अभाव लेख्न पनि सजिलो छैन

डा. नारायण चालिसे
Read Time = 11 mins

पूर्वीय सभ्यता र संस्कृतिमा हुर्किएका हामी सधैं सकारात्मक मात्रै सोच्छौँ । हामी भौतिक जीवनका अतिरिक्त आध्यात्मिक जीवनमा पनि उत्तिकै गहिरो विश्वास राख्दछौँ । पूर्वबाट उदाउने सूर्यको उज्यालो जस्तै हामी विचारको उज्यालोले संसारलाई उज्यालो पार्ने हाम्रो लक्ष्य हुन्छ । पारलौकिक जीवनलाई महत्त्वले हेर्ने हाम्रो परम्परामा पश्चिमा सभ्यता र संस्कृति उल्टो जस्तै लाग्दछ । भौगोलिक दृष्टिले दुई धु्रव भएजस्तै विचारको पनि दुई धु्रव भएकाले विचार र व्यवहारमा हामी र पश्चिमाहरूमा ठूलो अन्तर हुने गर्दछ । पूर्वीय हुनुका धेरै गौरवगाथा हामीसँग छन् । हामी भावले, विचारले, व्यवहारले र दृष्टिले पनिपूर्वीय हुनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन ।

भाव र अभावलाई समान दृष्टिले हेर्ने हाम्रो शास्त्रले हामीलाई समदर्शी बन्ने प्रेरणा दिएकैले हामी जस्तोसुकै परिस्थिति र परिवेशमा पनि बाँच्ने हौसला राख्दछौँ । यिनै भाव र अभावका कुराले जीवन सधैं गतिशील बनिरहेको हुन्छ । सामान्य अवस्थामा हुनु, पुगिसरी आउनु, सबै कुराले परिपूर्ण हुनु भावको अवस्था र नहुनु, पुगिसरी नहुनु, भोको वा रित्तो रहनु अभावको अवस्था हो । सरल ढङ्गले बुझेझैँ अभाव सधैं अपूर्णता र भाव सधैं पूर्ण हुन्छ भन्ने कुरा भने होइन । भाव र अभावका तात्पर्यार्थ धेरै छन् । त्यहाँ नहुनु पनि पूर्ण हुनु हो भने हुनु पनि अपूर्ण हुनु हो ।

कतै भरिएको राम्रो कतै रित्तिएको राम्रो । काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यले भरिनु नराम्रो हो । यिनीहरू हुनुभन्दा नहुनु वा अभाव हुनु राम्रो हो । भाव र अभाव दुवै भावार्थ द्योतक छन् र यीदुवै अनुभूतिगत चेतनाको नाम पनि हो । अनुभूतिमा आउने यी कुराहरू मानवीय प्रवृत्ति बोधक नामहरू हुन् । कोही केही नभएरै पनि सन्तुष्ट छन् भने धेरै भएर पनि असन्तुष्ट छन् । माथि सङ्केत गरिएका काम, क्रोध, लोभ, मोह आदिका विविध प्रकार्य रूप चेष्टाले गर्दा मानिस सबै भएर पनि अपूर्ण जस्तो छ भने यी चेष्टाहरू कम हुनेहरू नभएरै पनि पूर्ण जस्ता छन् ।

सारमा भावको अनुपस्थितिलाई अभाव भनिन्छ । भावको एउटा तात्पर्यार्थ सत्ता हो भने सत्ता नहुनु अभाव हुनु हो । अभावलाई सत्ताहीनता पनि भनिन्छ । सायद त्यसैले होला सत्तासीनहरू वा सत्ताकाङ्क्षीहरू अभावसँग डराउँछन् तर अभाव हुनु सर्वत्र सत्ताहीन हुनु होइन । अध्यात्मको दृष्टिले हेर्दा धेरै प्रकारका अभावहरू पछि मात्र मुक्तिको मार्ग खुल्छ । संसार रूपी सागरका यावत् प्रपञ्चहरूको अभावको अवस्था मुक्तिको अवस्था हो । मुक्तिलाई आनन्दको अवस्था मान्नेहरूले संसारका भावहरू मेटिएपछि मात्र आनन्दात्मक अवस्था आउँछ भनेर मान्छन् । तर, भौतिक सत्ताका हिमायतीहरू हरेक प्रकारको भावलाई जीवनको आनन्दसँग जोड्छन् ।

आनन्दका यी भिन्नरूप चेष्टाहरूका आफ्नै महत्व र विशेषताहरू त छन् तर सत्ताभावको जुन रागिलो उन्माद हुन्छ त्यसले धेरै प्रकारका विकृतिहरूलाई प्रश्रय दिइरहेकाले भौतिक अभावको विकराल रूपलाई जन्म दिइरहेको छ । सत्ताको लालसामा फसेकाहरू कुनै पनि प्रकारको अभावसँग तर्सिन्छन् । अभाव र सत्ताधारीहरूका बीच सधैं शत्रुता यस अर्थमा जायज रहेछ तर आश्चर्य ¤ अभाव नै जीवन बनेर रहेकाहरूको नेतृत्वमा आएर सधैं आफूमात्र भाव (सत्तासीन) भइरहने आकाङ्क्षा कतिसम्म जायज कुरा हो । अभाव एक अर्थमा रित्तोपनको अनुभूति हो । अनावश्यक कुराले भरिनुभन्दा रित्तिनु राम्रो हो तर रित्तिनु भनेको माझिनु हो भनेर बुझियो भने त्यो सजिलो होला ।

धेरै मानिसहरू भरिएर मेटिएका छन् भने आधारभूत मानिसहरू अभावले मेटिएका छन् । अभाव लेख्न निश्चय पनि सजिलो छैन । अभावै त छन् धेरै हामीसँग । किन यति धेरै अभावले घेरिएको छ मानिस ? चाहिएका कुरा पनि नहुनु आधारभूत अभाव हो तर नचाहिएका कुरा पनि चाहिएझैँ हुनु वा अभावको अनुभुति हुनु त्यो अघोरीपन हो । हामी अहिले अभावको दुनियामा छौँ । अर्थात् सत्ताहीनता निको नहुने घाउ जस्तो बल्झिइरहन थालेपछि भोका पेटहरू सत्ताको खोजीमा लाग्न थाल्छन् । भोकले खोजेको सत्ता भेटभरिको खाना हो । तर, त्यही उदर पूर्तिको अभियानलाई पनि जब भाववादीको निम्ति बिझाउन थाल्छ अनि विभेदको रेखा कोरिन्छ ।

अभाव भोक बनेर उत्रिन्छ जब त्यसको प्रतिक्रिया अलि कठोर पनि हुन्छ । भोक धेरै प्रकारका छन् र ती भोकका प्रवृत्ति फरक छन् । धेरैका कुरालाई आफ्ना जस्ता ठान्नु र आफ्ना कुरालाई धेरैका जस्ता मान्नु लेखकको क्षमता हो । लेखक हुनु एक अर्थमा सर्वद्रष्टा हुनु पनि हो । प्रायः भुइँमान्छेका कुरा आफ्नै कुरा जस्ता हुँदारहेछन् । आममानिस नै औसत मानिस हो । औसत मानिसलाई बिर्सेर हिँडेको वर्तमान समयका कुरा धेरै नै कठोर छन् । भोको पेटले स्वीकारेको सत्यका सामु अन्य धेरै सत्य पराजित हुन्छन् । भोक नै सबैभन्दा अग्लो अस्तित्वको शिखर बनेर उभिएपछि अन्य धेरै काल्पनिक उचाइहरूलाई कठोर समयले दण्ड दिन्छ ।

मूल्यको अभाव, मान्यताको अभाव, सिद्धान्त, दर्शन र विचारको अभाव वर्तमानको सबैभन्दा ठूलो दुर्घटना हो । एकपछि अर्को गर्दै मूल्यहरू खस्किँदै जानु, विश्वास भत्किँदै जानु मान्यताहरू फेरिँदै जानु, सिद्धान्तमा विचलन आउनु, विचारको स्खलन हुँदै जानु र फगत् सत्ताको उन्मादले शासकहरू लठ्ठिँदै जानु निश्चय पनि अभावको चुडान्त रूप हो । हुनुपर्ने कुरा नभएर अरू नै कुरा हुनु पनि एकप्रकारको अभाव हो । अझ भनौँ गम्भीर अभाव हो । आस्थाको अभाव सबैभन्दा गम्भीर अभाव हो । तर, यसका पछिको अन्तर्य चेतनाले गहन सन्दर्भको खोजी गर्छ ।

खरो भाषामा भन्दा भोकाहरूका कुरा गर्न त्यति उत्साह हुँदैन । रित्ता पेटहरूको कथा केही कारुणिक, केही उत्तेजक, केही अराजक, केही क्रान्तिकारी, केही विद्रोहात्मक पनि हुन्छ । भोको पेटमा वेद पढिँदैन भन्ने हाम्रो लोकोक्ति छ । आश्वासनका पेटारा बाँडेर भोकामाथि शासन गर्ने रमणीय कला जानेका विदुषकहरू सधैं सत्ताको केन्द्रमा रहने यो समयको कथाले कोल्टो फेर्न खोज्दैछ । अविश्वासको थालनी त भइसकेको छ । यसको पूर्ण अनुहार कोरिँदै गइरहेको लाग्दै छ । आफ्ना जस्तै अनुहारभित्र पन्पिइरहेको विद्रोहको नयाँ अनुहारको पटाक्षेप हुने दिन नाटकको पहिलो दृश्य उघारिएको मानिनेछ ।

अब हामी कति धेरै अलोकप्रिय हुँदै छौँ भनेर हेर्ने गहिरा आँखा चाहिएको छ । समयका उज्याला अनुहारहरूका विषयमा लेख्न कलम पनि नतमस्तक हुन्छ तर खाएर नअघाउनेहरूका कुरा घिनलाग्दा छन् ती लेख्न कलमले पनि असजिलो मान्छ । सत्ताको नसा लागेकाहरू प्रायः भोका भेटिन्छन् । भोकको कथा लेख्न रहर गर्ने कलमले पनि त्यस्ता भोकाहरूका कथा लेख्न मान्दैन । अरू धेरैका पेट रित्ता बनाएर पनि नअघाएका नै सत्तानायक रहेको परिस्थितिले आज संसार आक्रान्त छ ।

जताबाट घुमे पनि लेखनको विषय राजनीति र यसले पारेको नकारात्मक प्रभाव नै रहेको यो समय धेरै प्रकारका अभावहरूको केन्द्र नै बनेको छ । रित्तिएको आस्थाको भाँडोमा अब विश्वासको बिरुवा उमार्न सकिएन भने त्यो मरुभूमिका विषयमा भिन्दै कथा रचिँदै जानेछन् र ती कथाको विषय त्यति रुचिकर हुने छैन । इतिहासबाट कालो समयका दुर्दान्त घटनालाई घटाउँदै जान सकियो भने इतिहास थोरै छोटो होला तर नमिठो हुने छैन । समय यसपटक पनि हाम्रो निम्ति गुरु द्रोणाचार्य भएरै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?