सुनकोशीको छालमा रमाउँदै

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 8 mins

सिन्धुली । सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारि ठाउँठाउँमा रहेको समथरमा झुरुम्म बस्ती । किनारामा सेतो रंगले सजिएको बालुवा । बीचमा कलकल बगेको सुनकोशी नदी । नदीमा चम्किलो पानी, शान्त वातावरण । यस्तो दृश्यले कसलाई नलोभ्याउला ? पुग्ने आन्तरिक तथा बाह्य पर्यटक लोभिने गर्छन् । प्राकृतिक सौन्दर्यताले मात्रै होइन, नदीमा तैरिँदै गर्न पाउने यात्राले पर्यटक मोहित हुन्छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम सुरु भएसँगै सुनकोशी नदीमा जलयात्रा र्‍याफ्टिङ) गर्ने पर्यटकको भिड लाग्ने गरेको छ । दिनकै एक सय-दुई सयजना पर्यटकले जलयात्रा गरेर आनन्द लिइरहेका छन् ।

पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जलयात्रा सेवाले पर्यटक तान्न सहयोग पुगेको छ । राजधानी काठमाडौंलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बिपी राजमार्गले पर्यटकलाई आवतजावतमा सहजता थपिदिएको छ । १० अक्टोबर २०१८ मा कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरेर व्यवसायीले सञ्चालन गरेको जलयात्रा अहिले पर्यटकको आकर्षण बनेको छ । जाडोयाममा पनि जलयात्रा गर्ने पर्यटकको घुइँचो थियो । गर्मीयाम चैतदेखि असारसम्म भ्याइनभ्याई हुने व्यवसायी तथा ताज रिभरसाइड रिसोर्टका प्रमुख श्रेष्ठ बताउनुहुन्छ । ‘जलयात्राको मुख्य सिजन गर्मीयाम हो । यस याममा विशेष गरी काठमाडौंबाट प्याकेजमा मनोरञ्जन लिन आउने गर्दछन्,’ शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाको दिन एक हजारजना बढीले जलयात्रा गर्दै आएका छन्,’ उहाँले भन्नुभयो ।

जलयात्रीका लागि सुरक्षित हेलमेट, लाइफ ज्याकेटलगायत सुरक्षाका सम्पूर्ण प्रक्रियाको प्रबन्ध गरिएको छ । प्राविधिक दृष्टिकोणले सुनकोशी नदीमा जलयात्रा गर्न सुरक्षित देखिएपछि पर्यटकलाई जुनसुकै समयमा पनि जलयात्रा सेवा दिन सकिएको उहाँले बताउनुभयो । जलयात्राका लागि २० वटा बोट (डुंगा) छन् । प्रतिबोट आठ जनासम्म यात्रा गर्न सकिन्छ । हाल १० वटाबोट मात्रै नियमित रूपमा सञ्चालित छन् । उहाँका अनुसार सुनकोसी गाउँपालिका–१ को कुशेश्वर महादेव मन्दिरदेखि मूलकोटसम्म (१७ किलोमिटर) वा यात्रुको चाहनाअनुसार मुलकोट–खुर्कोटसम्म जलयात्राको नियमित रुट हो । यहाँ जलयात्रा गरेबापत प्रतिव्यक्तिलाई एक हजार पाँच सय रुपैयाँ शुल्क कायम गरिएको छ । पर्यटकले एक साताको प्याकेजमा मुलकोट-चतारासम्म जलयात्रा सेवा पनि लिन सक्छन् । यो सेवा बापतको शुल्क अलि बढी भएकाले विदेशीले मात्र लिने गरेको उहाँले बताउनुभयो ।

रामेछाप खाडाँदेवी गाउँपालिका-३ भीरपानीका चेतबहादुर जर्गामगर बिहीबार सिन्धुलीको मूलकोटमा आएर जलयात्रामा सहभागी हुनुभयो । रामेछापको नमुना माझी बस्ती, डाँडापाखा, पहाड र नदीको र्‍याफ्टिङले स्वर्गीय आनन्द प्राप्त भएको उहाँले बताउनुभयो । जलयात्राकै लागि उहाँ भीरपानीबाट मूलकोट आउनुभएको हो । एक दिनको पूरै समय मूलकोटमा बिताउने गरी आउनुभएको उहाँले दिन सुनकोशीमा जलयात्रा गरेर र रात मूलकोट रिसोर्टमा बिताएको सुनाउनुभयो ।

अग्ला पहाड र प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्ने पर्यटकका लागि सुनकोशी नदी क्षेत्रलाई राम्रो गन्तव्यका रूपमा लिन सकिन्छ । मूलकोटमा खाना, बस्न होटल र रिसोर्ट खुलेका छन् । मनोरम वातावरणमा सञ्चालित होटल तथा रिसोर्टमा गुणस्तरीय सेवा र सत्कार पाइन्छ । सुनकोशी नदीमा जलयात्रा सुरु गरिएपछि यहाँका होटल र रिसोर्ट सधैँजसो भरिन थालेका छन् । सांसरिक दुःख, कष्ट र सुर्तालाई भुलेर रमाउन पर्यटक आउने गर्दछन् । जलयात्राका लागि आउने पर्यटकको स्वागत सत्कार र आतिथ्यका लागि सुनकोसी गाउँपालिकाको मूलकोट, खाल्टे, रामटार, झागाझोली रातमाटा, बोहोरेटारमा सुविधासम्पन्न होटल तथा रिसोर्टको संख्या वृद्धि हुने क्रम जारी छ ।

व्यापार, व्यवसायमार्फत गाउँपालिकाको विकास गर्न होटल, होमस्टे निर्माण तथा र्‍याफ्टिङ गाइडरलाई तालिम दिने जस्ता काम पनि बेलाबेलामा भइरहेका छन् । सुनकोसी गाउँपालिकामा पर्यटक भित्र्याउन सुनकोशी नदीमा सञ्चालन गरिएको जलयात्रा सेवाले सहयोग गरेको गाउँपालिका प्रमुख दीपा बोहोरा दाहालको बुझाइ छ । ‘र्‍याफ्टिङ भन्नेबित्तिकै विदेशीहरूले मात्र गर्ने भन्ने बुझाइ थियो । अहिले आन्तरिक पर्यटक पनि उत्तिकै आकर्षित छन्,’ उहाँले भन्नुभयो, ‘काठमाडौंदेखि मनोरञ्जन खोल्दै आउने पर्यटकलाई पनि यस ठाउँले पटकपटक आइरहने वातावरण प्रदान गदैँ गएको छ ।’ यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको परिवार र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि यहाँ सुरक्षित जलयात्रा गर्नुभएको थियो ।

र्‍याफ्टिङ एक प्रकारको हावा भरेर चलाउन मिल्ने डुंगा (र्‍याफ्ट) प्रयोग गरेर बहावसँगै बग्दै गरिने जलयात्रा हो । यसलाई मनोरञ्जनक साहसिक खेलका रूपमा लिइन्छ । र्‍याफ्टिङमा मज्जा लिनेका लागि सुनकोशी नदी सुरक्षित र उत्कृष्ट मानिन्छ । लामो, समथर र कम बहाव भएकाले सुरक्षित हुने भन्दै पारिवारिक जलयात्राका लागि पर्यटकको रोजाइमा यो नदी पर्ने गरेको छ ।
क्याप्सन ः सुनकोशी नदीमा जलयात्रा गर्दै पर्यटक ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?