आफूतिर फर्केर हेर्दा

Read Time = 20 mins

✍️तिलकप्रसाद लुइँटेल

समाज जस्तो छ लेखकले उस्तै कुरा लेख्छ । समाजको सुखदुःख अवरोह, उन्नति, अवनति सबै कुरा कुशल लेखकले समेटेको हुन्छ । साहित्यमा समाजका भौगोलिक प्राकृतिक र वातावरणीय सबै पक्षहरू लेखकले समेट्ने कोसिस गरेको हुन्छ । निश्चित ठाउँमा भएका पशुप्राणी वनस्पति खोलानाला ढुंगामाटो कृषिउत्पादन खनिजपदार्थ यी सबै कुराहरू लेखकको सामथ्र्य अनुसार कृतिमा आएका हुन्छन् । त्यसैले साहित्यलाई समाजको दर्पण भनिएको हो । यद्यपि सबै साहित्यिक कृतिमा यी सबै कुराहरू अटाएकै हुन्छन् भन्ने चाहिँ होइन । कृतिको विषयवस्तु, आयाम र लेखकको लक्ष्य अनुसार निर्धारित हुन्छ ।

असल लेखकले समाजका मानिसको दुःखसुखको कुरामात्र नभएर स्वभाव-प्रकृति समेट्छ । दर्पणले बाहिरी स्वरूप मात्रै देखाउँछ भने साहित्यले भित्री-बाहिरी, भौतिक-आध्यात्मिक दुवै पाटो प्रदर्शित गर्छ, समाजमा रहेका जडचेतनलाई नै उतार्छ । समाजका दुःखसुखको समय, त्यसबाट सुरक्षित रहन गरिएका कर्महरू, परम्परागत चिन्तन्, दर्शन र दृष्टिकोणसमेत समेट्ने हुनाले लेखक साहित्यकारले समाजको शब्दचित्र उतारेको हुन्छ, मनोभाव उतारेको हुन्छ र साहित्य समाजको अनुकृति बनेको हुन्छ । भाषाका माध्यमबाट बाहिरी रूप र भित्री आँत उतार्ने हुनाले साहित्यकार स्रष्टा हो, स्रष्टा अर्थात् ब्रहृमा हो, त्यसैले उसले कविको उपाधि पाउँछ ।

मानिसका जीवनसँग सरोकार रहने सामाजिक पक्षहरू एक समान नभएर फरक हुन्छन् । उसै गरी समाजको उन्नति, वक्ताको संख्या, शैक्षिक स्तर, भौगोलिक विस्तार, स्रष्टाको उपस्थिति, पाठकको घनत्व, साहित्यको भण्डार, व्याकरणको परिमार्जन, आदिका आधारमा सबै भाषा एकसमान हुँदैनन् ।

लेखकले बिनाआधार लेख्न सक्दैन । स्थान विशेषको प्राकृतिक समृद्धि, मानवीय कर्म र आफ्नो बौद्धिक कुशलताको आधारमा उसले लेख्ने हो । रित्तो कोठाभित्र मानिसले जसरी खाना पकाएर खान सक्दैन त्यसरी नै उजाड भूमिमा बसेर हरियालीको दृश्य देख्न पाइँदैन र अवस्था अनुभूत गर्न नपाईकन सम्पन्नताको रचना गर्न सकिँदैन । त्यसका लागि समृद्ध भूमि नै चाहिन्छ । त्यसैले जहाँ जति समृद्धि हुन्छ लेखकको प्रस्तुति पनि त्यहाँ उति नै समृद्ध बन्छ । समृद्ध रचना लेखिएकाले पनि त्यो भूमि समृद्ध थियो भन्ने बुझ्नुपर्छ । लेखकले रचनामा चिन्तन शक्तिका माध्यमबाट विशिष्ट स्थान र त्यहाँका समाजको प्रतिलिपि प्रस्तुत गरेको हुन्छ ।

लेखकले वस्तुगत अवस्थालाई शाब्दिक अवस्थामा रूपान्तरण गरेको हुन्छ । रूपान्तरण र अनुकृति उस्तै उस्तै हुन् । यस कुरालाई माथि पनि बताइयो । संस्कृत वाङ्मयका रचनाकारहरूले पनि उसरी आ–आफ्ना समयका आ–आफ्ना स्थानको यथारूप प्रस्तुत गरेका हुन् । यसलाई देशकाल अनुरूपको प्रस्तुति भन्न सकिन्छ । उनीहरूले जे देखे, त्यसलाई नै आफ्ना कृतिमा प्रस्तुत गर्ने विषयवस्तु बनाए । पुराना वाङ्मयहरू सम्बन्धित स्थानका शब्दचित्र वा रूपान्तरण हुन् । रचनाकारले ती कृतिको रचना गर्दा भाषाका माध्यमबाट तिनै स्थानहरूको अनुकृति उतारेका हुन् ।

प्रकृतिले शारीरिक रूपमा मानिसलाई अत्यन्त निम्छरो र शक्तिहीन बनाएको छ । त्यसलाई परिपूर्ति गर्न भाषाको सामथ्र्य दिएको छ र त्यसकै माध्यमबाट सिक्ने सिकाउने शक्ति दिएको छ । आजका मानिसको अवस्थालाई विचार गर्दा मानिसले नसिके केही पनि जान्दैन र सिकेपछि जान्न केही बाँकी रहँदैन भन्न सकिन्छ । विगत के थियो त्यो थाहा भएन, विगतका दिनचर्यामा फर्केर जान सम्भव पनि छैन । मानिसको सबैभन्दा ठूलो शक्ति भाषा हो । भाषाकै माध्यमबाट सिक्ने जान्ने र सिकाउने जानकारी गराउने काम हुन्छ ।

मानिसका जीवनसँग सरोकार रहने सामाजिक पक्षहरू एक समान नभएर फरक हुन्छन् । उसैगरी समाजको उन्नति, वक्ताको संख्या, शैक्षिक स्तर, भौगोलिक विस्तार, स्रष्टाको उपस्थिति, पाठकको घनत्व, साहित्यको भण्डार, व्याकरणको परिमार्जन, आदिका आधारमा सबै भाषा एकसमान हुँदैनन् । उपर्युक्त आधारमा कुन भाषाको स्थिति के छ भनी तिनको लेख्य साहित्यबाट बुझ्न सकिन्छ । ती कृतिहरूलाई हेर्दा धेरै पाठक भएका समय र स्थानमा अब्बल स्रष्टाहरूले नै ती उच्चस्तरका रचना गरेका हुन् भन्ने मान्न सकिन्छ ।

स्रष्टाको रचनालाई हेर्दा त्यसै स्तरका पाठक पनि थिए भन्न सकिन्छ । रचनकारले पाठकको रुचि र सामथ्र्य हेरेर नै रचना गर्छन् । समाजमा शिक्षाको स्तर र व्यक्तिमा विद्वत्ताको स्थिति अनुसार नै कृतिहरू उत्पन्न हुन्छन् । जति कृति प्रकाशित भए संख्यात्मक रूपमा त्यतिमात्रै मानिसहरू सक्षम र शिक्षित हुँदैनन् । धेरै पाठक र धेरै स्रष्टाका बीचबाट केही उत्कृष्ट अगाडि आउँछन् र उनीहरूकै कृति अगाडि आउँछन् । कृतिको स्तर जस्तो छ, उसै रूपमा कृतिको आयु पनि निर्धारित हुन्छ ।

उनीहरूले लेखेका कुरा पढ्न सक्ने पाठकको संख्या पनि मनग्गे भएको, समाजको उन्नति धेरै उचाइमा त्यसकै बयान गरे, पाठक संख्या धेरै हुनाले धेरै कृति लेखिए । पाठक धेरै हुँदा भौगोलिक क्षेत्र विस्तृत हुने अनुमान स्वतः हुन्छ । संस्कृत भन्ने नामले भाषा व्याकरण पूरै शुद्ध थियो भन्ने स्पष्ट हुन्छ । समाजको सर्वांगीण विकास भाषाको शुद्धता पनि हाराहारीमा हुन सक्छन् । यसरी हेर्दा प्राचीन समयमा यस देशको आध्यात्मिक उन्नति शास्त्रमा देखियो भने भौतिक वा व्यावहारिक जीवनको उन्नति पनि सोही स्तरको थियो भन्ने ठाउँ मनग्गे छ ।

यस्ता कुरा बुझ्न खोज्ने मानिसलाई प्राचीन ग्रन्थ चाहे ती भाषा साहित्यका होऊन्, राजनीति व्यवस्थाका वा धार्मिक विषयकाले खुब सहयोग मिल्छ । ज्ञान विज्ञान, विधि प्रविधि, राज्य व्यवस्था, आर्थिक जीविका, नीति ऐन जस्ता जनजीवनका सबै पाटाहरू समेटेका ग्रन्थहरू संस्कृत भाषामै थिए र ती कृतिहरू अझै पनि छँदै छन् । अध्ययनको चासो हुनेका लागि सामाजिक जीवनका सबै पाटाहरू यसमा सिक्न पाइन्छन् । शिक्षा र साहित्यले उन्नति गरेका समाजमा ती सबै कुरा लिखित रूपमा सुरक्षित रहन्छन् ।

रुखबिरुवाको पुरानो पुस्ता ढलेर नयाँ उम्रन्छ, चराचुरुङ्गी, पशुप्राणीको पनि नयाँ बचेरा जन्मिने र पुराना मर्ने क्रम चलिरहेकै छ । मानिसको पनि उही हो । नयाँ जन्मँदै छ, पुरानो मासिँदै छ । यो प्रकृतिले गरेको पुस्ता परिवर्तन वा रूपान्तरण हो । पुरानो विस्थापित वा अप्रचलित हुँदै जान्छ, नयाँ स्थापित वा प्रचलित हुँदै आउँछ । भाषाको पनि हालत त्यही हो । भाषाको रूप परिवर्तन भएको वा भाषा स्वयं नै रूपान्तरण भएको उदाहरण हामी नेपाली भाषालाई नै लिन सक्छौं । पृथ्वीनारायण शाहका पालाको नेपाली भाषा, भानुभक्तका समयको नेपाली भाषा र आजको नेपाली भाषा यसका उदाहरण हुन् । परिवर्तनका क्रममा एउटा भाषाको रूप परिवर्तन हुँदै त्यही भाषा कालान्तरमा भिन्न आवस्थामा पुगेको पनि देखिन्छ भने कुनै अवस्थामा एक भाषाबाट अन्य धेरै भाषाहरू उत्पन्न हुन्छन् ।

भाषाले रूप परिवर्तन गरिसकेका अवस्थामा मानिस वा अन्य प्राणीका पुस्ता परिवर्तन भइसकेको हुन्छ । अर्थात् लामो समय लागेको हुन्छ । त्यस्तो परिवर्तन एकै दिनमा हुने नभएर क्रमिक रूपले हुन्छ । त्यसैले पुरानो भाषा जान्नेको संख्या बाँकी रहँदैमा नयाँ भाषा बोल्नेको संख्या उदाएको हुन्छ । पुरानो भाषा पनि जान्ने र नयाँ पनि जान्ने भएपछि उसले दुई भाषिक पुस्ताका बीचमा साँघुको काम गर्न सक्छ । वैदिक समाजको भाषासँगै व्यवस्था, वैभव र वस्तुस्थिति सबै व्यासले जानेका थिए । उनले संस्कृतमा त्यसलाई लेखे । वैदिक भाषाको समाजिक प्रयोग कम हुँदै गयो, संस्कृतले व्यापकता पाउँदै आयो ।

त्यो समयमा लेख्ने सामथ्र्य भएका र लिखित सामग्रीलाई पढ्ने क्षमता भएका विद्वान् मनग्गे थिए, त्यसैले संस्कृतमा असीमित ग्रन्थ साहित्य लेखिँदै आएजस्तो समाज थियो, अनेकौं स्रष्टाले उस्तै प्रतिबिम्ब उतार्दै ल्याए । आज नेपाली भाषा साहित्यका नयाँ रचनाहरू पनि समय र समाजको स्वरूप अनुसारले परिवर्तनका अवस्थामा देखिएकै छन् । जुन भाषा जति बलियो र वैज्ञानिक छ, त्यो उसैअनुसार लामो समय बाँच्छ, त्यसको विपरीत पनि उस्तै सत्य छ । यसलाई त्यसरी नै बुझ्न सकिन्छ ।

भाषाले आफू परिवर्तन नभए पनि अरू भाषाहरू तयार गरेको उदाहरणमा हामी संस्कृतमा देख्छौं । संस्कृतबाट उत्पन्न आज विश्वमा प्रचलित अनेकौं भाषाहरू छन् । तिनीहरू संस्कृतबाटै रूप परिवर्तन भएर बनेका हुन् । हिजोआजका मानिसले देशविदेश यात्रा गर्ने हवाई जहाज राइट दाजुभाइले परीक्षण गरेकै अवस्थामा छै । ऊ अनेकौं प्रकारले रूपान्तरित भएको छ र धेरै खालका ढाँचा बनिसकेका छन् । पुस्ता परिवर्तनमा वा रूपान्तरणमा भौतिक वस्तु वा भावको पनि उही रूप रहँदैन । त्यसैले भाषा रूपान्तरण हुनु भनेको पनि पूरै मेटिनु होइन, उसैको रूप जस्ताको तस्तै नरहेर भिन्न बन्नु हो । वैज्ञानिक छ भने भौतिक वस्तु, ज्ञान, चालचलन वा भाषा पनि रूपान्तरित हुँदा पहिलो स्वरूप वा त्यसको प्रभाव हराएर जाँदैन, पहिलो स्वरूप नै हराएर गयो, चलनमा रहेन भने त्यसमा वैज्ञानिकता थिएन र अस्वीकार्य भयो भनेर स्वतः बुझिन्छ ।

सृष्टिको प्रारम्भमा पाँच मौलिक तत्वहरू जति मात्रामा बने, ती त्यति नै हुन् । तिनमा नयाँ छैटौं तत्व थप कसैले गर्न सक्तैन, न घटाएर कम नै गर्न सक्छ । एक ठाउँको पानी सुकेर सकिएको वा अर्का ठाउँमा विविध कारण पानी थपिएर धेरै भएको देखिन्छ ।

परीक्षण कालका हवाईजहाजले धर्ती छोडेर विनाआधार आकाशमा अडिने जुन सिद्धान्त मुख्य थियो, आधुनिक हवाईजहाज पनि त्यसै सिद्धान्तले उडेका हुन् । त्यसरी नै भाषाले पनि उसको मौलिक र आधारभूत सम्बन्ध त्यागेको हुँदैन । विशाल साहित्य रचनाको पनि कुरो त्यस्तै हो । आफ्नै मौलिक साहित्यका जगमा अडिएर नयाँ कृति रचना गर्न खोजियो भने सम्बन्धित समाजको प्राचीनतालाई सम्मान गर्दै लेखकले आफ्नो प्रतिभा देखाउने अवसर पाउँछ । यस वर्ष आएको वैशाख एक गते अर्को वर्ष पूरै उही नआएर उस्तै आउँछ, अर्थात्, यसवर्ष दुई हजार अठहत्तर सालको वैशाख एक गते भयो भने अर्को वर्ष दुई हजार उनासी सालको वैशाख एक गते हुन्छ ।

अघिल्लो वर्षको चैत मासान्त त्याग्ने र भोलिपल्ट वैशाख दुई हुने नियम पोहोर पनि थिए र आघौँ पनि हुन्छन् । अर्थात् समय परिवर्तन हुँदा पनि केही निरन्तर र केही भिन्नता हुन्छ । यी सबै कुराहरू विचार गर्दा नयाँ आउने रचनामा मौलिक रचनाको सम्बन्ध छुटेको पनि हुँदैन तर सबै उही नआएर अनुकृतिमात्रै आएको हुन्छ । सिंगो समाज, सामाजिक परिवेश भाषा र साहित्यको रूपान्तरण पनि उस्तै हो । तपाईं हामीले नदेखे नचाहे पनि संसारको परिवर्तन भइरहेको छ । पुरानाको परिवर्तन होइन, हामी नयाँ तयार गर्छौं भनेर प्रयास गर्दा पनि त्यसो गर्न कसैले सक्तैन । पञ्चतत्वको थपघट हुने होइन, समीकरणमा रूपमा हुन्छ र पहिले नदेखिएका वस्तुको रूप लिन्छ, त्यसलाई नयाँ आविष्कारका रूपमा स्वीकार गरिन्छ । भावको अवस्था पनि उही हो ।

संसारमा कसैले पनि नयाँ वस्तु बनाउन सक्तैन । न कसैले नयाँ ब्रहृमाण्ड बनाउँछ, न चन्द्रसूर्य नयाँ बनाउँछ, न पृथ्वी नयाँ बनाउँछ न पञ्चतत्व नै नयाँ बनाउन सक्छ । आज विज्ञानले बनाएको छ भन्ने लाग्छ भने पनि त्यो पहिलेदेखि भएकै वस्तुको समीकरण र नयाँ संयोजन नै हो । मान्छेले केवल पृथ्वीमा भएका वस्तुलाई यताबाट उता सार्ने, यसमा त्यसलाई मिसाउने आदि गरेर वस्तुको रूप परिवर्तन वा रूपान्तरणमात्रै गर्छ । घामबाट आउने ताप वा अन्य ग्रह नक्षत्रबाट आउने किरण विकिरण कुरो भने फरक होला ।

सृष्टिको प्रारम्भमा पाँच मौलिक तत्वहरू जति मात्रामा बने, ती त्यति नै हुन् । तिनमा नयाँ छैटौँ तत्व थप कसैले गर्न सक्तैन, न घटाएर कम नै गर्न सक्छ । एक ठाउँको पानी सुकेर सकिएको वा अर्का ठाउँमा विविध कारण पानी थपिएर धेरै भएको देखिन्छ भने पनि त्यो पृथ्वीभित्र रहेकै पानी यताबाट उता सरेको हो । त्यसैले पुरानोसँग पटक्कै सम्बन्ध नराखी पूरै नयाँ रूप दिन्छु भने पनि कसै गरे सकिँदैन ।

संसार नै परिवर्तनशील भएपछि समाजको परिवर्तन स्वतः भएकै हुन्छ । हिजोको समाजमा देखिएका कैयौं रीतिरिवाज र परम्पराहरू आज परिवर्तन भइसकेका छन् । भौगोलिक अवस्था, माटो, पानी, तापक्रम, उचाइ र सबै परिवेशको परिवर्तन भएकै हुन्छ । परिर्वतनमा पुरानो रूप सम्पूर्ण हराएको हुँदैन र सबै पुरानै रूप रहेको पनि हुँदैन । कुन वस्तुको परिवर्तन कति हुँदै छ भन्ने हामी तत्काल जान्दैनौं । हिजोभन्दा आज बढ्दै गरेको बालक देखिरहँदा थाहा हुँदैन तर ऊ बढेकै हुन्छ । सजिलैसँग हरेक पलको परिवर्तन सबैले ठम्याएर बताउन पनि सकिँदैन ।

हामीलाई जस्ताको तस्तै छ भन्ने लागे पनि प्रकृतिले गर्ने परिवर्तन गरिरहेकै हुन्छ । त्यसै परिवर्तनसँग मिल्दो गरी साहित्यिक अनुकृतिहरू पनि परिवर्तित हुन्छन् । त्यसो हुनाले स्थावरजंगम, मानवेतर र मानवमा निरन्तर परिवर्तन भइरहन्छ र प्रकृतिले निरन्तर रूपान्तरित अनुकृति निर्माण गरिरहन्छ । ग्रन्थकारले त्यसैलाई लिपिबद्ध गर्दै हुन्छ । समाज सापेक्ष साहित्यको परिवर्तन भनेको पनि त्यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?