✍️ सञ्जय साह ‘मित्र’
गर्मीको महिनासँगै हावाहुरी र आगलागीको डर बढ्दै जाने हुन्छ । जहाँ बाक्लो बस्ती बढी हुन्छ, त्यहाँ आगलागीको जोखिम बढी हुन्छ । एउटा घरमा कुनै कारणले आगो सल्किँदा बाक्लो बस्ती भएको ठाउँमा अन्य घरमा पनि सल्किने सम्भावना हुन्छ । यस्तो समस्या देखिएको पनि छ । कहिलेकाहीँ यस्तो घटनाले कैयौं घरपरिवारको विचल्ली भएको पनि पाइएको छ । कहिलेकाहीँ वन डढेलो पनि बस्तीको छेउछाउमा पुगेर क्षति पुर्याउने हुन्छ ।
गर्मी बढ्दै गएपछि सबैतिर सुख्खा हुन्छ । चैत लागेपछि खेतबारीमा लगाइएको गहुँ, मसुरो जस्ता बालीहरू पनि पाक्दै गर्दा तिनीहरूसँगका घाँसहरू पनि सुक्न थाल्छन् । गहुँ काटेपछि खेतमा रहेको डाँठलाई कतिपय आगो लगाई जलाउने गर्दछन् । गहुँ र मसुरोजस्ता बालीको दाइँ गरेपछि भुस बाँकी रहन्छ । कतिपयले बेच्छन्, कतिपयले गाईवस्तुलाई खुवाउन संग्रह गर्दछन् र कतिपयले चाहिँ खेतमै बाल्ने काम गर्दछन् । यसै गरी उखु काटिसकेपछि खेतमा रहेको उखुको सुकेको पातमा पनि आगो लगाउने गरिएको पाइन्छ ।
यसरी खेतमा नै भुस, डाँठ तथा छवालीमा आगो लगाउँदा कहिलेकाहीँ हावाहुरीसँगै उडेर आगो गाउँबस्तीतिर जाने गरेको छ । कहिलेकाहीँ खेत, खरिहानमा राखेको गहुँ तथा मसुरो सखाप हुनेगरेको छ । कहिलेकाहीँ अर्काको खेतको बालीमा पनि आगो लाग्ने गरेको छ । यसै गरी बिजुलीको तार सर्ट हुनु, भान्साबाट उत्पन्न आगो, सलाई-लाइटरको लापरबाहीपूर्ण प्रयोग, बालबालिकाको हातमा पुग्दा आगोले खेल्दै गर्दा, लामखुट्टे धपाउन बालिएको घुर, झुल वा अन्य कपडाको नजिक मच्छरधुप बाल्नु, सबारी साधनमा अचानक आगो लाग्नु, थ्रेसरबाट गहुँ झार्ने क्रममा अचानक आगो लाग्नुजस्ता आगलागीका कारणहरू रहेको देखिन्छन् । आगलागीका अन्य मानवीय तथा प्राकृतिक कारण हुन सक्छन् ।
आगोको नजिक काम गर्ने मानिस, मुख्य गरी भान्साको जिम्मेवारी भएको मानिसले आगोको प्रयोगमा विशेष सावधानी अपनाउनै पर्छ । घरमाचुलो, ग्यास चुलो, हिटर वा विद्युतीय चुलो बाल्दा आगो टिप्ने कपडा, कपास वा यस्तै अन्य पदार्थलाई टाढै राख्नुपर्छ र निकै सतर्कतापूर्वक प्रयोग गर्नुपर्छ ।
जुनसुकै कारणले आगलागी हुँदा हेर्दाहेर्दै घरसँगै सम्पूर्ण सम्पत्ति स्वाहा हुन्छ । जीवनभर दुःख गरेर बनाएको घरसँगै धेरै सपना एकै छिनमा आगोले खरानी बनाइदिन्छ । आगो लागेपछि त्यसको लप्काले भेटेजति सबै स्वाहा हुन्छ । यस कारण आगलागीबाट जोगिन सबैभन्दा उत्तम उपाय सचेत रहनु हो । आफू सचेत रहेर छिमेकी तथा टोलका मानिसलाई पनि सचेत बनाइरहनुपर्छ । सजगता नै सबैभन्दा ठूलो उपाय हो । यसका लागि आगो, सलाई, लाइटर जस्ता आगोजन्य पदार्थहरू बालबालिकाको पहुँचबाट टाढा राख्नुपर्छ । छिटै तात्ने र आगोको झिल्का फाल्ने मेसिन चलाउनु पर्दा आगो टिप्ने कुनै पनि वस्तु आसपासमा आउन दिनु हुँदैन ।
