काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन नबनाउने आश्वासन दिनुभएको छ । शुक्रबार दिउँसो नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूसँग बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाईसमेत दिनुभएको थियो । भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
यसक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्न, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सरलीकृत गर्न, पुँजीगत खर्च बढाउनका लागि नीतिगत र संरचनागत सुधार ल्याउन, राष्ट्रिय उद्योग र निर्यात प्रवद्र्धनमा जोड दिने नीति ल्याउन र निजी क्षेत्रसँगको सहकार्यका आधारमा अर्थतन्त्रका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
भेटमा प्रधानमन्त्रीले नेपालको संविधानले राज्यको तर्फबाट निजी क्षेत्र र व्यवसायलाई प्रवद्र्धन गर्ने व्यवस्था गरेको भन्दै अर्थतन्त्रमा संकट आएका बेला निजी क्षेत्र संकुचित हुने वा नकारात्मक प्रभाव पर्ने गरी कुनै पनि कानुन नबनाउने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयोे, ‘हाम्रो संविधानले निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने व्यवस्था गरेको छ । अर्थतन्त्र संकटमुक्त भइसकेको छैन । यस्तो परिस्थिति सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य र एक-अर्काको हितलाई सम्बोधन गरेर मात्र अर्थतन्त्रका चुनौती छिचोल्न सकिन्छ । निजी क्षेत्रलाई बेवास्ता गरेर वा नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न सकिँदैन भन्नेमा म एकदमै स्पष्ट छु । निजी क्षेत्रलाई बन्देज लगाउने वा नकारात्मक प्रभाव पार्ने गरी कुनै पनि कानुन बनाउँदैनौँ ।’
साथै निजी क्षेत्रलाई समेत राज्यको मर्यादाक्रममा समावेश गर्ने गरी सरकारले छलफल अगाडि बढाएको प्रधानमन्त्रीले बताउनुभएको थियो । ‘मैले तपाईंहरूको साधारणसभामा नै भनिसकेको छु निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समेटिन्छ । निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्न कुनै अप्ठ्यारो छैन । मर्यादाक्रम निर्धारण कसरी गर्ने भन्ने विषयमा मात्र हाम्रो ध्यान छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
भेटका क्रममा प्रधानमन्त्रीले भर्खरै सम्पन्न साधारणसभाबाट कुशल नेतृत्व आएको र नयाँ कार्यसमितिले अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न सरकारसँग बलियो सहकार्य गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको थियो । ‘तपाईंहरूले राम्रो नेतृत्व छान्नुभएको छ । नयाँ नेतृत्वले सरकार र अन्य क्षेत्रसँग बलियो सहकार्य गर्नेछ । हामी सबै मिलेर अर्थतन्त्रका चुनौतीहरू छिचोल्दै सुशासन र समृद्धिको लक्ष्य हासिल गर्नेछौँ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
मुलुकको अर्थतन्त्र गम्भीर संकटमा छैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताउनुभएको हो । ‘मुलुकको अर्थतन्त्र गम्भीर संकटमा छैन । गम्भीर संकटमा नभए पनि केही समस्या देखापरेका छन् । देखापरेका समस्या सरकारले समाधान गर्न नसक्ने छैनन् । अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्रीलगायत अर्थ मन्त्रालयले राष्ट्र बैंक र निजी क्षेत्रसँग छलफल गरिरहेको छ । सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार सकारात्मक छ ।’
उहाँले सरकारले तत्कालीन समस्या समाधानका उपाय खोज्न सक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने बताउनुभयो । उहाँले सरकारले अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको उल्लेख गर्नुभयो ।
गृहमन्त्री श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको बताउनुभयो । उहाँले सरकारले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच