समय चक्र र नयाँ वर्ष

Read Time = 12 mins

✍️ डा. नारायणप्रसाद निरौला

कालचक्र निरन्तर चलिरहेको छ । यही चक्रमा हामी पनि गतिशील भइरहेका छौँ । यही समयको गतिले नै जीवन दिएको छ र यही जीवनमा हाम्रा अस्तित्व पनि जोडिएर आएका छन् । निरन्तर चलिरहने समयको प्रवाहमा हामी बगे पनि नबगे पनि समय चलि नै रहन्छ । हामी सोच्छौं समय हाम्रो अनुकूल होस् तर समय आफ्नै गतिमा चलिरहेको हुन्छ । चलेको समयसँगै स्वयं पनि चल्न सक्नु समयको प्रवाहमा बग्नु हो । अन्यथा हामीलाई किनारमा छोडेर समय अघि बढ्छ । सुख दुःख समयसँगै प्रवाहित भएका छन् । जसरी नदी आफ्नै रफ्तारमा अघि बढ्छन् । त्यसैगरी हाम्रो समयचक्र पनि निरन्तर चलिरहन्छ । कहिले सुख त कहिले दुःख । सुखमा हाँस्दै अनि दुःखमा रुदै जे भए पनि समय निरन्तर अघि बढि नै रहन्छ । यस्तै समयचक्रको एक फन्को पुगेपछि वर्ष दिन हुन्छ र नयाँ वर्ष हामी मनाउने गर्दछौँ ।

हाम्रो समय गणना एक अर्ब पञ्चानब्बे करोड अन्ठाउन्न लाख पचासी हजार एक सय चौबीस वर्ष (विसं २०८० सम्म) पूर्वदेखिको विद्यमान छ । यसभन्दा पहिलेको समय गणना पनि प्रत्यक्ष गणित शास्त्रमा उल्लेख छ । यसरी समय गणनामा सूर्यलाई आधार मानिन्छ । सूर्यले १२ राशि अर्थात् ३६० अंश पार गरेपछि एक वर्ष व्यतीत हुन्छ । सूर्य पुनः अर्को भगण (१२ राशिको एक भगण हुन्छ) मा आरोहण गर्न लागेको समयबाट नयाँ वर्ष मनाउने गरिन्छ । अर्थात् सूर्य मेष राशिमा संक्रमित भएको दिनबाट नयाँ वर्षको आरम्भ हुन्छ । यो व्यवहार सिद्धिका निम्ति गणना प्रक्रियालाई सहज तुल्याउन अवलम्बन गरिएको सिद्धान्त हो ।

समय सकिएपछि व्यक्तिको प्रभावमा पनि कमी आउँछ । महाभारतको कथामा भगवान् श्रीकृष्णको स्वधाम गमनपछि अर्जुनले भिल्लसँग युद्ध हार्नुपरेको थियो । अर्जुनको वीरताको शक्ति पनि निश्चित थियो । युद्ध समापनसँगै क्रमशः पाण्डवका अस्त्रशस्त्रमा पनि शक्ति कम हुँदै जानथालेको थियो ।

परिकल्पित समयरेखालाई आधार मानेर विभिन्न चाडपर्व मनाइन्छन् । यसवर्ष पनि सूर्यले नयाँ चक्रको आरम्भ गरिसकेका छन् । मेषराशिमा सूर्य संक्रमित भएको समयबाट नयाँ वर्ष मनाउने गरिन्छ । यो सौर नयाँ वर्ष हो । चान्द्रमानमा चैत्रशुक्ल प्रतिपदाबाट नयाँ वर्षको आरम्भ हुन्छ । जुन समयबाट संवत्सर नयाँ फेरिन्छ । यसवर्ष पनि पिङ्गल नामको संवत्सर आरम्भ भयो र शकसंवत् पनि १९४५ आरम्भ भएको छ । विशेषतः नेपाली परिवेशमा वैशाख संक्रान्तिबाट नयाँ वर्ष उल्लासपूर्व मनाइन्छ ।

कालचक्रसँगै गतिशील समयले परिवर्तनका पालुवा छोडि नै रहेको हुन्छ । कतिपय देखिन्छन् त कतिपय लुप्तप्राय नै रहन्छन् । फेरिएको प्रत्यक्ष आँखाले देख्दा हामी परिवर्तनको महसुस गर्दछौँ र नफेरिँदा यथास्थितिको । वास्तवमा हरेक क्षण परिवर्तन भइरहेको हुन्छ । यही परिवर्तनले नै संसार चलिरहेको छ । हाम्रा सोच, भावना र विचामा पनि निरन्तर परिवर्तन भइरहन्छ । यही परिवर्तनको संकेतस्वरूप नयाँ वर्ष मनाउने गरिन्छ । नयाँ वर्ष लाग्नु नियमित प्रक्रिया हो । नयाँ वर्षसँगै जीवनले पनि नयाँ मोड लिइरहेको हुन्छ । कति सकारात्मक मोड लिन सक्यो यो नै नयाँ वर्षको उपलब्धि रहन सक्छ । अन्यथा हरक्षण नै नयाँ भइरहेको हुन्छ ।

सार्थक र समुन्नत जीवनका निम्ति यस्ता विशेषताले थप ऊर्जा प्रदान गर्दछन् । जीवन र जगत्लाई सुखद् र संस्मरणयोग्य बनाउन यस्ता समयलाई पर्वका रूपमा मनाउने गरिन्छ । विशेषतः धर्मशास्त्रमा पनि दान पुण्यका कार्य गर्न निर्देश दिइएको छ । वर्षफल श्रवण, संक्रान्तिफल श्रवण पनि यस अवसरमा गरिन्छ । वसन्त ऋतुको पावन समयसँगै जीवन र जगत्मा पनि नयाँ पालुवा पलाउन सकून् भन्ने कामना यस अवसरमा गरिन्छ । शुभकामना उन्नतिको ऊर्जा हो । सकारात्मक ऊर्जाका निम्ति शुभकामना आदानप्रदान गरिन्छ । नयाँ सङ्कल्प नयाँ वर्षसँगै हुने गर्दछन् ।

गतिशील समयको प्रवाहलाई पहिल्याउनेले नै जीवन सार्थक तुल्याउन सक्छन् । वर्तमानको समयलाई चिन्न र सोही आधारमा चल्न सक्नु नै सर्वकल्याणको मार्ग अवलम्बन गर्नु हो । वितेको समय पुनः फर्किएर आउँदैन । पैसा सकियो वा हरायो भने निरन्तर उद्यम नगर्नाले धन कमाउन सकिन्छ । धनलाई उद्यमको माध्यमले पुनः आर्जन गर्न सकिन्छ । ज्ञान पनि अभ्यासद्वारा पुनः प्राप्त हुनसक्छ । बिरामी भई उपचार गरेर आरोग्यता प्राप्त गर्न सकिन्छ । तर, समय नष्ट भयो भने त्यो पुनः प्राप्त हुँदैन । अर्थात् बितेको समय पुनः प्राप्त गर्न सकिँदैन । समयलाई समाउन सक्ने सामथ्र्य हामीमा छैन ।

नयाँ वर्षसँगै नयाँ सङ्कल्पमा अघि बढ्न सक्ने जीवन नै सार्थक र समुन्नत हुन्छ । वर्तमानलाई चिन्न सक्ने मान्छेले भविष्यलाई पनि सजिलो तुल्याउन सक्छन् । यसैले आजको युगअनुकूल चल्न सक्नुपर्दछ । जुन नयाँवर्षको सन्देश पनि हो ।

यसैले समयको गतिअनुसार नै चल्न सक्नुपर्दछ । व्यर्थमा समय खेर गयो भने यो चिन्ताको विषय हुन सक्नुपर्दछ । आजको आवश्यकता र परिस्थितिलाई विश्लेषण गर्नसक्नु पर्दछ । संसारमा जति पनि आविष्कार भएका छन् ती समयको मागलाई नै पूर्ति गर्नका निम्ति भएका छन् । यसैले परिवर्तित परिवेशसँग हिँड्न सक्नुपर्दछ । आजको युग र युगले मागेका कुरा पूरा गर्न सक्नुपर्दछ । यसैमा सबैको कल्याण रहन्छ । किनकि समय बलवान् हुन्छ । समयमा भए गरेका कार्य प्रभावकारी हुन्छन् । समय बितेपछि गरेको कार्यको कुनै अर्थ रहँदैन । उचित समय र प्रसङ्गमा बोलेको कुरामात्र सर्वग्रहृय हुन्छ । अनुचित समयमा बृहस्पतिले नै बोले भने त्यो उपेक्षाको विषय रहनसक्छ ।

समय सकिएपछि व्यक्तिको प्रभावमा पनि कमी आउँछ । महाभारतको कथामा भगवान् श्रीकृष्णको स्वधाम गमनपछि अर्जुनले भिल्लसँग युद्ध हार्नु परेको थियो । अर्जुनको वीरताको शक्ति पनि निश्चित थियो । युद्ध समापनसँगै क्रमशः पाण्डवका अस्त्रशस्त्रमा पनि शक्ति कम हुँदै जानथालेको कुरा सबैले अनुभव गरिरहेका थिए । निश्चित समय सकिएपछि अर्जुमा उक्त शक्ति सकिएर गयो । अर्जुको तेजमा ह्रास आएको देखेर नै युधिष्ठिरले महाप्रस्थानको यात्रा तय गरेका हुन् । अबको समय हाम्रो होइन अब राज्य छोड्नुपर्छ महाप्रस्थानिक हुनुपर्छ भन्ने युगबोध युधिष्ठिरलाई भयो र सारा राजपाट छोडेर महाप्रथानमा लागे । दिग्विजयी पाण्डवले सामान्य व्यक्तिसँग हारखानु परेको प्रसंगबाट पनि समयको महिमा जान्न सकिन्छ ।

सधैं एउटै खालको समय र उक्त समयले दिने शक्ति सधैं समान हुँदैन । समयमा प्राप्त शक्तिलाई चिन्न र सही सदुपयोग गर्न सक्नुपर्दछ । जसरी महाभारतमा युधिष्ठिरले गरे । आजको समय प्रविधिको हो । यसलाई आत्मसात गर्ने व्यक्ति, संस्था र देशमात्र उन्नतिको पथमा लम्कन सक्छन् । प्रविधिको उच्चतम उपयोगबाट नै अबको समृद्धि सम्भव छ । किनकि आज महिनौं लाग्ने कार्य आजको प्रविधिले क्षणभरमै सम्पादन गर्नसक्छ । प्रविविधलाई चलाउन सकिएन भने यसैको दास बन्नुपर्छ ।

फलस्वरूप हाम्रो उन्नति असम्भव रहन्छ । नयाँ प्राविधिक यन्त्र उपकरणको खोज अनुसन्धन चलिरहेको छ । यसैले आजको व्यक्तिमा प्रविधि पनि सारथी बनिरहेको छ । यो आजको युगधर्म हो । समयको मागअनुसार चल्ने व्यक्तिले नै जीवन सार्थक परिणाम प्राप्त गर्न सक्दछन् । देशमा पनि उन्नतिका निम्ति युगअनुरूप चल्न सक्ने व्यक्तिको आज आवश्यकता छ । देशविकासमा नवीन आयाम थप्नका निम्ति उन्नतिका पाइला चाल्नका निम्ति अबको नेतृत्वले समयलाई चिन्न सक्नुपर्दछ ।

नयाँ वर्षसँगै नयाँ सङ्कल्पमा अघि बढ्न सक्ने जीवन नै सार्थक र समुन्नत हुन्छ । वर्तमानलाई चिन्न सक्ने मान्छेले भविष्यलाई पनि सजिलो तुल्याउन सक्छन् । यसैले आजको युगअनुकूल चल्न सक्नुपर्दछ । जुन नयाँवर्षको सन्देश पनि हो । निष्ठापूर्वक सत्यको मार्गमा अघिबढ्नु मानव धर्म हो । जुन कुरा नयाँ वर्षसँगै नयाँ प्रकृतिमा आउन सक्नुपर्दछ । प्रकृतिमा पनि वसन्तले नयाँ पालुवा हाल्छन् पुराना पातलाई त्यग्छन् । यसैगरी विगतको चिन्ता नगरी आगतलाई राम्रो बनाउन सक्नुपर्दछ । जसले वर्तमानलाई सुखद् तल्याउँछन् भूत र भविष्य यसै सुखद् बन्छ । यसैले वर्तमानको समय नै हाम्रा लागि महत्वपूर्ण रहन्छ । गतिशील रहनु नै समयमा प्रवाहित हुनु हो । यही गति नै समयचक्र हो । जुन शाश्वत छ । निरन्तर चलिरहन्छ । सत्कार्यमा लागेर सार्थक बन्न सक्नु समयसँगै चल्न सक्नु हो । यस्तै चल्न सक्ने ऊर्जा हामी सबैमा पप्त होस् नयाँ वर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?