मुगेरीलाल र उसका हँसिला सपना

प्राडा. कुलप्रसाद कोइराला
Read Time = 15 mins

गएको बुधबार इतिहास विषयका प्राध्यापकहरूको राम्रो भेला रसियन सदनमा भएको थियो । प्रा.डा.तीर्थप्रसाद मिश्रले त्यसै दिन बिहानै पनि मलाई प्रत्यक्ष अनुहार हेरी कुरा गर्ने मेसेन्जर (मुखचक्षु दर्शन यन्त्र) मा बोलेर आज तीन बजे हो, बिर्सिएला भनेर सम्झाउनुभयो । प्रा.देवीभक्त ढकालसँग पनि सल्लाह भयो । त्यहाँ प्रा.डा.तीर्थप्रसाद मिश्रले लेखेको ‘भोटमा नेपाली पहिचान र पराक्रम’ शीर्षक बहुआयामिक (कूटनीति, इतिहास, व्यापार, घरवार, रक्षा, आदि कुराका पक्षमा यसले प्रकाश पारेको रहेछ) पुस्तकलाई त्रिवि इतिहास केन्द्रीय विभागले सार्वजनिकीकरण गर्न त्यो ठाउँ रोजेको रहेछ । मिश्रको गुरुभक्ति र गुरुको विनम्रतायुक्त गुरुत्व उल्लेख्यको थियो ।

प्रा.डा.त्रिरत्न मानन्धर तथा हेमन्तशमशेर जंगबहादुर राणा मिश्रका गुरु रहेछन् । यिनका आआफ्नै प्रकारका नमुना देख्न पाइएको हुनाले मलाई अघिपछिभन्दा धेरै स्वाद लागेको थियो । बेला बखतमा उपलब्ध भएको प्रसंग जोडको मौका छोप्ने हेमन्त । आवश्यक र विषय तथा प्रसंगका अँगालामा अट्ने जतिमात्र बोल्ने नम्र तर दृढ स्वरमा त्रिरत्न मानन्धर । मेरा समकालीन साथी विपिनध्वज कार्की, म र देवीभक्त ढकाल एकै लहरमा लस्करै बसेका थियौं । म त स्वादले रमाएको थिएँ । पछिल्ला लहरका एकजना मित्रले मलाई शौचागारबाट फर्कँदा भने खिस्रिक्क पारे- ए भिसी, तेरो त प्रियपात्र होइनन् प्रा.डा.घनश्याम ? हुन् किन र ? गुरुका पनि गुरु बसेका ठाउँमा उद्घोषक भएर के गरेको त्यो ? भनेपछि मैले घनश्यामजी विद्वान हुनुहुन्छ ।

उहाँको वाक्कला पनि सुन्दर छ । केही तलमाथि भएको भए सुधार्नु हुन्छ । अहिले वातलाई वतङ्गर नबनाउँ भनेर मुखबुजो लाएँ । त्यस सभामा १ सय ५० देखि दुई सय जनासम्म मानिस हुँदा हुन् । उपकुलपति, राजदूत, सचिव, योजना आयोगका सदस्य, लोकसेवा आयोगका सदस्य, निर्वाचन आयोगका पूर्वआयुक्त र दुई-चार जनाबाहेक सबै पूर्वप्राध्यापक त्यो पनि राष्ट्रका गहनाका रूपमा आ–आफ्ना समयमा स्थापित भइसकेका मात्र थिए । त्रिविमा भएका सबै पद भ्याएर पनि राजदूत पनि भइसकेका नवीनप्रकाशजंग शाह मञ्चका आकर्षक व्यक्ति बनेका थिए । नवीन र तीर्थप्रसादका नजिकका मान्छेको नै बहुलता थियो पनि ।