आगोको नजिक काम गर्ने मानिस, मुख्य गरी भान्साको जिम्मेवारी भएको मानिसले आगोको प्रयोगमा विशेष सतर्कता र सावधानी अपनाउनै पर्छ । घरमाचुलो, ग्यास चुलो, हिटर वा विद्युतीय चुलो बाल्दा आगो टिप्ने कपडा, कपास वा यस्तै अन्यपदार्थलाई सम्भव भएसम्म टाढै राख्नुपर्छ र निकै सतर्कतापूर्वक प्रयोग गर्नुपर्छ । भान्सामा काम भइरहुञ्जेल एकजना मानिसले अवश्य रेखदेख गरिरहनु पर्छ । भान्सामा पाँच दश लिटर पानी जहिले पनि र जुनसुकै अवस्थामा प्रयोग गर्न सकिने गरी तयार राखिरहनुपर्छ । एउटा खुला मुख भएको भाँडोमा पानी सञ्चय गरेर राखिरहनु बुद्धिमानी हुनेछ । सम्भव भएसम्म घाम चर्किनुभन्दा पहिले नै आगोको प्रयोग गरेर पकाउनुपर्ने सबै कुरा तयार गरिसक्नुपर्छ ।
धेरै हावा चलेको समयमा आगो बाल्नुपर्दा अत्यन्त सतर्कतापूर्वक प्रयोग गरी आगोलाई पूर्णरूपमा निभाउनुपर्छ । घरबाहिर आगोको प्रयोग गरिएको अवस्थामा भने आगो निभेको शतप्रतिशत निश्चित गर्नुपर्छ । कुनै पनि हालतमा गर्मी महिनाभर आगो बालेर छाड्नु हुँदैन । रातिको अवस्थामा पनि आगोको अत्यन्त सचेततापूर्वक प्रयोग गर्नुपर्छ । आफ्नो आसपासमा आगो लाग्ने सम्भावना भएका क्षेत्र वा वस्तुलाई पहिचान गरी सम्भव भएसम्म न्यून गर्ने वा हटाउने प्रयास गर्नुपर्छ र त्यसप्रति विशेष निगरानी गरिरहनुपर्छ ।
सम्भव हुनेले घरको शयनकक्ष वा अन्य आवश्यक स्थानहरूमा सोक डिटेक्टर राख्नुपर्छ । यसले घरमा कतैबाट धुँवाको गन्ध आएमा जानकारी दिन्छ । अझ सम्भव हुनेले घरभित्र पनि यस्ता कुरा राख्नुपर्छ र यसको राम्ररी सञ्चालनको लागि घरका सबै सदस्यलाई राम्ररी जानकारी गराउनुपर्छ । आगलागी पूर्वको अन्य सावधानी पनि अपनाउनुपर्छ र यसको बारेमा सम्भव भएसम्म अधिकतम जानकारी लिइराख्नु पर्छ । यसैगरी केही गरी आगलागी भइहालेमा पनि सबैभन्दा पहिले जोगिने प्रयास गर्नुपर्छ । आगलागी भइहालेमा त्यसबाट जोगिनको लागि कसरी कहाँबाट र कुन बाटो प्रयोग गरेर तुरुन्त सुरक्षितपूर्वक भाग्न सकिन्छ, यसबारे विचार गरिहाल्नुपर्छ । जुन घरमाआगो लागेको छ त्यस घरभित्र लुक्ने प्रयास कदापि गर्नु हुँदैन ।
यस्तो धृष्टता गम्भीर हानिकारक हुन सक्छ । आगलागी भएको थाहा पाउनासाथ चिच्याएर वरपरका मानिसहरूलाई जानकारी गराउनुपर्छ । घरबाहिर निस्कँदा घरमा कोही भएन भएको पनि विचार गर्नैपर्छ । आफू जोगिँदै आफन्तलाई जोगाउनुपर्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अशक्त, रोगी, सुत्केरी महिला, अपांगता भएका व्यक्ति छन् भने आफू जोगिएर जसरी पनि सम्भव भए आफैँ वा एक्लै सम्भव नभए कसैको सहयोगमा आगलागीबाट बचाउने प्रयास गर्नुपर्छ । घरमा आगो लागेको अवस्थामा धुवाँ भएको स्थानबाट बाहिर निस्कनुपर्दा घोप्टो परेर वा घस्रेर निस्कँदा राम्रो ।
सम्भव भएसम्म अनुहार र टाउकोलाई अत्यन्त बढी गम्भीर सम्वेदनशील भएर जोगाउनुपर्छ । यदि केही गरी आफूले लगाएको कपडामा आगोले टिपेको छ भने घरभन्दा बाहिर सुरक्षित स्थानमा निस्केपछि दौडेर भाग्ने प्रयास गर्नुहुँदैन । दौडेर भागेको अवस्थामा कपडामा आगो झन् छिटो फैलिने हुन्छ । कपडामा आगो टिपेको अवस्थामा त्यसलाई निभाउने प्रयास गर्नुपर्छ । उभिएरै निभाउने प्रयास गर्दा राम्रो तर पछाडिपट्टि कपडामा आगो टिपेको अवस्था छ भने भुइँमा सुतेर वा अन्य उपाय अपनाएर आगोलाई निभाउनुपर्छ । सम्भव भए कपडा खोलेरै पनि फाल्न सकिन्छ ।
