काठमाडौंको टुँडिखेलमा ओशो महोत्सव

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौंको टुँडिखेलमा आज नयाँ वर्षको अवसरमा ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेको छ ।

बिहान ९ बजेदेखि सुरु भएको महोत्सव राति ९ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवको उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

महोत्सवमा ५० हजार भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको महोत्सवका संयोजक सोविता सिम्खडाले जानकारी दिनुभयो । महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र सांस्कृतिक व्यक्तिलाई सुहाउने विविध कार्यक्रम हुने उहाँले बताउनुभयो ।

उक्त महोत्सव संगीत, ध्यान, साधना र अध्ययनको महोत्सव हुने सिम्खडाको भनाइ छ । महोत्सवमा ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत कार्यक्रम सञ्चालन हुनेछन् ।

महोत्सवको मुख्य कार्यक्रम आज साँझ ५ बजेदेखि सुरु हुने संयोजक सिम्खडाले बताउनुभयो । साँझ ५० हजार बढी व्यक्तिले एकसाथ ध्यान र उत्सव गर्ने आयोजकको भनाइ छ । देशका विशिष्ट व्यक्तित्वको उपस्थिति हुने उक्त सत्रमा बोधिसत्य स्वामी आनन्द अरुणले विशेष सत्संग र आशीर्वाद प्रदान गर्नुहुनेछ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका नृत्य, सङ्गीत र हास्य प्रस्तुतिका साथै चर्चित साङ्गीतिक समूह कुटुम्बको विशेष प्रस्तुति हुनेछ । साथै हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, मनोज गजुरेल, जितु नेपाल, प्रदीप खड्का, यमन श्रेष्ठ, प्रदीप रोदनलगायतले प्रस्तुति गर्नुहुने आयोजकले जनाएको छ ।

ओशो महोत्सवमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त सेफ सन्तोष शाहको संयोजनमा फुड फेस्टिबलसमेत सञ्चालन हुनेछ । कार्यक्रममा मरुन रङको कपडा अनिवार्य गरिएको छ । ड्रेसको आफैँले व्यवस्था गर्नुपर्ने भन्दै महोत्सवमा राखिएका स्टलबाट उक्त ड्रेस रू पाँच सय वा सोभन्दा बढीमा समेत किन्न सकिने महोत्सवका संयोजक सिम्खडाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?