रातो मच्छेन्द्रनाथको भोटो बेलायतको म्युजियममा बेच्नेले बेचेपछि उनीहरूले ‘पर्चेज फ्रोम हिमालयाज’ भनेर लेखेर राखेकोे कुरो सुनाउनेलाई पनि सम्झेँ । मलाई भन्दा यो देशको राजालाई माया बढी हुन्छ किनभने देश नरहे उनले कहाँ राज्य गर्ने भनेर हामीलाई उकास्ने बीपीलाई पनि सम्झेँ ।

विपिनले मलाई कोट्याएर भने, ‘स्वर्णिमले पड्काउला जस्तो छ नि तनहूँमा त’ । हो र ? गोविन्द आउनुपर्ने, यो देशको खडेरी बतास खपेर पसिना बगाएका मूल्यको लिक नछाडेका इमानदार मान्छे त गोविन्द भट्टराई नै छन् भनेर मैले भन्नेबित्तिकै विपिनले तर्क राखे अब प्रचण्ड, कमल थापा, लिङ्देन, शेरबहादुर देउवा र केपी ओलीमा के भिन्नता ? बरू रवि लामिछानेले दुई घण्टाभित्रमा नागरिकता पाउने त बनाए । जनतालाई काम चाहिएको छ । काम गर्नेलाई दिन्छन् भोट । सिद्धान्तका दिन गए भनेर देवी र विपिनले मेरो सातो लिएपछि .... ।

फेरि देवीले भने हो, सर मेरा विद्यार्थीलाई भोट हाल्नुपर्ने भएको छ । म नै जाऊँ कि नजाऊँ भएको छु । भनेर देवीले पनि भनेपछि मलाई लाग्यो जो मुखिया उही बाटो.... भएपछि देखिने परिणति यही नै हो । राजनीति राजनीति नरहेर लाजभाँड, जता हेर उतै गलगाँड भएपछि केको त्याग, केको निष्ठा केको मूल्यमान्यता ? राजनीतिको काइदा जे ग¥यो त्यही फइदा । रुवा खोलामा र पाँचथरमा पनि ती दिनमा धमिलो पानी बगेको थियो क्यारे । जीवनभरि यी दुवैले सङ्लो काम कहिल्यै गरेनन् । ‘शुद्ध खाइदेउ र हमहम हि छी’ भन्ने यिनको चरित्रका सम्बन्धमा सोचेर ल्याउँदा हो पनि । आदर्श समाजको सपना देखाएर हामीलाई परिचालन गर्नेका नाकमा आज किन कालो दाग ?

करनी र कथनी नमिलेर त होला नि ! म एकछिन चुप्प लागेर भाषण सुनेजस्तो गरी सोच्न लागेँ-जोगमेहर, हेमबहादुर मल्ल, नानीमैयाँदेखि भएभरका भ्रष्ट र निकम्माका हारमा अहिलेका नेपालका ठूला नेता त हँसिलो मुख लाएर चम्किला बनेर बसेका पो देखेँ । रातो मच्छेन्द्रनाथको भोटो बेलायतको म्युजियममा बेच्नेले बेचेपछि उनीहरूले ‘पर्चेज फ्रोम हिमालयाज’ भनेर लेखेर राखेकोे कुरो सुनाउनेलाई पनि सम्झेँ । मलाई भन्दा यो देशको राजालाई माया बढी हुन्छ किनभने देश नरहे उनले कहाँ राज्य गर्ने भनेर हामीलाई उकास्ने बीपीलाई पनि सम्झेँ ।

