सोम, मङ्गल र बुध परदेशतिर कुद

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 15 mins

उत्तरको विशाल चीन र दक्षिणमा रहेको आधा विश्व जत्रै दुईवटा देशका चेपमा रहेको एउटा सानो देश जसको नाउँ थियो नेपाल । देशमा भएका सबै मान्छे गरिब थिए । वीर पुर्खा, औलादौला प्राकृतिक सम्पदा भए पनि यो देशमा केही दशकदेखि गफाडी, अल्छे, आहारिसे र निकम्मा मात्रै मान्छे देशका हर्ताकर्ता भएका थिए । तिनका हजुरबाका पालाका थोत्रा घरका पनि छाना फेरिएका रहेनछन् । पहाडी देश भएको हुनाले वर्षेनी आउने बाढी, पहिरो, आगलागी आदिबाट देशका आधाजसो मान्छे घरवारविहीन हुँदा पनि मुखिया र उसले भर्ना गरेका पदाधिकारी चाहिँ आफ्नो, आफन्तको मात्रै ख्याल गर्न थालेको देखेर सबै देशवासी मिलेर देशको मुखियालाई अपदस्त गरे ।

मुखियाका घरका मान्छे मूर्ति चोर्न, कालो पदार्थ खान, मन परेका गाउँका केटीको भोगपछि ज्यान लिन, देशमा न कुनै नियम न कुनै कानुन, नियम र मर्यादा सबै कुरा मुखियाका परिवारले मात्रै पाउँथे अरूले त्यो घरका नोकरचाकरकै विरुदावली गाएर बस्नुपर्ने भएपछि सारा गाउँले आजित भएर मुखिया फेर्ने काममा एकत्रित भएथे । गाउँका एक थरी त्यो घरका नोकर चाकर बन्न राजी भएर जो गएका थिए तिनले पनि जनता र मुखियाका बीचमा साँघुभन्दा पर्खालको काम गर्न थालेछन् । गाउँमा लामो समयदेखि गाउँलेका दुःख सुखको ख्याल गर्छौं हामी भनेर केही गाउँलेलाई संगठित गर्न पनि लागेका थिए ।

गाउँमा बस्ने त्यस्तालाई कुनैलाई मुखिया र मुखियाका आसेपासेले ‘भेडाको छाला ओडेर लुकी लुकी हिँड्ने ब्वाँसको प्रवृत्ति अवलम्बन गर्ने उग्रवादी कम्युनिष्ट’ भनेर आरोपित गर्न प्रवृत्त भएथे । अर्को थरीलाई चाहिँ ‘भारतीय विस्तारवादको पुछ्रे नयाँदिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओड्ने’ भनेर साधारण गाउँलेलाई तिनकाप्रति नकारात्मक बिउ छरेका थिए । उग्रवादी भनिएका र परनिर्भर अराष्ट्रियतावादी भनिएका गाउँले एउटा निश्चित शैलीमा एकजुट भएर मुखियाका विरुद्ध सडकमा आए । ५२/५३ दिनको संघर्ष र लडाइँपछि भने गाउँमा परापूर्वकालदेखि चल्दै आएको मुखियातन्त्रका ठाउँमा प्रजातन्त्र स्थापित हुने सुनिश्चित भएथ्यो ।

प्रजातन्त्र आएपछि सुख, शान्ति र समृद्धितिर देश जानुपर्ने थियो तर आज देश एउटा सानो गाउँमा परिणत भएको छ । गोठाले खेताले दिमाग भएका नित्तान्त वैयक्तिक र पारिवारिक नसनाताका सुखसुविधामा रमाउने आठ-दशजनाले देशमा शासन गरेर बसेका छन् ।

