वेस्ट इन्डिजमाथि पाकिस्तानको सानदार जित

Read Time = 3 mins

कराँची । पाकिस्तानले दोस्रो ओडिआई खेलमा वेस्ट इन्डिजमाथि १२० रनको सानदार जित हात पारेको छ । जितसँगै तीन ओडिआई खेलको सिरिज पाकिस्तानले एक खेलअगावै जितेको छ । जितका लागि २७६ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३२.२ ओभरमा १५५ रनमा अल आउट भयो ।

वेस्ट इन्डिजका शम्राह बु्रक्सले ५६ बलमा चार चौका र एक छक्कासहित ४६ रन जोड्नुभयो । काइल मेयर्सले २५ बलमा चार चौका र दुई छक्कासहित ३३ रन जोड्नुभयो । त्यसबाहेक शाई होप चार, ब्रेन्डन किंग शून्य, निकोलस पुरन २५, रोभम्यान पावेल १० र अकिल हुसेनले १४ रन जोड्नुभयो ।

पाकिस्तानका मोहम्मद नवाजले १० ओभरमा १९ रन खर्चेर चार विकेट लिनुभयो । मोहम्मद वासिम जुनियरले ४.२ ओभरमा ३४ रन खर्चेर तीन विकेट तथा सादब खानले २ र शाहिन अफ्रिदीले एक विकेट लिनुभयो ।

त्यसअघि मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २७५ रन बनाएको थियो । पाकिस्तानका बाबर आजमले ९३ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ७७ रन बनाउनुभयो ।

ओपनर इमाम उल हकले ७२ बलमा ६ चौकासहित ७२ रन बनाउनुभएपछि पाकिस्तानले विजयी लक्ष्य बनाएको हो । हकको ओडिआईमा यो लगातार छैटौँ अर्धशतक हो । ओडिआईमा लगातार सर्वाधिक अर्धशतक नौ रहेको छ ।

त्यसबाहेक पाकिस्तानका फखर जमान १७, मोहम्मद रिजवान १५, मोहम्मद हरिस ६, सादब र खुशदील शाहले २२-२२ रन थप्नुभएको थियो । वेस्ट इन्डिजका स्पिनर अकिल हुसेनले १० ओभरमा ५२ रन खर्चेर तीन विकेट लिनुभयो । एन्डरसन फिलिप र अल्जारी जोसेफले दुई-दुई विकेट बाँड्नुभयो । पहिलो खेलमा वेस्ट इन्डिज पाँच विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम ओडिआई खेल आइतबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?