नेपाल यू-१५ मिक्स टिम इभेन्ट्सको फाइनलमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तर्गत यू-१५ मिक्स टिम इभेन्ट्समा नेपाल र श्रीलंका फाइनलमा प्रवेश गरेका छन् ।

हचोकस्थित एपिएफको कभर्डहलमा भएको खेलमा यू-१५ तर्फ बंगलादेश र नेपालबीच भएको खेलमा नेपालले ३-२ को जित हात पार्दै फाइनलमा स्थान पक्का गर्‍यो । पहिलो सेटमा बंगलादेशका मोस्तकिम होसेनले नेपालका सुविन श्रेष्ठलाई २१-७, २१-१० ले पराजित गर्नुभयो । दोस्रो सेटमा नेपालकी रिहाना शेरचनले बंगलादेशकी अफिफा खान अरिनलाई २१-१६, २१-१५ ले पराजित गर्दै खेललाई १-१ को बराबरीमा ल्याउनुभयो । यस्तै, तेस्रो सेटमा मोस्तकिम होसेन र वाली उल्लाहको जोडीले सूर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१-११, २१-११ ले पराजित गर्दै खेललाई आफ्नो पक्षमा पार्दै बंगलादेशले २-१ को अवस्थामा पुर्‍यायो ।

पुनः नेपालका दिलाशा राना र रिहाना शेरचनको जोडीले अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१-१६, २२-२० ले पराजित गर्दै खेललाई २-२ को बराबरीमा पुर्‍याउनुभयो । अन्तिम तथा निर्णायक खेलमा नेपालका सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले बंगलादेशका मोस्तकिम होसेन र तान्जिला महमुदको जोडीलाई २१-१५, २०-२२, २१-१३ ले पराजित गर्दै फाइनलमा स्थान बनाउनुभयो ।

अब नेपालले उपाधिका लागि श्रीलंकाको सामना गर्ने भएको छ । प्रतियोगिताको फाइनल आइतबार ९ बजे बाट सुरु हुने कार्यक्रम रहेको छ ।
अर्को खेलमा भुटान र श्रीलंकाबीच भएको खेलमा श्रीलंकाले ३-० को जितका साथ फाइनल पक्का गरेको छ । श्रीलंकाका केनेथ अरुग्गोडाले भुटानका पेमा तेन्जिनलाई २१-६, २१-७ ले, सिथुली रनसिंघेले यांगचेन डोलकरलाई २१-८, २१-८ ले र केनेथ अरुग्गोडा र सेनुथ सेथमिथा पेरेराले पेमा तेन्जिन र सोनाम फुन्छो छेतेनलाई २१-९, २१-११ ले पराजित गर्दै फाइन प्रवेश गर्नुभएको हो ।

च्याम्पियनसिपको दोस्रो दिन भएको यू-१७ को खेलमा बंगलादेशले भुटानलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । बंगलादेशका एसएसएम सिफात उल्लाहले भुटानका ङवाङ रिग्सेल जर्मीलाई २१-१२, २१-७, सिनथिन खानोम प्रियुन्तीले कृति गुरुङलाई २१-१८, २१-५ र राजोन मिया र एसएसएम सिफात उल्लाहको जोडीले अभिक बलमपाकी र नवाङ रिग्सेल जर्मी जोडीलाई २१-५, २१-१० ले पराजित गर्नुभएको हो ।

यस्तै, श्रीलंकाले पनि नेपाललाई ३-० ले नै पराजित गर्दै फाइनल प्रवेश गरेको हो । श्रीलंकाका थिदासा वेरागोडाले नेपालका कविर केसीलाई २१-१७, १५-२१, २३-२१, रनिथम लियानागेले रोजी राईलाई २१-५, २१-३ र हिरुका अलुथ पाटबेन्डिगे र थिदासा वेरागोडाको जोडीले कविर केसी र अभय महराको जोडीलाई २१-१८, २१-१७ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?