आफूलाई प्रजातन्त्रको स्मारकका रूपमा आत्मसात गरेर ‘मेरो र राजाको घाँटी जोडिएको छ’ भनेर राजा कांग्रेस र कम्युनिष्टलाई पनि सतर्क हुन संकेत गर्ने बीपीलाई पनि सम्झेँ । राजा नहटाउन बेबीकिङको प्रस्ताव गर्दै हिँड्ने गिरिजाप्रसाद कोइरालालाई पनि सम्झेँ । गोर्खाली राजाले अक्षम भनेर फालेको र गोरखाली राजा न्यायप्रेमी रहेछन् न्याय पाएँ भनेर गर्दन फुलाउनेको चेहरा पनि आँखाका अघिल्तिर आयो । जनकपुरतिरका एकजना ठूला नेता जो राति-राति आफ्ना मान्छेलाई बोलाएर ‘पहडिया नहिं बिल्गायब त अहाँ सभ सोचु कहियाअहाँक राजआओत ? आगि लेसु पहडिया कें घर मे, भगाउ सार सभ केँ’ भन्थे भने दिनभरि पहाड र तराई कोही छैन पराई भन्थे तिनलाई पनि सम्झेँ ।

मेरा अग्रज प्रा.ताराकान्त झाका छोरा र मेरा छोरालाई जनकपुर पठाउँदा ढल्केबरसम्म आएर ताराकान्त झा र नमोनारायण झाले ‘यी दुनु हमर बेटा अछि’ भनेर भन्नुपरेको दिन पनि सम्झेँ । यिनै दलले चाहेको व्यवस्था ल्याएपछिका कुरा नै गर्ने हो भने पनि राज्य र सरकार जिम्मेवारीविहीन भएको दशकौं भयो । यिनकै पालामा मधेस आन्दोलन गराएर जनताले करोडको धनमाल कौडीमा फालेर हिँड्नुप¥यो । न जनताले नै जनप्रतिनिधिलाई प्रश्न सोधे, न त तिनले नै आफ्नो असक्षमताका सम्बन्धमा स्वीकारै गरे ।

जनताको मनोविज्ञान आज वर्षौंदेखि जनतालाई सपना देखाएर आफ्नो व्यापार गर्दै आएका ठूला दल र तिनका परिचालकसँग जनता वाक्कव्याक्क भएका छन् । र तिनको कुरो सुन्न नसक्ने भएका छन् । ती दलमा रहेका युवापुस्ताबाट गएका गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गोकर्ण विष्ट, योगेश भट्टराई, रामकृष्ण यादव, सञ्जय गौतम, धनराज गुरुङ, महेन्द्र यादव (पुड्के) जस्ता जनताले आस गरेका मान्छे पनि आ-आफ्नै पार्टीका निकम्मा नेताका विरुद्ध हस्तक्षेपकारी भूमिकामा जान सकेनन् ।

रचनात्मक योजनाका साथ युवापुस्ताले जनतालाई साथमा लिएर पुरानो पुस्तालाई ससम्मान विस्थापन पनि नगर्ने, मुलुक अस्तव्यस्त बन्ने प्रक्रिया सुरसाको मुखझैँ बढ्दै जाने हो भने यो विश्वमा नै सुन्दर ठानिएको पद्धतिको पनि जनताले विकल्प खोज्नुपर्ने हुनसक्छ ।

रचनात्मक योजनाका साथ युवापुस्ताले जनतालाई साथमा लिएर पुरानो पुस्तालाई ससम्मान विस्थापन पनि नगर्ने, मुलुक अस्तव्यस्त बन्ने प्रक्रिया सुरसाको मुखझैँ बढ्दै जाने हो भने यो विश्वमा नै सुन्दर ठानिएको पद्धतिको पनि जनताले विकल्प खोज्नुपर्ने हुन सक्छ । यसै सम्बन्धमा गोविन्द भट्टराई, स्वर्णिम वाग्ले, जितनारायण श्रेष्ठ, रवि लामिछाने आदिको पनि हिसाबकिताब निकाल्नुपर्ने हुन्छ । रविको बेलगाम बोली सुनेर गोविन्द भट्टराई र जितनारायणले पनि त्यसैको नक्कल गरे नोक्सान हुन्छ । विश्वासिलो किसिमले पटकपटक परीक्षण भएर असक्षम ठानिएको वर्गलाई विस्थापन गर्न कदम नचाल्ने र त्यही दाजुभाउजू र कामरेडको जुता पुज्ने परिपाटी बोक्ने हो भने महाघण्टी बज्नसक्छ ।

त्यो बेला ‘हाथी घोडा धँसल जाये, नरघोघी कहे कत्तेक पानि ?’ भन्ने मैथिलीको उखान चरितार्थ हुन्छ गगन, गोकर्ण विष्ट पुहुनी जस्ता आकर्षक भाषणकारीका निमित्त पनि । अतः आउँदै गरेका युगको र जनताको मनका आँधीबेहरीको आहट नबुझे हामी राम राम भनेरमात्रै बस्ने अवस्थामा पुग्नसक्छौं । त्यतिबेला स्वर्णिम न रवि सबैका छवि इतिहासका गर्तमा टर्च लाइट बालेर खोज्नुपर्ने अवस्था नआवस् ।

मान्छेका आ-आफ्नै दृष्टि र बुद्धि रहेका हुन्छन् । अहिलेका सत्ताधारीले आफूलाई जहाँ पुर्‍याएका छन् त्यस ठाउँबाट तिनीहरू फिर्ता हुँदा निहित स्वार्थी तत्वको सामना गर्न सक्ने छैनन् यिनले । मिर्जा दिल साद वेगलाई मार्ने काम काठमाडौंका मुटुमा दिनदहाडै भएको होइन र ? राज्य या सरकारले के गर्‍यो ? किलामा बाँधेको गाई कुट्ने, मरेका बाघका जुँगा उखेल्ने, अर्काकी स्वास्नीलाई पद पैसा दिएर घरवारविहीन बनाउने, आफ्नै चाकडीदार खोजेर दिने र चारणबाट दानी र उदारताको प्रचार गराउने जस्ता काम भने अहिलेका सत्तासीन या प्रमुख प्रतिपक्षीका पुरुषार्थ द्योतन गर्ने कामका रूपमा लिनुपर्छ । अँगारले कि त हात डढाउँछ कि त हातमा कालो लाइदिन्छ रे ।

अहिलेका नेपालका राजनीतिकर्मी पनि सत्तामा भए मान्छेलाई डढाई नै दिन्छन् । बाहिर भए अनेकौं फत्तुर लाएर या गुण्डा लाएर हैरान पार्दछन् । यसरी विगतदेखिकै नेपाली जनता र राजनीति गर्ने कैतवको कानेकाने पिच्चा हेरेर रमाइरहेका बेला ए ! कता हराएको भनेर विपिनले घच्घच्याएपछि पो म त झल्याँस्स भएँ, सभापतिले भाषण गरीवरी विसर्जन गरिसके के निदाका थियौ हिँड जाऊँ भनेपछि पो हेर्छु त देवीभक्तजी पनि मेरो मुख हेरेर देउवाले अर्थमन्त्री बनाउने भनेको सुनेर डा.प्रकाशशरण महत हाँसे झैँ हासिरहेका रहेछन् त ।

पुस्तक त मेरो विषय क्षेत्रभन्दा बाहिरको भएकाले मलाई खासै थक्थकी भएन । घरै ल्याएर पढ्न पनि पाएँ । तर सभामा केके गतिला कुरा भए मेरा सपनाले उडाइदिएकाले खिस्स बुढी हरिया दाँत पो भएँछु म त । यी सबै कुराको सार के हो भने म त मुगेरीलालापो भएँछु । कतै मलाई जस्तै मुगेरी लालगोविन्द भट्टराईलाई चाहिँ नबनाओ है तनहूँले मतदाता हो । पाप लाग्छ तिमीहरू म त दिउँसै सपना देख्न बानी परेको मुगेरी लाल बनाओ या उसका हसिन सपने बनाओ केही छैन । बार वर्षमा गोविन्दतिर पोइले आँखा लाएका छन् अहिले नै ज्वरो न सल्काओ है तनहूँले हो !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?