देशको अस्तित्व रहन्छ कि रहँदैन भन्ने अवस्था छ : प्रकाण्ड

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले देशको अस्तित्व संकटमा पर्न लागेको बताउनुभएको छ ।

बिहीवार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वकर्माले देश असाध्यै संकटपूर्ण अवस्थामा रहेको बताउनु भयो । उहाँले देशको अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताउनु भयो । उहाँले एमसीसी प्रोजेक्ट देशको बिरुद्धमा केन्द्रित रहेको र भारतीयहरुले सीमाना मिचिरहेको भन्दै देशको स्वाधिनतामाथि नै प्रश्न उठेको बताउनु भयो । उहाँले विश्वका शक्ति राष्ट्रहरुको संघर्ष दुश्मनीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्नुभयो । प्रवक्ता विश्वकर्माले अमेरिका र चीनबिचको अन्तरबिरोधलाई नेपालले ठिक ढंगले विश्लेषण गर्न नसके नेपाल युक्रेनको अवस्थामा पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘देश असाध्यै संकटपूर्ण घडीमा छ । यतिधेरै संकट देशको जीवनमा कहिल्यै पनि आएको थिएन । पञ्चायती व्यवस्थामा पनि यत्ति संकट आएको थिएन । त्यसका आफ्नै प्रकृतिका संकट थिए । ०४६ देखि ०६३ सम्म आउँदा पनि यति संकट आएको थिएन । यद्यपी संसदीय प्रतिक्रियावादी व्यवस्था थियो त्यो । एमसीसी जस्ता डरलाग्दा अमेरिकी प्रोजेक्ट पनि हाम्रा बिरुद्ध केन्द्रित छन् । सिमाना मिच्ने भारतीय साम्राज्यवादीहरुको एकपछि अर्को हर्कत बढी नै राखेको छ । देशको स्वाधिनता के हुने ? हाम्रो देशको अस्तित्व रहन्छ कि रहँदैन भन्ने छ । अहिलेको विश्वको ट्रेन्ड हेर्नुभयो भने पावर र सुपर पावरहरु बीचको संघर्ष, अन्र्तविरोध दुश्मनीपूर्ण ठाउँमा पुगेको छ । त्यो भनेको निल्ने र निलाइपाउने प्रक्रिया अगाडी बढ्छ । अमेरिका र चीन बीचको अन्तबिरोध जुन ठाउँमा जान खोजेको छ, नेपालका शासक वर्गहरुले ठिक ढंगले त्यसको विश्लेषण गर्न सकेनन् भने र ठिक ढंगले डिल गर्न सकेनन् भने नेपाल अर्को युक्रेन हुँदैन भन्न सकिने स्थिति छैन ।’

प्रवक्ता विश्वकर्माले अहिलेको राजनीतिमा विचार, नीति, सिद्धान्त र नैतिकताको कुनै प्रश्न नरहेको बताउनुभयो । राजनीति केवल सत्ता र कुर्सिको निम्ति गरिने षड्यन्त्रमुलक खेलको रुपमा स्थापित हुन पुगेको उहाँले बताउनुभयो । उहाँले सत्ता र कुर्सिको स्वार्थको निम्ति विदेशी शक्तिहरुसँग सौदाबाजी भइरहेको उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो – ‘राजनीति भनेको सत्ता र कुर्सिको निम्ति फोहोरीभन्दा फोहोरी, षड्यन्त्रमुलक खेल गर्ने हो भन्ने स्थापित छ । कुनै विचारको प्रश्न मुख्य छैन । राजनीतिको प्रश्न मुख्य छैन । सिद्धान्तको प्रश्न मुख्य छैन । नीति, नैतिकता, संस्कारको प्रश्न मुख्य छैन । जसरी पनि कुर्सि, जसरी पनि सत्ता भन्ने दलाल पुँजिवादको चरित्र जो छ यसले आफ्नो सत्ता स्वार्थ र कुर्सी स्वार्थको निम्ति विदेशी शक्तिहरुसँग ठूलठूला सौदाबाजी देश र जनताका बिरुद्धमा गर्ने र देशभित्र एकपछि अर्को जनताका बिरुद्ध अपराध गर्ने र अस्थिरताको खेल गर्ने डरलाग्दो स्थिति छ ।’

पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा वैशाख ९ गते आफ्नो पार्टीले काठमाडौंको खुलामञ्चमा कार्यक्रम गर्ने बताउनु भयो । कार्यक्रममा देशका कम्युनिष्ट तथा वामपन्थी १० वटा राजनीतिक पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने उहाँले जानकारी दिनुभयो । करिव १५ हजार मानिसहरुको सहभागिता हुने सो कार्यक्रममा शिर्ष पार्टीका नेताहरुलाई समेत निमन्त्रण गरिएको उहाँले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?