काठमाडौं । २०७९ निर्वाचन वर्ष रह्यो । तीन तहका निर्वाचन सम्पन्न भए । वर्षको सुरुवात निर्वाचनबाट भएको थियो भने अन्त्य पनि निर्वाचनसँगै भएको छ । २०७९ वैशाख ३० गते देशभरका पालिकामा एकसाथ स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचनबाट देशभरका ७५३ पालिकामा नयाँ जनप्रतिनिधि चुनिए । जनताको सबैभन्दा नजिकको सरकारका प्रतिनिधि चयन भए । स्थानीय तहको निर्वाचनबाट सुरु भएको वर्ष निर्वाचनसँगै सकिएको छ । गत चैतमा उपराष्ट्रपति निर्वाचन भएको थियो । २०७९ मा नसकिएका निर्वाचन नयाँवर्ष २०८० लाई छोडेर गएको छ । नयाँ वर्षको सुरुवातमै (वैशाख १० गते) तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै छ । नयाँ वर्ष २०८० लाई स्वागत गरिरहँदा दल र उम्मेदवारहरू चुनाव प्रचारमा जुटेका छन् । स्थानीय तहको निर्वाचनबाट सुरु भएको वर्षमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए । तीनै तहका निर्वाचन लगभग शान्तिपूर्ण रूपमै सकिए । मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन भएको थियो । गत फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन सकियो । दुवै निर्वाचनबाट राष्ट्रपति र उपराष्ट्रपति चुनिए । सभामुख र उपसभामुखको निर्वाचन पनि २०७९ मा नै भयो । लोकतन्त्रमा महŒवपूर्ण मानिने आवधिक निर्वाचन सफलतापूर्वक सम्पन्न भएका छन् । गाउँदेखि संघसम्म देश र जनताले नयाँ जनप्रतिनिधि पाएका छन् । तीनै तहले नयाँ सरकार पाएका छन् । स्थानीयदेखि संघीय तहसम्मै जनताका निर्वाचित प्रतिनिधिले कार्यभार सम्हालेका छन् ।
नयाँको उदय
निर्वाचन वर्षको रूपमा सम्पन्न वर्ष २०७९ मा नयाँ दल र नेताको पनि उदय भयो । गत वैशाखमा सम्पन्न निर्वाचनमा स्थापित दलका उम्मेदवारलाई चुनौती दिँदै देशका विभिन्न क्षेत्रमा स्वतन्त्र उम्मेदवारको उदय भयो । दललाई च्ुनौती दिँदै स्वतन्त्रहरूले बाजी मारे । देशको राजधानीसमेत रहेको काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी हुनुभयो । काठमाडौंसँगै स्वतन्त्रको हावा देशभर लाग्यो । धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिलगायत पालिकामा स्वतन्त्र उम्मेदवारले बाजी मारे । देशभरका केही पालिकामा स्वतन्त्रले जिते । पालिका प्रमख मात्रै होइन वडामा समेत स्वतन्त्र उम्मेदवारहरू विजयी बने ।
स्थानीय तहमा देखिएको स्वतन्त्रको लहरले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समेत निकै ठूलो प्रभाव पार्यो । संघीय निर्वाचनमा नयाँ दलहरू उदाए । चुनावको पूर्वसन्ध्यामा दर्ता दलसमेत निर्वाचनमा एउटा शक्ति बनेर उदाए । २०७९ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी जस्ता नयाँ दलहरू छोटो समयमै उदय भयो । उनीहरूले अनपेक्षित मत ल्याए । प्रमख दलहरूप्रतिको वितृष्णा जनताले नयाँ दललाई मत दिएर देखाए । केही स्वतन्त्र सांसदहरू निर्वाचित भए । स्वतन्त्र मात्रै होइन निर्वाचनमा युवाप्रतिको आकर्षण पनि देखियो । मतदाताले दलभन्दा माथि उठेर केही हदसम्म युवा र सक्षम उम्मेदवारलाई जिताए ।
निर्वाचन परिणाममा समेत ठूलो हेरफेर भयो । पाँच वर्ष अघिको निर्वाचनमा देखिएको संसदीय गणित २०७९ मा पूरै फेरियो । २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चेको कांग्रेस सबैभन्दा ठूलो दल बन्यो । एमाले र माओवादी खुम्चिए । २०७४ को निर्वाचनमा तालमेल गरेर गएका उनीहरूले झण्डै दुईतिहाइ मत ल्याएका थिए । रास्वपालगायत दलको उदय भयो भने राजसंस्था र हिन्दू सनातन एवं पुरातन विचारधार बोक्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि राष्ट्रिय राजनीतिमा बलियो शक्तिका रूपमा उदायो । रास्वपा संसद्मा चौथो ठूलो दल बन्यो । राप्रपा पाँचौँ दल बनेको छ । गत निर्वाचनमा राप्रपाको एकसिट मात्रै थियो । संघमा मात्रै होइन यसपालि राप्रपाको प्रदेशमा समेत बलियो उपस्थिति छ । मधेश केन्द्रित दलहरू विभाजित बने । दल विभाजित हुँदा स्वाभाविक रूपमा जनमत पनि विभाजन हुने नै भयो ।
नयाँ दलको उदयसँगै पलाएको आशामा केही निराशा पनि देखियो । चौथो ठूलो दल बनेको रास्वपा सभापति रवि लामिछानेको नागरिकता प्रकरणले केही समय राजनीति तात्यो । नागरिकता विवादकै कारण उहाँको सांसद पद गुम्यो । सभापति र मन्त्री पदसमेत गुम्यो । पुनः नागरिकता लिएपछि उहाँ सभापति बन्नुभयो । सरकारमा फर्किन भरमग्धुर प्रयास गरे पनि सफल भने हुनभएन । उहाँ उपप्रधानसहित गृहमन्त्री बन्नुभएको थियो । गृहमन्त्री पाए पुनः सरकारमा जाने भन्दै उहाँले लामो समय बार्गेनिङ गर्नुभयो । तर, हात लाग्यो शून्य । सत्तामोह उहाँमा पनि राम्रै देखियो । सरकारबाट बाहिरिए पनि रास्वपाले अहिले पनि सरकारलाई दिएको समर्थन कायमै राखेको छ । मौका मिल्दा उहाँ फेरि सरकारमा जाने बाटो खोजिरहनु भएको छ । यसले नयाँ दलप्रति जागेको आशामा केही निराशा छायो । सत्ता मोहमा लिप्त बनेको आरोपबाट उम्किन नपाउँदै मन्त्री बन्न रास्वपा सांसदले दुई करोड मागेको अडियोले वर्षको अन्तिममा राजनीति तरंगित बन्यो । २०७९ मा राजनीतिक रंग धेरै बदलियो । दल दलहरू बदलिएनन् । उनीहरूको काम गर्ने शैली फेरिएन ।
गठबन्धन फेरबदल
२०७९ सालको निर्वाचनमा कुनै पनि प्रमुख दलहरू एक्लाएक्लै निर्वाचनमा भिड्ने आँट गरेनन् । कांग्रेस-माओवादी सहितको एउटा र बाँकी बचेकाहरू आंशिक रूपमा एमाले नेतृत्वको गठबन्धनमा सामेल भएर निर्वाचनमा सामेल भए । केही साना दलहरू भने एक्लाएक्लै भिडेका थिए । गठबन्धनको राजनीतिले दलहरूभित्र असन्तुष्टि चुलियो । टिकट वितरणदेखि मतदानसम्म असन्तुष्टिको आगो सल्कियो । दलभित्रै र बाहिर पनि घात–प्रतिघातका आरोप लागे । दलहरूले गरेको गठबन्धन मतदाताले मन पराएनन् । परिणाम दलहरूले सोचे र चाहेअनुसार आएन । कुनै गठबन्धनको बहुमत आएन । कुनै दल मात्रै होइन गठबन्धनको समेत बहुमत नहुँदा सरकार गठनको रस्साकस्सी गजवको चल्यो । तत्कालीन गठबन्धनमा सरकारको नेतृत्व गर्नेबारे सहमति नहुँदा पुस ११ गते अकस्मात गठबन्धन फेरियो । एमाले नेतृत्वको गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुभयो । उहाँले पहिलोपटक विश्वासको मत लिँदा संसद्मा अभूतपूर्व मत पाउनुभयो । उक्त गठबन्धन दुई महिना पनि टिकेन । दुई महिनापछि माओवादी फेरि कांग्रेस नेतृत्वको गठबन्धनमा फर्कियो ।
पहिलेको गठबन्धन बढ्यो । पाँच दलबाट ११ दलीय गठबन्धन अहिले कायम छ । प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिनुभयो । पहिलोभन्दा कम मत आयो । यसको प्रभाव प्रदेश सरकारमा समेत प¥यो । पुस १० को गठबन्धनअनुसार बनेका प्रदेश सरकारमध्ये केही फेरबदल भइसके । केही फेरबदल हुने तरखरमा छन् । वर्ष फेरिँदै गर्दा ती प्रदेश सरकारहरू पनि फेरिने तरखरमा छन् । वर्ष फेरिनु भित्ताको एउटा पात्रो फेरिनु मात्रै होइन । नयाँ वर्ष आइरहँदा बितेको वर्षलाई स्मरण गर्नैपर्छ । विगतलाई स्मरण गर्दा विगतका घटनाबाट पाठ सिक्नैपर्छ । विगतबाट पाठ सिक्दै नयाँ वर्ष नेताहरूले नयाँ सम्भावनाको खोजी गरून् । राजनीतिप्रतिको वितृष्णा बढाउने होइन घटाउनेतिर ध्यान दिऊन् । आगामी सम्भावनाको खोजी गरून् । नयाँ वर्ष २०८० को सबैलाई शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच