राजस्व असुली बढाउन अर्थमन्त्रीको निर्देशन

Read Time = 6 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउनुपर्ने बताउनुभएको छ । बिहीबार आन्तरिक राजस्व विभागका प्रमुखहरूको समीक्षा बैठकमा उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले भन्नुभयो, ‘नेपाल सरकारका विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभावकारी ढंगले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ । राजस्व संकलनमा अर्थ मन्त्रालयको अहं भूमिका रहेकाले सबै राजस्व संकलनको जिम्मा अर्थ मन्त्रालयको हो । विभिन्न परिस्थितिजन्य अवस्थाले यसपटक राजस्व निकै कम संकलन हुन गएको हो । गत वर्ष संकलन भएको राजस्वसँग अहिले संकलन भएको राजस्व दाँज्दा पनि हाम्रो प्रगति निकै कम देखियो ।’

राजस्व असुली घट्नुको सम्पूर्ण दोष राजस्वका कर्मचारीको हो भनेर आफूले नभनेको भन्दै उहाँले राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, केही वस्तु आयातमा लगाएको प्रतिबन्ध, पुँजीगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारणले राजस्वमा कमी आएको बताउनुभयो । मन्त्री महतले भन्नुभयो, ‘यी तमाम पावन्दी र समस्याका बाबजुद हाम्रो प्रयासमा अवश्य पनि कमी कतै छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । हामी सबैले इमान्दारितासाथ आ-आफ्नो जिम्मेवारी पूरा गर्नेबाहेक मसँग अर्को कुनै एजेण्डा छैन । तपाईंहरूको कार्य प्रगतिबाटै तपाईंहरूको मूल्यांकन हुन्छ भन्ने कुरामा तपाईंहरू निश्चिन्त हुनुहोस् ।’

काठमाडौंलगायत राज्यका विभिन्न स्थानमा राजस्व संकलन गर्न आन्तरिक राजस्व कार्यालय रहेका र ती राजस्व कार्यालयले राम्रोसँग आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्नुनहुने उहाँले बताउनुभयो । बजारको प्रभावकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनेदिने कार्यको विकास, कर्मचारीमा नैतिकता र इमान्दारिता तथा महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा देखाएका कुरालाई गम्भीरतापूर्वक लिन मन्त्री महतले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘यी सबै कुरा सबै कार्यालय प्रमुखले आत्मसात गरी लक्षित राजस्व असुल गर्ने कार्यमा आजैदेखि तनमनले लाग्नुहुनेछ भन्ने पूर्ण अपेक्षा गरेको छु । समीक्षा प्रतिवेदनले एउटा राजस्व कार्यालयबाट बढी र अर्कोमा थोरै राजस्व संकलन अनुपात देखिन्छ । एकअर्कोमा धेरै फरक अनुपातमा संकलन देखिनुमा के विशिष्ट परिवेश होला ? संकलन दर सबैतिर सामान्यतः एकै प्रकार हुनुपर्ने होइन ? धेरै ठूलो अन्तर किन भइरहेको छ ।’

उहाँले झण्डै ४४ प्रतिशत राजस्व ठूला करदाताबाट आउने गरेकोमा गत वर्षको तुलनामा अहिले ठूला करदाताबाट पनि राजस्व कम संकलन भएको भन्दै कहाँ त्रुटि भएको हो, समीक्षा हुनुपर्ने बताउनुभयो । मन्त्री महतले भन्नुभयो, ‘तथ्यांकलाई तुलना गरेर व्याख्यात्मक विश्लेषण हुन जरुरी छ, समस्या पहिचान हुनुप¥यो, समस्या आउने कारण यी हुन् भनेर विश्लेषणपछि आउने कार्यदिशा तय गर्न जरुरी छ ।’

विश्लेषणपछि नयाँ कार्यदिशा तय गर्न नसकिएमा कर्मकाण्डी समीक्षामात्र हुने र नयाँ काम गर्न नसकिने भन्दै कार्यालय प्रमुखहरूले समस्याको कारण खोजेर बदमासी वा दुरूपयोग भएको देखिए कारबाहीको सिफारिस गर्न उहाँले निर्देशन दिनुभयो ।

मन्त्री महतले भन्नुभयो, ‘पछिल्लो समयमा ठूला व्यावसायिक घराना त्यति धेरै प्रभावित भएका छैनन्, अहिले साना व्यवसायी धेरै प्रभावित छन् । त्यति हुँदा पनि काठमाडौं उपत्यकामा किन राजस्व संकलन लक्ष्यभन्दा कम उठ्छ ? भ्याटमा नक्कली बिलको समस्या आइरहेको छ भनिएको छ, यदि हो भने यो अपराध नै हो, यसलाई गम्भीररूपमा लिनुपर्छ ।’

तीन आर्थिक सल्लाहकार नियुक्त
अर्थमन्त्री डा. महतले विज्ञहरूको सल्लाहकार टिम बनाउनुभएको छ । अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारमा डा. विश्वनाथ पौडेल नियुक्त हुनुभएको छ । पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुनुहुन्छ । त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. पोषराज पाण्डे अन्तर्राष्ट्रिय व्यापारमा दख्खल राख्नुहुन्छ । आर्थिक सल्लाहकारमा नियुक्त हुनुभएका नेपाल राष्ट्र बैंकबाट कार्यकारी निर्देशक डा. गुणाकर भट्ट आर्थिक अनुसन्धान र मौद्रिक नीतिमा विज्ञ मानिनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?