प्रजातन्त्रले काम गर्न थालेको एक दशकपछि फेरि अर्काथरी बन्दुक बोकेर जंगली बन्दुक र सेना गठन गरेर शहर हान्न लागेथे । ब्यारेकका सेना र वनका सेना एक ठाउँमा आए भने त यस गाउँमा प्रजातन्त्र त दीर्घ कालसम्म असम्भव बनेर जान सक्छ भन्ने कुरो गाउँका जनताको भरोसाका केन्द्रका रूपमा विकसित भएका नेताले दुवै बन्दुकलाई मिलाउने काम सुरु गरेथे । विस्तारै त्यस गाउँका सदस्य बढ्दै जान लागेका थिए । खाने लाउने र बस्ने कुराको व्यवस्था थिएन परिवार भने बढेको बढ्यै थिए । जेठो अल्छे थियो कामभन्दा हजुरबा बुढा हजुरर्बका पालाको सम्पन्नताका कुरा गरेर गाउँका केटाकेटीमा आफ्नो प्रभाव जमाउन खोज्थ्यो, यसलाई गाउँलेले कांग्रेस भनेर चिन्दथे ।

माइँलो थियो मभन्दा राम्रो र असल यस पृथ्वीमा नै खोजे पाइँदैन भन्थ्यो तर उसमा डोका न डालाका गफ गर्नेबाहेक अरू कुनै पनि काम गर्ने क्षमता थिएन । यसलाई त्यो गाउँका मान्छे ए : माले भन्थे । छिमेकी पनि त्यस्तै गैबार थिए । कोही जातमा गर्व गर्थे त कोही भात र ठाउँमा गर्व गरेर वल्लापल्ला गाउँका मान्छे बिच्क्याउँथे । पानी पर्ने लक्षण देखिने बेलामा कमिलाका ताँती लागेजस्तै गरी पार्टीका ताँती खुलेका थिए । जनसंख्या नै कुनै न कुनै दलमा लागेको जस्तो लाग्न लागेको थियो । साधारण जनताको अभाव हुन लागेको अनुभव सबैले गर्न थालेथे ।

मुखिया हटेपछि गाउँले आफैं मालिक बने । गाउँका केही टाठाबाठाले गाउँ चलाउने साझा सहमतिको दस्ताबेज भनेर बनाएको विधानमा नै देश र जनतालाई लुटेर खान पाउने व्यवस्था मिलाएछन् । दुई पल्टको आमनिर्वाचन र तीन तहका सरकारका गतिविधिलाई हेर्दा जसलाई गाउँलेले आफ्ना नेता भनेर विश्वास गरे तिनैले गाउँ र गाउँवासीलाई लुटेर खाने विधान बनाएर ‘तँ बाहुन म बाहुन, घरका पैसा कतै नजाऊन्’ सावित गरेछन् । गाउँलेले विश्वास गरेका, लामो समयदेखि गाउँमा स्थापित भएका देशविदेशले पत्याएका गाउँले दलको त यस्तो नियत, क्रियाकलाप देखेपछि रातारात संगठित भएका दल चुनाव जित्न पाएको छैन उपप्रधानमन्त्री बनेर पुलिसका लट्ठीमा पजनी गरेर गाउँका याबत् उत्पादनका स्रोतमा डुँडुलो डुबाउन ठेकेदार, गैरनागरिक साराका सारा गाउँका नायक बनेको पनि देखियो ।

आफ्ना बारीको उत्पादनलाई बेवास्ता गरी परचक्रीबाट कमिसन खाएर देशै टाट पल्टाउन पनि बाँकी राखेनन् । जन्मदैका तीन पात भनेजस्तो विदेशबाट पढेर मुलुकमा आउन नपाउँदै योजना आयोगको सदस्य र केही दिनपछि नै योजना आयोगको उपाध्यक्ष पनि पड्काएर नपुगेर कोही स्वर्णिम अवसरका खोजीमा रविको पुच्छर समात्न पनि पुगे । हिजो राचपौ र शेबदेका स्वार्थ मिलेका बेला अगुल्टाले हिर्काएर निकालेका पुष्कर ओझा र गोविन्दराज जोशीका गोडा ढोग्न शेबदे लागे पनि उल्टै जोशीले लोप्पा खुवाएका कुरामा ध्यान नदिए पनि जोशी र रामचन्द्र पौडेलको सेप लागेर पन्पन नपाएको गोविन्द भट्टराई भन्ने श्रीखण्डका वृक्षलाई तनहूँवासीले कस्तो न्याय दिन्छन् हेर्न बाँकी छ ।

