हरिदत्त हँसिला मानिस हुन् पहिले । उनको हाँसो मिठो छ भन्छन् सबैले । भेट्दा मुसुक्क हाँसेर बोल्ने स्वभावले गर्दा उनलाई टोल समाजमा धेरै मानिसले असल मानिस हुन् भनेर बुझ्थे । हुन पनि समाजलाई पिरेर व्यवहार गर्नुपर्ने त्यस्तो कुनै कारण पनि परेको थिएन । समाजबाट खास धेरै अपेक्षा पनि नभएका र समाजका मानिसहरूसँग गहिरो सम्बन्ध पनि त्यति राख्न नजानेका भए पनि हरिदत्तलाई समाजले राम्रै मान्थ्यो । त्यसपछि उनलाई चिन्ने अर्को समुदाय उनको अफिसमा थियो । अफिसमा पनि सबैसँग सामान्य सिष्टाचार गर्न रुचाउने, प्रायः धेरै जनालाई तपाईं, हजुर भनेरै सम्बोधन गर्ने उनको भद्र स्वभावले गर्दा नै होला उनलाई अरूले पनि शिष्ट व्यवहार नै गर्थे । र, केही उनका अन्तरङ्ग मित्रहरू पनि छन् जोसँग उनी अलि बढी खुल्छन् । तापनि औपचारिक व्यवहार उनको परिचयको आधार हो ।
अहिले हरिदत्तको अनुहारमा हाँसो छैन । उनका अनुहारको त्यति सुन्दर हाँसो हराएको छ । उनी हिजोआज अलि तनावमा भएजस्ता देखिन्छन् । लाग्छ हिजोआज उनको अनुहारबाट हाँसोले बिदा लिँदै छ । किन यसो हुन गयो भन्ने विषय केही गम्भीर हो भन्ने लाग्छ । उनले हाँसो बाँडेका धेरै ठाउँमा, हाँसो साटेका धेरै विषयमा र हाँसो आर्जेका धेरै ठाउँहरूको खोजी गर्दा पनि त्यति चित्तबुझ्दो उत्तर पाइएको छैन । उनी भन्छन् हाँस्नको निम्ति समय हाँस्नुपर्छ । अहिले मेरो समय मदेखि रुष्ट छ । मलाई हाँस्ने अनुमति छैन भन्छन् उनले । के कुराले प्रतिबन्ध ग¥यो उनको हाँसोलाई । निश्चय पनि हाँस्न सजिलो छैन । हाँस्नु भनेको फूलजस्तै उज्यालो मन बनाउनु हो र फूलका पत्रहरू जस्तै कोमल चेतनाहरूमा बाँडिनु पनि हो । तर अब त्यति सुन्दर समय पनि छैन र कोमलचेतना पनि छैनन् ।
दश वर्षपछि विदेशबाट छोरी आउने खबर भएपछि हरिदत्त केही दिनदेखि अत्यन्त उत्साहित थिए । छोरीले टिकट फिक्स भयो बाबा भनेदेखि नै हरिदत्त यता फुरुङ्ङपर्न सुरु गरेका हुन् । छोरीविनाका यी दश वर्ष कसरी बिते उनलाई नै थाहा छ ।
दश वर्षपछि विदेशबाट छोरी आउने खबर भएपछि हरिदत्त केही दिनदेखि अत्यन्त उत्साहित थिए । छोरीले टिकट फिक्स भयो बाबा भनेदेखि नै हरिदत्त यता फुरुङ्ङपर्न सुरु गरेका हुन् । छोरीविनाका यी दश वर्ष कसरी बिते उनलाई नै थाहा छ । कहिले छोरीका बाल्यकालीन चञ्चलता सम्झेर रोए । कहिले छोरी बिदाइ गर्दाको क्षणलाई सम्झेर भावुक भए । कहिले एउटीमात्र सन्तानलाई अज्ञातको यात्रामा पठाउँदा एयरपोर्टमा मन भक्कानिएको कुरा सम्झेर रोए । छोरीले विदेश विदेश भनेपछि मनले नचाहँदा नचाहँदै पनि विदेश बस्ने केटासँग बिहेगरिदिएर पठाउन परेको कठोर समयको सम्झना पनि छ उनीसँग । कहिले लालनपालन राम्रो होस् भनेर त कहिले भविष्य राम्रो बनाइदिन भनेर दुःख गरे उनले । त्यसपछि छोरीको बिहे गरिदिने समय भयो । दुःख धेरै त भएन तर समयलाई निकै सतर्कतापूर्वक बिताएका हुन् उनले ।
