इतिहासकै गर्भमा तुहिए ज्यामरुककोटका ऐतिहासिक सम्पदा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 16 mins

म्याग्दी । १७ औं शताब्दीको तत्कालिन पर्वत राज्यको इतिहास नियाल्ने आँखीझ्याल हो ज्यामरुककोट । तर,त्यही ज्यामरुककोट अहिले इतिहास भित्रको इतिहास बनेको छ । यहाँका ऐतिहासिक,सामरिक,पुरातात्विक र प्राकृतिक सम्पदाहरु इतिहासकै गर्भमा तुहिएका छन् ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पर्ने ज्यामरुकोटमा आजभन्दा ८ सय वर्ष पूर्व १२ औं शताब्दीमा वस्ती बसेको इतिहास छ । विसं १२४६ मा धर्मराज थापा यहाँका राजा भएपछि मात्र नाम र पहिचान पाएको ज्यामरुककोट विसं १७४३ मा मलेवम मल्ल पर्वत राज्यका राज भएपछि राजनीतिकरुपमा चर्चामा आएको हो ।

ज्यामरुककोटको इतिहास स्वाभिमान र षडयन्त्रका घटना, दुर्घटनाहरुले कोरिएको छ । मोटरबाटोको सुविधा नहोउन्जेलसम्म म्याग्दीको सदरमुकाम बेनीदेखि ठाडै उकालो हिड्दा कैडा लाउने ठाउँलाई अहिले अपभ्रंस गरी गौडालाउनेको उकालो भनिए जस्तै यहाँका कैयौं घटनालाई अतिरञ्जित गरी अफवाह बनाइएको छ भने वास्तविकतालाई उजिल्याउने प्रयास कहिँ कतैबाट भएको छैन ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पर्ने ज्यामरुकोटमा आजभन्दा ८ सय वर्ष पूर्व १२ औं शताब्दीमा वस्ती बसेको इतिहास छ । विसं १२४६ मा धर्मराज थापा यहाँका राजा भएपछि मात्र नाम र पहिचान पाएको ज्यामरुककोट विसं १७४३ मा मलेवम मल्ल पर्वत राज्यका राज भएपछि राजनीतिकरुपमा चर्चामा आएको हो ।

ज्यामरुककोटका ऐतिहासिक र प्राकृतिक सम्पदाहरु खोज र अनुसन्धानका पारखीलाई पर्खेर बसेका स्थानीय बुद्धिजीवि एवम् अर्जुन मावि भकुण्डेचौरका भूतपूर्व प्रधानाध्यापक तथा हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार ज्यामरुककोटका राजा भर्तिवम मल्ल (मदन पुरस्कार प्राप्त महारानी उपन्यासका उपन्यासकार चन्द्रप्रकाश बानियाँले भर्तिवम मल्ललाई ज्यामरुककोटे राजा मान्नुभएको छैन ।)  को अवसान पछि ज्यामरुककोटका कैयौं ऐतिहासिक दस्तावेजहरु गायव पारिएको छ । भर्तिवम मल्ल पछि राजा मलेवम मल्लका माहिला छोरा अरिमर्दन मल्ल ज्यामरुककोटका राजा भएको र उनी नै ज्यामरुककोटका अन्तिम राजा रहेको मल्ल वंशावलीमा उल्लेख छ ।

ऐतिहासिक सम्पदाहरुको पहिचान र संरक्षण त परको कुरा,ज्यामरुककोटको नामाकरणको बारेमा समेत अझै तथ्य पत्ता लगाउन नसकिएको यहाँका बुद्धिजीविहरुको भनाइ रहेको छ ।

 

ज्यामरुककोटको इतिहास कोठेसाँघुदेखि रानिवास, कुरिलाखर्क, बेनीकोत, बेनी शिवालय, लुङ्दी,निरयघाट,डिम्मरा, कैडालाउनी (गौडालाउनी),सात्लेपानी, सल्लेरी, फूलपाती डाँडो, भकिम्लीको डोले,स्वर्गाश्रम,बेलढुंगा,ठूलोखोला,कन्थराजथान,गौश्वारा,माझकोट लगाएतका ठाउँहरुसँग जोडिएको छ ।

