खुमलटारले मनाङलाई हरायो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । क्यामरुनी फरवार्ड मेसुके ओलोमोउले दुई गोल गरेपछि एफसी खुमलटारले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ-मस्र्याङ्दी क्लबमाथि जित हात पारेको छ । खुमलटारले मनाङमाथि दुई-एकको जित निकालेको हो । मनाङले पाएको पेनाल्टीमा गोल गर्न नसक्दा खेलमा हार बेहोर्नुपर्‍यो । कोफी टिमोथी कोडुले पेनाल्टीमा एक गोल गर्दा अर्काेमा गोल गर्न नसकेपछि मनाङले तीन अंक गुमाएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको १३औँ मिनेटमा मेसुके ओलोमोउको गोलबाट खुमलटारले अग्रता लियो । ५३औँ मिनेटमा टिमोथी कोडुले पेनाल्टीमा गोल गर्दै मनाङलाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । ६१औँ मिनेटमा टिमोथी कोडुले पेनाल्टीमा गोल गर्न सक्नुभएन । टिमोथीको प्रहार पेनाल्टी बारबाट थोरै बाहिरियो ।

इन्जुरी समयको थप गरिएको पाँचौँ मिनेटमा मेसुकेले दोस्रो गोल गर्दै मनाङलाई हार चखाउनुभयो । लिगमा मनाङको यो लगातार चौथो हार हो । यसअघि मनाङ सातदोबाटो, जावलाखेल र आर्मीसँग पराजित भएको थियो । यस जितसँगै खुमलटारले ११ खेलबाट १३ अंक जोडेको छ । पराजित मनाङको ११ खेलबाट १५ अंक छ ।

यस्तै, शहीद स्मारक ‘ए’ डिभिजन लिगको अर्को खेलमा मच्छिन्द्र फुटबल क्लबले च्यासल मैदानमा शनिबार भएको खेलमा फ्रेण्ड्स क्लबलाई दुई-एक गोलअन्तरले पराजित गरेको छ । मच्छिन्द्रको जितमा चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले एक-एक गोल गर्नुभयो । फ्रेण्ड्सका राफिक अमिनुले एक गोल फर्काउनुभयो ।

खेलको ४५औँ मिनेटमा ग्याल्सेनले गोल गर्दै मच्छिन्द्रलाई सुरुवाती अग्रता दिलाउनुभयो । खेलको ६३औँ मिनेटमा देवेन्द्रले गोल गर्दै मच्छिन्द्रलाई दुई-शून्यको अग्रता दिलाउनुभयो । त्यसपछि खेलको ७६औँ मिनेटमा फ्रेण्ड्सका अमिनुले गोल गरे पनि मच्छिन्द्र दुई-एकले विजयी भयो ।

मच्छिन्द्रको यो चौथो जित हो । मच्छिन्द्रले ११ खेलमा १६ अंक जोडेको छ । मच्छिन्द्र छैटौँ स्थानमा रहेको छ । फ्रेण्ड्सले ११ खेलमा ११ अंक जोडेको छ । फ्रेण्ड्स १२औँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?