इन्टर मिलान र सिटी सेमिफाइनलमा

Read Time = 4 mins

लण्डन । इटालियन क्लब इन्टर मिलान र इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएका छन् । क्वाटरफाइनलको दोस्रो लिगमा पोर्चुगिज क्लब बेन्फिकासँग तीन-तीन गोलको बराबरीमा रोकिए पनि इन्टरले समग्रमा पाँच–तीनको जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । इन्टर पहिलो लिगमा दुई-शून्यले विजयी भएको थियो ।

इन्टरको जितमा निकोला बरेल्ला, लोउटारो मार्टिनेज र जोआक्विन कोरेआले गोल गर्दा बेन्फिकाका फ्रेडरिक अर्सनेस, एन्टोनियो सिल्भा र पिटर मुसाले बराबरी गोल फर्काउनुभएको थियो ।

खेलको १४औँ मिनेटमा बरेल्लाको गोलबाट इन्टरले अग्रता लियो । ३८औँ मिनेटमा फ्रेडरिकले बराबरी गोल फर्काउनुभयो । ६५औँ मिनेटमा लोउटारो मार्टिनेजले पुनः इन्टरलाई अघि बढाउनुभयो । ७८औँ मिनेटमा जोआक्विन कोरेआले गोल गरेपछि इन्टर खेलमा तीन-एकले अघि बढेको थियो ।

तर, इन्टरको अग्रता धेरै बेर टिकेन । ८६औँ मिनेटमा एन्टोनियो सिल्भाले गोल गर्दै खेललाई तीन-दुईको स्थितिमा ल्याउनुभयो भने इन्जुरी समयमा मुसाले गोल गर्दै खेललाई तीन-तीन गोलको बराबरीमा टुंग्याउनुभयो ।

यस जितसँगै सेमिफाइनलमा स्थान पक्का गरेको इन्टरले अब फाइनल प्रवेशका लागि सिरी ‘ए’ प्रतिद्वन्द्वी एसी मिलानसँग प्रतिस्पर्धा गर्नेछ । मिलानले नेपोलीलाई दुई-एकले पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ । सेमिफाइनलको पहिलो लिग ९ मेमा तथा दोस्रो लिग १६ मेमा हुनेछ ।

यता, अर्को खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखलाई बराबरीमा रोक्दै इंग्लिस क्लब म्यानचेस्टर सिटीले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ । क्वाटरफाइनलको दोस्रो लिगमा एक-एक गोलको बराबरीमा रोकिए पनि समग्रमा चार-एकको जितसहित सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो । सिटीले पहिलो लिगमा तीन-शून्यको जित निकालेको थियो ।

सिटीका लागि नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालाण्डले गोल गर्दा घरेलु टोली बायर्नका योसुवा किम्मिखले बराबरी गोल फर्काउनुभयो । अब सिटीले सेमिफाइनलमा १४ पटकको कीर्तिमानी तथा साबिक विजेता स्पेनिस क्लब रियल म्याड्रिडसँग खेल्नेछ । रियलले इंग्लिस क्लब चेल्सीलाई समग्रमा चार-शून्यले पराजित गरी सेमिफाइनलमा पुगिसकेको छ । सेमिफाइनल ९ र १६ मेमा हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?