यी मध्ये कुरिलाखर्कको महारानी थान र बेनी शिवालय बाहेक अरु ठाउँको बारेमा खोज अनुसन्धान हुन नसकेको खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो । “सामरिक रुपले पर्वत राज्यको महत्वपूर्ण गढ मानिएको ज्यामरुककोटका ऐतिहासिक सम्पदाहरु नासिनु र भएका सम्पदाहरुको संरक्षणमा समेत तीन तहका सरकारले चासो नदिनु निकै दुःखको कुरा हो” अध्यक्ष घिमिरेले भन्नुभयो “सरकारले चासो नदिए पनि हामीले हाम्रा सम्पदाहरुको पहिचान गरी संरक्षण गर्ने प्रयास भने गरेका छौं ।”

ऐतिहासिक सम्पदाहरुको पहिचान र संरक्षण त परको कुरा,ज्यामरुककोटको नामाकरणको बारेमा समेत अझै तथ्य पत्ता लगाउन नसकिएको यहाँका बुद्धिजीविहरुको भनाइ रहेको छ ।

कसैले जम्मुरुख हुँदै ज्यामरुक भएको भन्दछन् भने कसैले ज्यामरुङबाट अपभ्रंसभई ज्यामरुक रहन गएको भनेर अथ्र्याउने गर्दछन् । सोमध्वज विष्टद्धारा लिखित “नेपाल गढ” भन्ने पुस्तकमा म्याग्दीमा “ङ” हलन्त लागेका कोटहरुमध्ये दरबाङ,अर्थुङ्गे,मल्कबाङ र ज्यामरुङको नाम उल्लेख गरिएको छ । सोही पुस्तकमा म्याग्दी जिल्लामा भएका कोटहरुको सूचिमा जोङरुक नामाकरण गरिएकोले ज्यामरुङ र जोङरुकबाट अपभ्रंश भइ ज्यामरुककोट नाम रहन गएको लेखिएको छ । तर,जोङरुक नाम कसरी रहन गयो भन्ने कुरा उक्त पुस्तकमा लेखकले खुलाउनुभएको छैन ।

तर, तत्कालिन ज्यामरुककोट गाविसको कार्यालयद्धारा प्रकाशित ‘ज्यामरुककोट ः एक झलक नामक पुस्तकमा जम्मुका रुख भएका ठाउँ भएकोले यस ठाउँलाई ज्यामरुक भनिएको उल्लेख छ । तर,अहिले ज्यामरुककोटमा कतै पनि जम्मुका रुख भेटिदैनन् ।

ज्यामरुककोट एक झलक नामक पुस्तकमा लेखिए अनुसार परापूर्व कालमा पशुपालनका लागि ज्यामरुककोटको भकुण्डे र भीरपानी भन्ने ठाउँमा घाँसका लागि प्रशस्तै जम्मुका रुखहरु रहेका थिए । जम्मु खान आउने मानिसहरुले यस ठाउँलाई “जम्मुका रुख भएको ठाउँ” भनेर चिन्न थाले । कालान्तरमा यस ठाउँलाई जम्मुरुख हुँदै ज्यामरुक भनेर उच्चारण गर्न थालियो । पछि फापरखेत माथिको डाँडा(अहिलेको कोत डाँडा) मा कोत भवन बनाई राज्य गर्न थालिएपछि ज्यामरुककोट भनिएको उल्लेख गरिएको छ ।

अर्को एक किंवदन्तिका अनुसार यस ठाउँको नाम मगर भाषामा राखिएको देखिन आउँछ । मगर भाषामा “ज्या” को अर्थ खानु वा खाएर भन्ने हुन्छ भने “मराङ” को अर्थ खेल्ने वा रमाउन भन्ने हुन्छ । हालको भकुण्डे, फापरखेत, केही समथर पनि रहेकोले चरनको क्षेत्र भएकोले अर्जम भेगका मानिसहरु उक्त क्षेत्रमा खेल्ने, रमाउने, गाईवस्तु चराउने गर्दा उक्त ठाउँलाई खाना खाएर आई खेल्ने ठाउँको रुपमा चिन्न थाले । जसलाई मगर भाषामा “ज्यामराङ” भनियो । यही ज्यामराङ नै कालान्तरमा अपभ्रंश भै ज्यामरुङ–जोङरुक हुँदै ज्यामरुक हुन गएको भन्ने भनाइ छ ।
ज्यामरुककोट नामको नामाकरण कसले र कहिले ग¥यो भन्ने कुरा नै अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन ।

