘हाटबजार’मा भारतबाट ल्याइएका तरकारी र फलफूलले हाटबजार स्थल भरिभराउ हुँदा आफ्नो खेतबारीमा उब्जाएर बिक्री गर्न आउने किसानलाई स्थान र मूल्य पाउन सकस हुने गरेको थियो । नेपालमा उत्पादन भएको तरकारीभन्दा सस्तो र आकर्षक देखेर भारतबाट ल्याइएको तरकारी आफ्नो भान्सामा लगेर उपभोक्ताहरू उल्लेख्य मात्राको विषादी भएको तरकारी खान विवश हुने गरेका थिए । ‘भारतबाट विषादी मिसाएर ल्याएको तरकारीको सट्टा धनगढी कै किसानले उत्पादन गरेको आर्गानिक तरकारी खान पाउने भए’ हाटबजारमा तरकारी किन्न आउनुभएका प्रमोद पनेरुले भन्नुभयो । हामी उपभोक्ताले पनि ताजा तरकारी खान पाउने भयौँ । भारतबाट आउने तरकारीमा कति विषादी मिसाइएको छ भन्ने कसैलाई थाह हुँदैन । भारतीय तरकारी सस्तो र हेर्दा आकर्षक हुने भएकाले पहिले हाटबजारमा आउने अधिकांश उपभोक्ताले त्यही तरकारी किन्ने गरेका थिए ।

‘भारतबाट आएको तरकारीमा विषादी प्रयोग हुन्छ, अनि हाम्रो पैसा पनि भारत जान्थ्यो,’ धनगढीका शिवराज अवस्थीले भन्नुभयो, ‘हाटबजारमा भारतबाट ल्याइएको तरकारी बिक्री गर्न रोक लगाउँदा हामी उपभोक्ता र किसान दुवैलाई फाइदा पुगेको छ ।’
भारतबाट विषादी मिसाएको तरकारी बेच्ने बिचौलियाहरूका कारण स्थानीय किसान मर्कामा परेकाले धनगढी उपमहानगरपालिकाले भारतबाट ल्याइएको तरकारीलाई हाटबजारमा बिक्री गर्न रोक लगाएको कृषि शाखा प्रमुख उपाध्यायले बताउनुभएको छ । ‘भारतबाट ल्याइएको तरकारी बिचौलियाले हाटबजारमा बिक्री गर्दा एकातिर स्थानीय किसानले उब्जाएको तरकारी बेच्न नपाउने र अर्कोतिर नगरवासीले विषादी प्रयोग भएको तरकारी खानुपर्ने समस्या थियो’ उहाँले भन्नुभयो, ‘उपभोक्ता र किसान दुवैको हितका लागि यो निर्णय लागू गरिएको हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?