नेता र सरकारविरुद्ध मेयर साहको आक्रोश

सिंहदरबारको फोहोर नउठाउने घोषणा

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारका सुकुम्बासी बस्ती हटाउन खोजेको महिनौँ भयो । तर, विभिन्न अवरोधका कारण चार महिनासम्म बस्ती हटाउन सकेको छैन र पछि पनि हटेको छैन । पहिलोपटक बस्ती हटाउन महानगरको टोली पुग्दा स्थानीयहरू हतियारसहित प्रतिकारमा उत्रिएका थिए । महानगरको बलबुताले बस्ती हटाउन नसकेपछि मेयर बालेन्द्र साह (बालेन)ले संघीय सरकार गुहार्नुभएको थियो । एकपटक होइन पटक-पटक । उहाँले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन गृहमन्त्री रवि लामिछाने लगायतलाई भेटेरै सुकुम्बासी बस्ती हटाउन सहयोग गरिदिन आग्रह गर्नुभएको थियो । बस्ती हटाउन मेयर बालेनले नेपाल प्रहरी र सशस्त्र प्रहरी हेडक्वार्टरमा पुगेरसमेत सहयोगका लागि अपिल गर्नुभएको थियो । सुरक्षाकर्मी उपलब्ध गराउन माग गर्दै तत्कालीन गृहमन्त्री लामिछानेलाई बालेनले पत्रसमेत लेख्नुभयो । साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटेर बस्ती हटाउन सहयोगका लागि अपिल गर्नुभएको थियो । अहँ ¤ कतैबाट सहयोग भएन । तर, सहयोग गर्ने वचन सबैले दिए पनि कसैले सहयोग गरेनन् । कतैबाट सहयोग नभए पनि बस्ती हटाउने बालेनको अडान कायमै छ ।

यसैबीच, शुक्रबार पनि बागमती किनारको सुकमबासी बस्तीमा डोजर लगाउन खोज्दा महानगर फेरि असफल भएको थियो । तीनकुनेस्थित गैरीगाउँ क्षेत्रको बागमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव भयो । महानगरले सुरक्षा माग गर्दै गृह मन्त्रालयलाई जानकारी गराएको थियो । नगर प्रहरीसहित बालेन सुकुम्बासी बस्तीमा पुगेपछि स्थानीयले अवरोध गरेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि पुगेका थिए । विरोध हुँदाहुँदै मेयर बालेनले बस्ती हटाउन प्रहरीलाई आग्रह गर्नुभयो । तर, प्रहरी बस्ती हटाउन मुभ नभएको महानगर स्रोतको दाबी छ । मेयरमा बालेन निर्वाचित हुँदा काठमाडौंको फोहोर उठेको थिएन । मेयर साह फोहोर व्यवस्थापन गर्न निकै दौडधुप गर्नुभयो । त्यहाँ पनि सरकारले आवश्यक सहयोग नगरेको महानगरको ठहर थियो ।

यी त प्रतिनिधि घटना हुन् । यति मात्रै होइन टुकुचा उत्खनन गर्दा होस् वा फुटपाथ खाली गर्दा सरकारले सहयोग नगरेको महानगरको ठहर छ । महानगरले गर्न खोजेको राम्रा काममा पनि सरकारले सहयोग नगरेको मेयर साहको बुझाइ छ । यस्तै, विभिन्न कारणले काठमाडौं महानगरका मेयर साह संघीय सरकार र नेताहरूविरुद्ध बेलाबेलामा आक्रोशित बन्नुहुन्छ । सञ्चारमाध्यममा कुनै प्रतिक्रिया नदिने मेयर साह सामाजिक सञ्जालमा भने निकै सक्रिय हुनुहुन्छ । गत साता बर्दिवासबाट हिँडेरै काठमाडौं आएका मिटरब्याज पीडितलाई खुलामञ्चमा प्रवेश गर्न नदिँदा उहाँको आलोचना भयो । तर, मेयर साह भने उल्टै सरकारविरुद्ध खनिनुभएको थियो । यसपालि फेरि मेयर साह सरकारविरुद्ध खरो उत्रिनुभएको छ ।

‘भारत र चीनले बनाएको सरकारको इज्जत गर्दिनँ’
शनिबार सरकारविरुद्ध तथानाम लेख्दै मेयर साहले सिंहदरबारको फोहोर नउठाउने चेतावनी दिनुभएको छ । यति मात्रै होइन ‘देश साँच्चिकै सफा गर्ने भए नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने’ टिप्पणीसमेत उहाँले गर्नुभएको छ । उहाँले वर्तमान सरकार भारत र चाइनाले बनाएको आरोपसमेत लगाउनुभएको छ । शनिबार फेसबुकमा एकपछि अर्को प्रतिक्रिया दिँदै मेयर साहले भारत र चाइनाले बनाएको सरकारको आफूले कुनै इज्जत नगर्ने बताउनुभएको छ । ‘इण्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिनँ म,’ सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ,’ ‘नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ? महानगरका मेयर बालेन यसरी आक्रोशित बनेको यो पहिलोपटक भने होइन । यसअघि पनि उहाँले पटकपटक आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आउनुभएको छ ।

सडक मिचेर राखिएका प्रहरी बिट हटाउन निर्देशन
मेयर साहले महानगर क्षेत्रमा सडक मिचेर राखिएका प्रहरी बिट हटाउन निर्देशन दिनुभएको छ । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै मेयर साहले ती संरचना आफैँ हटाउन निर्देशन दिनुभएको हो । आफैँ नहटाए महानगरले भत्काउने उहाँको चेतावनी छ । महानगरले फुटपाथमा व्यापार गर्न रोकेको र त्यो सर्वसाधारणका लागि मात्रै नभएको बताउँदै प्रहरी बिट पनि हटाउन उहाँको आग्रह छ । ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैँले हटाउनुहोला,’ उहाँले भन्नुभएको छ, ‘नत्र समतामूलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’ उहाँले हटाउनुपर्ने प्रहरी बिटहरू पनि सार्वजनिक गर्नुभएको छ । उहाँका अनुसार बालुवाटारस्थित प्रधानमन्त्रीनिवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामंगल चोक, चुच्चेपाटी चोक, ढल्कुको, ताम्सीपाखा, रुद्रमतीमार्ग मैतीदेवी, असन चोक, न्युरोड पिपलबोट, चिकमंगल, धोवी चोर, देउराली क्लब, रातो पुल, बौद्ध, ताहचल, पेप्सीकोला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र माछापोखरीका प्रहरी बिट हटाउनु पर्नेछ । दूतावासलगायत विदेशी नियोगका सम्बन्धमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।

मेयर साहको अभिव्यक्ति समाजलाई अराजकतातिर लाने नियोजित प्रयास : पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरका मेयर बालेन साहका अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयासको संज्ञा दिनुभएको छ । मेयर साहको अभिव्यक्तिमाथि टिप्पणी गर्दै महासचिव पोखरेलले नेपाली समाजलाई अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको दाबी गर्नुभएको छ । जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्ने उहाँको भनाइ छ । ‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ,’ उहाँले भन्नुभएको छ, ‘जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ ।’ मेयर साहको अभिव्यक्तिको प्रमुख राजनीतिक दलका नेताहरूले खण्डन गर्दै आएका छन् । यसबारे अन्य नेताहरूको प्रतिक्रिया भने तत्काल आइसकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?