नभए तत्काल कस्तो विकल्प देखिन्छ, सोहीअनुसार आफूलाई सुरक्षित पार्नुपर्छ । आगोको राप र ताप तथा प्रभावबाट अनुहार र टाउकोमा क्षति पुग्दै नपुगोस् भन्नेतिर ध्याउन्न केन्द्रित हुनुपर्छ । आफ्नै घर वा टोल छिमेक तथा अन्यत्र कतै आगलागी भएको घटना जानकारीमा आउनासाथ तत्काल कम्तीमा प्रहरीलाई जानकारी गराइहाल्नुपर्छ । सर्वसाधारणले पनि नजिकको प्रहरी युनिटको नम्बर लिइराख्नुपर्छ, घरपरिवारका सबैलाई जानकारी गराइराख्नुपर्छ ।
आगलागी भइसकेपछि उद्धार तथा राहतको चरण आउँछ । उद्धार तथा राहतको लागि रेडक्रस जस्तो संस्थालाई हरेक पालिकास्तरमा सक्रिय र सामग्रीले पूर्ण बनाउनुपर्छ । यसका लागि स्थानीय पालिका सरकार तथा अन्य सरकारी र गैरसरकारी संघसंस्थाले पनि चासो लिनु उचित हुन्छ ।
अहिलेको स्थानीय सरकारले बारुणयन्त्र राख्नु अनिवार्य भइसकेको छ । आगलागीको घटना कहाँ र कहिले हुन्छ भन्ने कुरो अनिश्चित रहनाले कहीँकतै भइहाल्यो भने क्षति हुन नदिन वा अत्यन्त कम क्षति हुनेगरी तुरुन्तातुरुन्तै बारुणयन्त्रलाई पुग्ने गरी व्यवस्था मिलाउनु आवश्यक छ । बारुणयन्त्रलाई चौबीसौं घण्टा पूर्णतयारी अवस्थामा राख्नुपर्छ । र, घरको निर्माणका बेलामा पनि यस किसिमको व्यवस्था गरिनुपर्छ कि कम्तीमा हरेक घरसम्म एम्बुलेन्स र वारुणयन्त्र पुग्ने फराकिलो बाटो होओस् । भवितव्य जहाँ पनि पर्न सक्ने भएकाले बलियो र फराकिलो सडक हुँदा क्षतिलाई न्यून गर्न सकारात्मक सहयोग हुन सक्ने हुन्छ ।
गर्मीको मौसमभरि आगलागीको खतरा कायम रहन्छ । यस वर्ष गर्मी लागेदेखि खासै पानी परेको छैन । पानी नपर्दा सबैतिर सुख्खा देखिएको छ । यस किसिमको सुख्खा मौसममा तातो हावा चल्दा आगलागीको खतरा झन् बढी हुन्छ । आगोले आफन्त र पराई कोही पनि नचिन्ने तथा आँखै अगाडि सम्पूर्ण सम्पत्ति स्वाहा हुँदा पनि छाती पिट्नुबाहेक केही पनि गर्न नसकिने अवस्था सिर्जना हुने भएकोले आगलागी हुनुभन्दा पहिले अपनाउनुपर्ने सावधानी र आगलागी भएपछि तुरुन्त अपनाउनुपर्ने सतर्कता तथा सावधानीबारे जानकार बन्नु निकै महत्वपूर्ण हुन्छ ।
आगलागी भइसकेपछि उद्धार तथा राहतको चरण आउँछ । उद्धार तथा राहतको लागि रेडक्रसजस्तो संस्थालाई हरेक पालिकास्तरमा सक्रिय र सामग्रीले पूर्ण बनाउनुपर्छ । यसका लागि स्थानीय पालिका सरकार तथा अन्य सरकारी र गैरसरकारी संघसंस्थाले पनि चासो लिनु उचित हुन्छ । स्थानीय रेडक्रस सक्रिय र सम्पन्न भए आगलागी र अन्य जुनसुकै प्राकृतिक तथा मानवीय संकटको समयमा आवश्यकता देखिएको मानिसलाई तत्काल निस्वार्थ सहयोग पुग्न सक्छ ।
आगलागीबाट जोगिन र जोगाउनका लागि सुख्खा मौसममा सञ्चार माध्यमले पनि निरन्तर सामग्रीको प्रकाशन तथा प्रसारण गरिरहनुपर्छ । व्यक्ति, समाज र सरकारले चाहेमा आगलागीका घटना र यसबाट हुने क्षति दुवैलाई न्यून गर्न सकिन्छ । तथा समयमा उद्धार, राहत तथा पुनःस्थापना पनि गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच