मानसिंह डोजो टिम च्याम्पियन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । मनकामना डोजोका सुनील समाल र च्याम्पियन मार्शल आर्टकी निमा तामाङ दोस्रो उमा राष्ट्रिय खुला कराँते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्नुभएको छ । सुनिल र निमा दुवै केजीमुनि तौलसमूहका स्वर्ण विजेता हुनुहुन्छ । चाबहिलस्थित स्मार्ट प्यालेसको हलमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बिहीबार नौ स्पर्धाको फाइनल खेल सञ्चालन भएको थियो । जसमा पुरुषतर्फ ५५ केजीमुनि तौलसमूहमा मनकामना डोजोका सुनिलले च्याम्पियन मार्शल आर्ट्सका अंकित श्रेष्ठलाई फाइनलमा पराजित गर्नुभएको हो । यो स्पर्धामा ऋतम्भरा डोजोका लाक्पा लामा र निमा योञ्जनले कांस्य जित्नुभयो ।

पुरुषकै ५० केजीमुनि तौलसमूहमा मानसिंह डोजोका सुविन सुनारले स्वर्ण जित्दा ऋतम्भरा डोजोका विवेन्द्र तामाङ फाइनलमा पराजित रहनुभयो । च्याम्पियन मार्शल आर्ट्सका अग्रिम मैनाली र नेपाल हायाशी हा डोजोका उमेश नेपालीले कांस्य जित्नुभयो ।
६० केजीमुनि तौलसमूहमा ऋतम्भरा डोजोका डेनिल मोक्तानले नागादेश डोजोका विमल कार्कीलाई पराजित गरी स्वर्ण जित्नुभयो । ज्ञानज्योति स्कुलका अनिश गुरुङ र च्याम्पियन मार्शल आर्ट्सका राजीव खड्काले कांस्य जित्नुभयो ।

६० केजीमाथि खुला स्पर्धामा च्याम्पियन मार्शल आर्ट्सका अनिल बरामले स्वर्ण जित्नुभयो । उहाँले फाइनलमा मनमैंजु डोजोका महेश चापागाईंलाई पराजित गर्नुभएको हो । नेशनल युनाइटेड स्कुलका अनमोल तामाङ र मनमैंजु डोजोका शुभ श्रेष्ठले कांस्य जित्नुभएको हो ।
महिलातर्फ ४५ केजीमुनि तौलसमूहमा मनमैंजु डोजोकी सविना तामाङले फाइनलमा ऋतम्भरा डोजोकी स्वप्निता वाइबालाई पराजित गरी स्वर्ण जित्नुभयो । यो स्पर्धामा नेशनल युनाइटेड स्कुलकी अनुरती कार्की र श्री कालिका शरण स्कुलकी दीपाना तामाङले कांस्य जित्नुभयो ।

५० केजीमुनि तौलसमूहमा मनमैंजु डोजोकी पुष्पका लामाले स्वर्ण जित्नुभयो । उहाँले महिला एकल कातामा मंगलबार पनि स्वर्ण जित्नुभएको थियो । प्रतियोगिताको दोहोरो स्वर्ण जित्ने क्रममा उहाँले ऋतम्भरा डोजोकी रोजी तामाङलाई फाइनलमा हराउनुभयो । च्याम्पियन मार्शल आर्ट्सकी इरा केसी र ठैव डोजोकी संगीता लिम्बूले कांस्य जित्नुभयो ।

दुई दिनसम्म सञ्चालित प्रतियोगितामा १८ स्वर्णका लागि देशभरका १९ डोजोका २५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको पहिलो दिन पुरुष र महिला एकल कातासहित ९ स्वर्णको छिनोफानो भएको थियो ।

प्रतियोगितामा मानसिंह जोडो टिम च्याम्पियन भएको छ । मानसिंहले प्रतियोगितामा चार स्वर्ण, एक रजत र तीन कांस्य जित्यो । त्यस्तै, दुई स्वर्ण, तीन रजत र आठ कांस्य जितेको ऋतम्भरा डोजो टिम द्वितीय भयो भने दुई स्वर्ण र दुई रजत जितेको मनमैंजु डोजो टिम तृतीय भयो ।

प्रतियोगितामा पदक विजेता खेलाडी तथा टिमलाई काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेललगायतले मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगितामा सर्वोत्कृष्ट बनेका दुई खेलाडीलाई आयोजक नेपाल गोजुकाई कराँते डो संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले व्यक्तिगतरूपमा जनही दुई हजार ५०० रुपैयाँ पुरस्कार प्रदान गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?