परराष्ट्रमन्त्री एनपी साउदद्वारा शपथ ग्रहण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो । आजै मन्त्री साउदले मन्त्रालय पुगी पदभार सम्हाल्नुभएको छ ।

कांग्रेस केन्द्रीय सदस्य साउद यसअघि २०७० सालमा सिँचाईमन्त्री र विसं २०५७ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री हुनुभएको थियो । कांग्रेस नेता साउँद विसं २०५६ र २०७० मा कञ्चरपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा कञ्चनपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

विसं २०३६ मा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) सँग जोडिएर राजनीतिमा होमिनुभएका उहाँ विसं २०४३ मा नेविसङ्घको उपसभापति हुँदै २०४८ सालमा केन्द्रीय सभापति हुनुभएको थियो । पिता खड्गसिंह साउद र माता कौशिल्यादेवी साउदको कोखबाट विसं २०१९ साउन २५ गते (सन् ९ अगष्ट, १९६२) डडेल्धुरामा जन्मनुभएका उहाँको स्थायी ठेगाना कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-६ हो ।

उहाँले भारत, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, संयुक्त अधिराज्य, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, फ्रान्स, जर्मनी, फिलिपिन्स, दक्षिण कोरिया, इजिप्ट, जापान, सिङ्गापुर, कतार, थाइल्याण्डलगायत देशको भ्रमण गर्नुभएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?