लागुऔषधसहित पाँचजना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् ।

झापाको  मेचिनगर नगरपालिका-६ स्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-११ सालवारी बस्ने ४० वर्षीय तुलसी गिरी र ३१ वर्षीय यामबहादुर अधिकारी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१७ प ४२६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका-३ पालिका बजार डेरा गरी बस्ने धनकुटा घोर्लिखर्क गाउँपालिका-२ घर भएका ३२ वर्षीय रमेश श्रेष्ठलाई अवैध लागुऔषध ब्राउनसुगर करिब ५ सय मिलिग्रामसहित  प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठाबाट उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकिटोलबाट नियन्त्रित लागूऔषध वनरेक्स २ सय ४० बोतल, डाईजेपाम ६ सय ५० एम्पुल, नुर्फिन ६ सय एम्पुल र फेनारगन ६ सय एम्पुलसहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सिवान पन्चायत-५ बस्ने २६ वर्षीय अमित कुमार र २३ वर्षीय अनिलकुमार रहेका छन् ।

विशेष सूचनाको आधारमा बाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले वीरगजंबाट काठमाडौंतर्फ जाँदै गरेको बिआर २९ जिबि ५४८६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी गाडीका चालक अमित र गाडीमा सवार अनिललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?