अर्काका लहैलहैमा लाग्ने, विवेक नभएका र आग्रहीले श्रीखण्डको मूल्य नबुझ्न सक्छन् किनभने गधालाई श्रीखण्डको भारी बोकाउनु र जाँताको भारी बोकाउनुमा फरक नपर्न सक्छ । यो उपनिर्वाचनले तनहूँवासीको बौद्धिकता र विवेक विचारको परिणाम प्रदर्शन गर्नेछ । दलका चुनावमा व्यक्तिको भन्दा दलको नै महिमा बढी भए पनि कतै नभएको जात्रा हाँडी गाउँमा भनेजस्तो सठबन्धन र स्वार्थबन्धनमा बाँधिएको गठबन्धने शैलीको पशु चुनावलाई मतदाताले बुद्धि पुर्‍याउलान् भनेर पनि आस गर्न चाहिँ सकिँदैन । निरस्तपादपे देशे एरण्डोऽपि द्रुमायते सठबन्धने चुनावले नै पनि गोविन्द भट्टराई जितेर आए गाउँलेमा विवेकको बत्ती निभेको रहेनछ भन्ने सानो झिल्को देखिन्थ्यो ।

प्रजातन्त्र आएपछि सुख, शान्ति र समृद्धितिर देश जानुपर्ने थियो तर आज देश एउटा सानो गाउँमा परिणत भएको छ । गोठाले खेताले दिमाग भएका नित्तान्त वैयक्तिक र पारिवारिक नसनाताका सुखसुविधामा रमाउने आठ-दशजनाले देशमा शासन गरेर बसेका छन् । प्रजातन्त्रलाई स्वार्थतन्त्र, कानुनलाई कानो गतिशीलतालाई खोरण्डो बनाएर दिनदहाडै जनता लुटिँदा पनि सरकारमा बसेकाहरू मिटर ब्याज उठाउनेलाई नै संरक्षण गरेर बसेका छन् । फागुन एक गते ‘जनताहत्या दिवस’ मनाउने सरकारले कसरी मिटरब्याजीलाई कार्बाही गरोस् । सजातिको हत्या कसैले गर्छ र ? पाँच सय रुपैयाँ दिएर पचास हजारको कागज र पचास लाख असुल गरेका कुराले पनि यो देशका न राजनीतिक दल न त सरकार, न त कुनै कानुनी निकायलाई छोयो ।

केही विद्युतीय सञ्चारले चर्को स्वरमा ती मिटरब्याजीको पीडाको अनुहार देखाएर कर्तव्य पूरा गरे । खोइ नेपालका अभियन्ता ? खोइ नेपाली नागरिक समाज ? खोइ नेपाली बौद्धिक समुदाय ? कसले लियो यो सोह्रौं शताब्दीको पाशविक व्यवहारका विरुद्धको आवाज उठाउने जिम्मा लियो ? आजका नेपालीका शरीरमा रगत बगेको छ कि पानी ? भ्रष्टाचरण नै गायत्री मन्त्र भयो ? सत्ताशक्ति र जालझेल नै पुनित कर्तव्य बनाइसके ? यो देशका ब्वाँसाको चरित्र भएका राजनीतिक पार्टीका सभापतिहरूले ? किन साधारण जनता हातमा राँको बोकेर यो बेथिति र मनपरीका विरुद्ध सडकमा आउँदैनन् ?

मेचीदेखि महाकालीसम्मका काम गर्न सक्ने हातहरू भारत, खाडी देश अरब देशतिर किन पलायन भएका ? अब सबै यहीँ बसेर ज्यादती र विवेकहीनतालाई सदाका लागि फाल्न सडकमा आउनुपर्छ । लोभी पाखण्डीले कुराउनी कुहाएझैँ बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई नै यिनले बद्नाम गराए ।

