इण्डोनेसियामा रोहितको सम्झौता नवीकरण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले इण्डोनेसियाको शीर्ष डिभिजन क्लब पर्सिक केदिरीसँग सम्झौता नवीकरण गर्नुभएको छ । इण्डोनेसियाका शीर्ष डिभिजनको लिग वान खेल्ने केदिरीका लागि लगातार उत्कृष्ट प्रदर्शन गरेपछि क्लबले रोहितसँगको सम्झौता नवीकरण गरेको हो । रोहितले सन् २०२४ सम्मका लागि सम्झौता नवीकरण गरिएको जानकारी दिनुभएको छ ।

उक्त क्लबमा आबद्ध हुनुअघि रोहित सन् २०१८ मा पर्सिजा जकार्तासँग आबद्ध हुनुहुन्थ्यो । पर्सिजामा हुँदा उहाँले लिगको उपाधि जित्नुका साथै लिगकै सर्वोत्कृष्ट खेलाडी चुनिनुभएको थियो ।

रोहितले क्लबसँग नयाँ सम्झौता हुँदा खुसी व्यक्त गर्नुभयो । उहाँले यसपल्ट थप उत्कृष्ट प्रदर्शन गर्दै थप नेपाली खेलाडीका लागि इण्डोनेसियन फुटबलमा ढोका खोल्ने लक्ष्य रहेको बताउनुभयो ।

पर्सिक केदिरी यस सिजन ११औँ स्थानमा रहेको थियो । टोलीले ३४ खेलमा नौ जित र १२ बराबरका साथ ३९ अंक जोडेको हो । यस सिजनको लिगको उपाधि भने बाली युनाइटेडले जित्यो । सन् २०२२ मा केदिरी आएयता पनि उहाँ लगातार मुख्य रोजाइमा रहँदै आउनुभएको छ । गत महिना नेपालले थ्री नेसन्स कपको उपाधि जित्दा रोहित टोलीको महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?