विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई बुधबार दाङमा सम्बोधन गर्दै विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउने कुरालाई नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रमभित्र समेटेको उहाँले बताउनुभयो । वर्तमान सरकार नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एबम् प्रवद्र्धनका लागि विश्वविद्यालयहरूबीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहेको बताउनुभयो ।

‘विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुनेगरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्यहरू र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउन सरकार प्रतिबद्ध छ,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले नयाँ–नयाँ खोज, आविष्कार तथा विकासका आधारहरू सबै शिक्षामा नै निर्भर हुने भएकाले विश्वविद्यालयबाट राष्ट्रले ठूलो अपेक्षा राखेको बताउनुभयो । ‘नयाँ नयाँ खोज, आविष्कार तथा विकासका आधारहरू सबै शिक्षामा नै निर्भर हुने भएकाले यस विश्वविद्यालयबाट पनि समुन्नत समाज निर्माण गर्नसक्ने सुसंस्कृत, सक्षम र अनुशासित दक्ष नागरिकको उत्पादन हुने अपेक्षा गर्नु स्वाभाविकै हो,’ उहाँले भन्नुभयो ।

विविध कारणले संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह विगत १२ वर्षयता सम्पन्न हुन सकेको भन्दै प्रधानमन्त्री प्रचण्डले छात्रछात्राहरूको वर्तमान र भविष्यसँग गाँसिएका यस्ता कार्यक्रमहरूलाई समयमै आयोजना गर्न विश्वविद्यालय प्रयत्नरत रहनुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नेपाल संस्कृत विश्वविद्यालय नेपालको एक ऐतिहासिक प्राज्ञिक थलो रहेकाले यसको विकास र शैक्षिक उन्नयनका लागि सरकारदेखि अभिभावकसम्म सबै उत्तरदायी बन्नु पर्नेमा जोड दिनुभयो । दीक्षान्त समारोहमा नेपाल संस्कृत विश्विद्यालयका ५७५ जना विद्यार्थीहरू दीक्षित भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?