मोहनबहादुर मल्लको ‘पर्वतको इतिहास’ नामक पुस्तकको पुष्ठसंख्या ४४–४५ मा उल्लेख भए अनुसार वि.सं १२४६ मा कालु थापा ताकमका राजा भए । उनीपछि उनका छोराहरु जेठा पुण्कर पुला, माहिला तारापति ताकम र कान्छा धर्मराज ज्यामरुकका राजा भए । उनै धर्मराज नै ज्यामरुकका पहिला राजा थिए भन्ने कुरा मात्र अहिलेसम्म खुल्न आएको घिमिरेले बताउनुभएको छ ।

विसं १५४५ मा समाल शाही वंशी डिम्बबम (दिलीपवम) मल्लले ताकम राज्यमाथि विजय प्राप्त गरेपछि राज्य विस्तार गर्ने क्रममा पुला र ढोलठान पछि ज्यामरुककोटलाई जितेपछि ज्यामरुककोट पनि पर्वत राज्यमा गाभिन पुगेको इतिहासमा उल्लेख छ ।

राजा मलेबल (उनलाई नलैवम पनि भनिन्थ्यो) ले आफ्ना भाइ भर्तिवम (उनलाई भर्दिवम पनि भनिन्थ्यो) लाई ज्यामरुककोटको शासनभार (कजाइ खान) सुम्पेका थिए । पछि मलेवम र भर्तिवम बीच मनोमालिन्य उत्पन्न भई राजा मलेवमले भाइ भर्तिवमलाई ज्यामरुकबाट हटाउन खोज्दा भर्तिवमले “दियां पनि खान्न,धपाया पनि जान्न,ज्यामरुककोट छाड्दिन” भनि अड्डि लिएपछि मलेवमले गुप्त षडयन्त्र गरी भर्तिवमलाई पक्रन पठाए ।
भर्तिवम उनका मित डिल्ली भुजेल सहित भागेर लामगरा (लुङ्दी) मा पुगे । भर्तिवमलाई दाजु मलेवमका सेनाले लामगरामा पक्राउ गरी शिरोच्छेदन गरी मारियो । यसरी उनलाई मारिए पछि उनको शिर कालीगण्डकीमा बगाउँदा माथितर्फ बग्दै गलेश्वर नजिक पुग्यो भन्ने किंवदन्ति रहेको छ ।

राजा मलेवम मल्ललाई गोत्र हत्याको पाप लागि दूध र भात खान लाग्दा रगत र किरा बग्ने भै खान नभएपछि गोत्र हत्याको प्रायश्चित्त गर्न राजा भर्तिवमको शिर ल्याई बेनीमा शिवालय मन्दिर स्थापना गरी राजा मलेवमले पूजा आजा गरेको किंवदन्ति छ । उक्त शिवालय मन्दिरमा अद्यापि पूजा आजा गर्ने गरिन्छ । साथै मलेवमले आफ्ना गुरु प्रेमनिधि पन्तलाई “प्रायश्चित्त प्रदीप” भन्ने पुस्तक लेख्न लगाए । त्यसपछि बल्ल राजा मलेबमलाई शान्ति मिलेको थियो भन्ने मान्यता रहेको छ ।

विसं १८४३ मा बहादुर शाहले तत्कालिक पर्वत राज्यका राजा कीर्तिवम मल्ललाई जितेपछि ज्यामरुककोट पनि विशाल नेपालमा गाभिन पुग्यो । त्यसपछि जिम्मुवाल र नौ मुखियाद्धारा यहाँका राजनैतिक एवम् प्रशासनिक कार्य संचालन हुँदै अहिले स्थानीय सरकारको जिम्मामा आएको छ ।

अहिले ऐतिहासिक ज्यामरुककोटमा धमाधम पूर्वाधार निर्माण भैरहेका छन् तर इतिहास झल्काउने कुनै पनि संरचना निर्माण हुन भने नसकेको पाइएको छ । पाँच सय वर्षको इतिहास रहेको ज्यामरुककोटमा अहिलेसम्म पुरातात्विक महत्वका कुनै पनि संरचनाहरुको संरक्षण र मौलिक स्वरुप नविग्रने गरी पुननिर्माण हुन नसकेका ज्यामकरुककोटका ८९ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

ज्यामरुककोटको खड्गभवानी कोतमा राजा भर्तिवम मल्लले प्रयोग गरेका ९ थान खुँडा र तरवार,एउटा ढाल (फोडिएको अवस्थामा) बाहेका अरु हात हतियारहरु पनि रहेका छैनन् भने तत्कालिन राजदरवार (अहिलेको कोत) को सुरक्षाका लागि बनाएको पर्खालमा प्रयोग गरिएका इट्टा र ढुंगाहरु पनि पहिचान हुन नसकेको खड्गभवानी कोतका पुजारी हरिप्रसाद शर्माले बताउनुभयो ।

“यहाँका ऐतिहासिक सम्पदाहरु नासिदा ज्यामरुककोट नांगो भएको छ,त्यतिधेरै गर्बिलो इतिहास बोकेको ज्यामरुककोटलाई यो ऐतिहासिक ठाउँ हो भनेर चिनाउने कुनै पनि प्रमाणहरु अहिले हामीसँग छैनन्” पुजारी सापकोटाले भन्नुभयो ।

राजा भर्तिवम मल्लका अंगरक्षकहरुले हातहतियार उधाउने बञ्चरेढुंगा अहिले अस्तित्व विहीन छ । भर्तिबम मल्लले पानी खाने गरेको राजकुवा अहिले पुरिने अवस्थामा पुगेकोमा स्थानीय बुद्धिजीवि टीकाबहादुर कार्कीको पहलमा संरक्षणको प्रयास गरिएको भए पनि त्यो प्रयास प्रर्याप्त नभएको पाइएको छ ।

त्यसैगरी राजा र उनका मान्छेहरु शिकार खेल्न जाँदा आराम गर्ने गरेको कैडा लाउनेको चौतारो अवशेषको रुपमा आफ्नो निरिह अस्तित्व प्रदर्शन गरिरहेको भए पनि त्यो चौतारो मर्मत गर्नेतर्फ कसैको ध्यान जान नसकेको स्थानीय बूढापाकाहरुको भनाइरहेको छ ।

“नासिएर गएका सम्पदाहरुलाई फिर्ता ल्याउन नसके पनि यहाँको इतिहाससँग जोडिएका बँचेको प्राकृतिक सम्पदाहरुको पनि संरक्षण हुन नसक्नु ज्यादै दुःखद कुरा हो,इतिहासको संरक्षण गर्न सकिएन भने भोलिको पुस्ताले हामीलाई श्राप्ने छ” स्थानीय बुद्धिजीवि टीकाबहादुर कार्कीले भन्नुभयो ।

बेनी नगरपालिका २ ज्यामरुककोटका वडाअध्यक्ष यामबहादुर कार्कीले अव छिटै नै ज्यामरुककोटका जेष्ठ नागरिक र बुद्धिजीविहरुको एक भेला राखेर यहाँका ऐतिहासिक सम्पदाहरु र तीसँग गासिएका सम्वन्धहरुको जानकारी लिनुका साथै डकुमेन्ट्री र प्रोफाइल तयार गर्ने बताउनुभयो ।

“ज्यामरुककोट ऐतिहासिक ठाउँ हो भन्ने कुरा सबैले मानेकै कुरा हो तर,ज्यामरुककोटका कुनकुन ठाउँमा कस्ता कस्ता ऐतिहासिक घटनाहरु भएका थिए भन्ने कुरा बाहिर आएका छैनन्,अव हामीले ती ऐतिहासिक घटनाका विषयहरुलाई पनि बाहिर ल्याउन आवश्यक छ” वडाअध्यक्ष कार्कीले भन्नुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?