कञ्चनपुरमा ‘रेबिज’ रोगको जोखिम बढ्दै

हिमालय टाइम्स
Read Time = 6 mins

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ । निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेका हुन् । स्यालले घरपालुवा कुकुरलाई टोक्ने र स्यालले टोकेको कुकुर बहुलाएर स्थानीय बासिन्दासँगै घरपालुवा जनावरलाई टोक्दा रेबिज सर्ने गरेको जनाइएको छ ।

दैनिक कुकुरको टोकाइबाट रेबिज विरुद्धको सुई लगाउन अस्पताल जाने स्थानीय बासिन्दाको सङ्ख्या बढ्दै गएको छ । महाकाली अस्पतालका स्वास्थ्यकर्मीका अनुसार दैनिक रेबिजविरुद्धको सुई लगाउन आउने बिरामीको सङ्ख्या तीनदेखि पाँच जनासम्म हुने गरेको छ ।

पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेश जोशीका अनुसार हालसम्म रेबिजका २१ नमूना परीक्षण गरिएकामा तीमध्ये २० नमूनाको नतिजा पोजेटिभ आएको छ । प्रयोगशालामा आएका नमूनामध्ये अधिकांश कञ्चनपुर, कैलालीका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं ३, १२, १३, पुर्नवास नगरपालिकाको वडा नं १, लालझाडी गाउँपालिकाको वडा नं ३, कृष्णपुर नरपालिकाको वडा नं १, शुक्लाफाँटा नगरपालिकाको वडा नं १० मा हालसम्म परीक्षण गरिएका नमूनामा रेबिजका जिवाणु फेला परेको छ ।

यसैगरी कैलालीको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकाबाट प्राप्त नमूनामा रेबिजका जिवाणु फेला परेको उहाँले बताउनुभयो । “रोगी जनावरले टोकेको अवस्थामा र्‍यालको माध्यमबाट यो रोग सर्ने गर्दछ”, उहाँले भन्नुभयो, “रेबिज रोगको जिवाणुले स्नायु प्रणालीमा असर गर्दछ ।”

अधिकांश व्यक्तिमा रेबिज रोग कुकुरको टोकाइबाट सर्ने गरेको पाइएको छ । कुकुरसँंगै बिरालो, न्याउरी मुसा, स्याल, ब्वाँसो, फ्याउरोलगायतका जनावरको टोकाइबाट रेबिज सर्ने गर्दछ । रेबिजका लक्षण देखिएका रोगीको उपचार सम्भव नहुने चिकित्सक जोशीको भनाइ छ । “यो रोग शतप्रतिशत प्राणघातक रोग हो”, उहाँले भन्नुभयो, “यसको भरपर्दो उपचार पद्धति अहिलेसम्म विकसित भएको छैन ।”

रेबिज रोकथाम गर्न पशु चिकित्सकको सिफारिसअनुसार घरपालुवा कुकुर र बिरालोलाई नियमित खोप लगाउने कार्य गर्नुपर्ने उहाँको सुझाव छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा पानसिंह ठगुन्नाले हालसम्म कञ्चनपुरमा २० बढी घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण देखापरेको बताउनुभयो ।

“हिजोमात्रै कृष्णपुर नगरपालिकाको वडा नं २ मा मरेको स्यालको नमूना परीक्षण गर्दा रेबिजको सङ्क्रमण देखापरेको छ”, उहाँले भन्नुभयो, “पहिला कुकुरले टोकेरमात्रै रेबिज सरेको पाइने गरेको थियो, हाल बहुलाएको स्यालले स्थानीय बासिन्दाका गोठमा बाँधेका घरपालुवा जनावरलाई टोकेर रेबिज सार्ने गरेको पाइएको छ ।”

स्याललले घरपालुवा जनावरको मुखमै टोक्ने भएकाले रेबिज सर्ने सम्भावना शतप्रतिशत हुने गरेको उहाँको भनाइ छ । स्याल, कुकुरलगायतले टोकेका घरपालुवा जनावरलाई भ्याक्सिन लगाउने कार्य हुँदै आएको उहाँले बताउनुभयो ।

“रेबिजको जोखिम बढ्न थालेपछि छाडा कुकुरलाई नियन्त्रण गर्न स्थानीय तहसँंग छलफल कार्यक्रमलाई अगाडि बढाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “छाडा कुकुर नियन्त्रण गर्न परिवार नियोजन गर्ने र घरपालुवा कुकुरलाई नियमित खोप लगाउने कार्य गर्नुपर्ने हुन्छ, त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउनका लागि स्थानीय तहलाई गुहार्दैछौँं, प्राविधिक सेवा विज्ञ केन्द्रबाट उपलब्ध गराउँछौँ ।” स्थानीय तहको स्वीकृतिमा दर्ता गरेरमात्रै कुकुर पाल्न पाइने नियम लागू गरिनुपर्ने उहाँको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?