मेचीदेखि महाकालीसम्मका काम गर्न सक्ने हातहरू भारत, खाडी देश, अरब देशतिर किन पलायन भएका ? अब सबै यहीँ बसेर यो ज्यादती र विवेकहीनतालाई सदाका लागि फाल्न सडकमा आउनुपर्छ । लोभी पाखण्डीले कुराउनी कुहाए झैँ बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई नै यिनले बद्नाम गराए । अतः अब जनताबाट यी दण्डित हुनैपर्छ । हुन त जनता पनि चुनावका बेला दुई-चार हजार नगद र एक गिलास ठर्रा अनि दुई चोक्टा मासुमा बिक्री हुने गर्छन् । तिनले के हिम्मत देखाउलान् र ? जनता जगाउन दल नै चाहिन्छ दलका तरुण पनि र बुढापुराना पनि विवेकहीन भएर खेरजान लागे । सबै कानै चिरेका कसको विश्वास गर्ने ?

यही हो क्यारे विनासकाले विपरीत बुद्धिः भनेको । बहुदलीय व्यवस्थामा जनता सचेत र राजनीति मूल्यपद्धतिबद्ध हुनुपर्छ । नेपालमा बिगार्न होडबाजी चल्यो तर सपार्न कोही अघि सरेनन् । सबैभन्दा पुरानो र देशलाई नवप्रवर्तनका निमित्त पटक-पटक नेतृत्व गरेको कांग्रेस अकर्मण्य, खिचातानी, ग्रुपिजम, आर्थिक भ्रष्टाचार लगायत निकम्मापनले भरिएको नेतृत्वमा परेर कामै नलाग्ने गरी इच्छाशक्ति नै गुमाएको अवस्थामा छ । अब यसले लाख प्रयत्न गरे पनि यही नेतृत्व रहँदासम्म वरको सिन्को पर सार्न पनि जनताले विश्वास गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।

एमाले दम्भी, सनकी, आहारिसे र आफ्नाका आङको भैंसी नदेख्ने अर्काका आङको जुम्रो पनि देख्ने र भ्रष्टाचारलाई नै शिष्टाचार हो भनेर लाजै पचाएर बोल्ने नेताका चंगुलमा जकडिएर अरू निकम्मा बन्न लागेको देख्दा देशका संकटका दिन अझै आउँछन् कि भन्ने लख काट्न सकिन्छ । मधेसवादी र अन्य कुनै पनि दल मौकाको चौका दाउ छोप्ने मात्रै हुन् यिनको कुनै राजनीतिक दर्शन, विचार, आचरण र एजेण्डा नै देखिएको छैन । माओवादी पनि सत्तामा सती जान र तोडफोड गरेर पनि सत्ता लिन जे पनि गर्ने हत्या, हिंसा र उग्रता बोकेका केही निहित स्वार्थीको झुण्डमात्रै रहेछ । अतः जनता अब सोम, मङ्गल र बुध परिवार पाल्न विदेशतिर कुद् भनेर लर्को लाग्न थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 Comment
  1. पुराना मुखियाहरू गए, नया उदाए । गोविन्द भट्टराईहरूका विरुद्धमै स्वर्णिमहरू उर्लिने रहेछन् । यस्तै नियति हामीले भोग्दै जानु पर्ने भयो ।
    विसंगतिहरूको हिम्मतिलो चिरफार भएको पठनीय लेख ।

  2. खोइ नेपालका अभियन्ता ? खोइ नेपाली नागरिक समाज ? खोइ नेपाली बौद्धिक समुदाय ? कसले लियो यो सोह्रौं शताब्दीको पाशविक व्यवहारका विरुद्धको आवाज उठाउने जिम्मा लियो ? आजका नेपालीका शरीरमा रगत बगेको छ कि पानी ? भ्रष्टाचरण नै गायत्री मन्त्र भयो ? सत्ताशक्ति र जालझेल नै पुनित कर्तव्य बनाइसके ? यो देशका ब्वाँसाको चरित्र भएका राजनीतिक पार्टीका सभापतिहरूले ? किन साधारण जनता हातमा राँको बोकेर यो बेथिति र मनपरीका विरुद्ध सडकमा आउँदैनन् ?

रिलेटेड न्युज

छुटाउनुभयो कि ?