भन्सार असुली बढाउन कर्मचारीलाई अर्थमन्त्रीको उर्दी

Read Time = 7 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभागका कर्मचारीलाई इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको छ । सोमबार भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । कार्यक्रममा मन्त्री महतले आफू अर्थ मन्त्रालयमा शोभा बढाउन आएको नभई राजनीतिक नेतृत्व, कर्मचारी र उद्योग व्यवसायी सबै मिलेर अहिलेको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आएको बताउनुभएको थियो । उहाँले भन्नुभयो, ‘अहिले राजस्व घटेको छ । राजस्व घट्दा कर्मचारी दोषी छन् भनेर कठघरामा उभिनुभएको छ भन्ने मेरो भनाइ होइन । राजस्व घट्नुमा विभिन्न कारण छन् । हामी आफैं कति कारक छौँ, त्यसको आत्ममूल्यांकन हामी सबैले गर्नुपर्छ । पछिल्लो समयमा चोरी पैठारी बढ्यो, यो चोरी पैठारी भन्सारभन्दा टाढाको बाटोबाट भएको छैन । भन्सार नाकाकै छेउछाउबाटै चुहावट आएको छ, यो गम्भीर कुरा हो ।’

भन्सार विभागले उपलब्ध गराएको रिपोर्टअनुसार २८ प्रतिशत भन्सार घटेको भन्दै विभिन्न भन्सार नाकाको भोलुमको कम्पोजिसन र भन्सार घट्नुमा कसको कति योगदान छ भन्ने कुरा रिपोर्टले देखाएको अर्थमन्त्रीको भनाइ छ ।

उहाँले भन्सार विभागले मन्त्रालयलाई उपलब्ध गराएको रिपोर्टअनुसार २८ प्रतिशत भन्सार घटेको भन्दै विभिन्न भन्सार नाकाको भोलुमको कम्पोजिसन र भन्सार घट्नुमा कसको कति योगदान छ भन्ने कुरा रिपोर्टले देखाएको बताउनुभयो । भैरहवा भन्सारको सबैभन्दा धेरै घटेको छ । भैरहवा भन्सारबाट ४४ प्रतिशत घटेकाले त्यहाँका प्रमुखको ध्यानाकर्षण गराएको पनि उहाँले जानकारी गराउनुभयो ।

अर्थमन्त्री महतले भन्नुभयो, ‘महानिर्देशकलाई आग्रह गर्छु, विभिन्न भन्सार नाकाको आयातको प्रकृति के छ त्यसको रिपोर्ट मलाई चाहियो । वस्तु आयातबाट भन्सार घटेको हो कि अर्को बाटोबाट भन्सार छलेर भित्रियो ? त्यसको ब्रेकडाउन मलाई चाहियो, त्रिभुवन विमानस्थल नाकाबाट पनि राजस्व धेरै घटेको छ । त्यहाँ पनि चुहावट भएको खबर प्राप्त भएको छ । वीरगञ्ज, रसुवा नाकाबाट पनि धेरै भन्सार राजस्व घटेको छ । यसलाई तपाईंहरूले गम्भीररूपमा लिनुहोला । मेरा लागि अरू कुनै मूल्यांकनको आधार छैन । कर्तव्यनिष्ठ भएर काम गर्ने, नतिजा देखाउनुहोला ।’

उहाँले भन्नुभयो, ‘आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक शुल्क लिन भनेको होइन, जायज कुरा तपाईंहरूलाई थाहा, बुझ्नुभएको छ तर कार्यान्वयन भइरहेको छैन, त्यतातिर म तपाईंहरूको ध्यानाकर्षित गराउन चाहन्छु, तपाईंहरूमध्ये धेरैजसो मिहिनेत र इमान्दारितासाथ काम गरिराख्नुभएको छ । यो कठघरामा उभ्याउन खोजेको होइन, राजनीतिक, प्रशासनिक अथवा जो जहाँ जसले जिम्मेवारी लिइराख्नुभएको छ, संस्थाप्रति हाम्रो इमान्दारिता, क्रियाशीलता र कामप्रतिको समर्पण मेरो नेतृत्वमा अर्थ मन्त्रालय आएको छ, सम्पूर्णरूपमा पारदर्शी ढंगबाट हामी काम गर्न चाहन्छौँ । नतिजा देखाउन चाहन्छौँ । त्यसमा भन्सार विभाग प्रमुख हो । बलियो नेतृत्वको आवश्यकता छ । तल्लो तहलाई सजाय गरिन्छ, नेतृत्व वर्गलाई केही गरिँदैन भन्ने कुरा आएको छ । जसले नेतृत्व गरिराखेको छ, उसले त्यो जिम्मेवारी लिनुपर्छ भन्ने मलाई लागेको छ । जवाफदेही पनि बनाउने र जिम्मेवारी पनि दिने हो । जिम्मेवारी दिने र जिम्मेवारी लिने परम्पराको सुरुवात गरौँ ।’

मन्त्री महतले अरू धेरै कारणले राजस्व घटेको भन्दै राजस्व घट्नुमा सम्पूर्ण कर्मचारीलाई मात्रै पनि दोष दिने पक्षमा आफू नरहेको पनि स्पष्ट पार्नुभयो । तर, कर्मचारीको हिस्सा कति छ, त्यसको जिम्मेवारी भने लिनुपर्ने उहाँको भनाइ थियो । अर्थमन्त्री महतले भन्नुभयो, ‘प्रधानमन्त्री कार्यालयमै सुरक्षा निकायसँग बसेर बलियो निर्देशन त्यहाँ पनि दिइएको छ । सुरक्षा निकाय र भन्सार कर्मचारीको समन्वयमा भन्सार चुहावट रोक्नुपर्छ । अरू कारणबाट भन्सार चुहावट भएको छ भने त्यसको जानकारी हामीले पाउनुपर्छ । मोबाइल फोनमा सिस्टम लागू नगर्दा चोरी पैठारी बढेको, राजस्व घटेको छ । कर्मचारीले आफ्नो जिम्मेवारी उच्च कर्तव्यनिष्ठ साथ पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छ । राज्यको आयले साधारण खर्च धान्न नसक्नु दुर्भाग्य हो, यसबारे राजनीतिक नेतृत्व गम्भीर छ । यो समस्या समाधानका लागि हाम्रोतर्फबाट कुनै कसर बाँकी राखिँदैन । उद्योगी व्यवसायीलाई दिइने झन्झटप्रति पनि हामी त्यत्तिकै संवेदनशील छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?