छोरी आउने दिन एयरपोर्टमा समयमै पुगेर बसे । छोरी पनि निर्धारित समयमा आइपुगिन् । धेरै वर्षपछि सशरीर छोरीलाई आफ्नोअगाडि पाएर उनी हर्षलेरुनमात्र सकेनन् । खुसीले भक्कानिएको मनले गर्दा झट्ट बोल्न पनि सकेनन् । बोल्ने कुनै शब्द पनि पाएनन् । छोरीलाई र उनले लिएर आएका सन्ततिलाई हेरिरहे । छोरीले गहिरा आँखाले यताउता हेरिन् र एयरपोर्टमा बाबाआमालाई मात्रै देखेर केही खल्लो अनुभव गरेझैँ गरी भनिन् – ‘बाबामम्मी हजुरहरू मात्रै आउनुभएको । अङ्कलहरू आउनुभएन ? भाइहरू पनि कोही आएनन् ?’ उनलाई लागेको रहेछ यतिका वर्षपछि नेपाल आउँदा त एयरपोर्टभरि नेपालमा भएका आफन्त, काकाकाकी, भाइबहिनीहरू, सानिमा सनवाहरू वाअरू पनि आफूलाई चिन्ने र आफूले आउँदैछु भनेर जानकारी गराएका साथीसँगीहरू माला वा खादा लिएर भरिभराउ होलान् ।
सबैले माया र स्नेहले अँगालो लगाउलान् । अर्कै माहोल होला एयरपोर्टमा भन्ने रहेछ । आफूले छोडेको दश वर्षअघिको समय, तिनै आफन्त, तिनै इष्टमित्र, तिनै सँगीसाथी, त्यही वातावरण सबै उही र उस्तै होला भन्ने रहेछ । उनलाई उनको समयसँगै यहाँ रहेका आफन्तहरूको पनि समय बितेर गयो । हिजो जे थियो त्यो अहिले छैन । यतिका दश वर्षमा त यहाँ कति परिवर्तन भयो । सबैका आआफ्ना परिवेशहरू निर्माण भए । उनको जस्तै धेरैको बिहादान भयो । कोही कतागए कोही कतागए । आफन्तहरूको पनि आफ्नै अवस्था भयो । काकाकाकीहरू, भाइबहिनीहरूको पनि आफ्नो छुट्टै समय भयो । छुट्टै परिस्थिति भयो । र, उनीहरूकै आफ्नो संसार छ । हिजोउनले छोडेर जाने समयमका धेरै कुराहरू फेरिए ।
नदीमा कति पानी बगिसक्यो । हो न हो आफ्नो उही समय छ । उही परिस्थिति, उही स्नेह, वात्सल्य, उही आत्मीयता उही दिन छ भन्ने रहेछ । उनलाई पहिलो गाँसमै ढुङ्गा लागेझै गरेर उनी केही निराशजस्ती भइन् । मैले भनेँ ‘आउनेकुरा त हो अङ्कल र भाइहरूको पनि खोइ किन ढिला भयो । आउँदै होलान् । घर जाऊँ उतै आउँछन् नि । यहाँ अब धेरैबेर किन गर्नु र जाँदै गरौँ ।’
त्यसपछि बाबाआमाले लगाइदिएका एक थान माला र खादा लगाएर केही मलीन आनुहार पारेर उनी गाडीमा बसिन् । छोरीलाई केही मलीन देखेर बाबाले सोध्नुभयो ‘किन छोरी खुसीजस्ती देखिइनौ ।’ उनले ‘त्यस्तो केही होइन बाबा भनिन्’ तर अनुहार त्यति उज्यालो भएन । उनले सोच्दै हिँडिन् म यतिका वर्षमा नेपाल आउँदा पनि मलाई लिन कोही किन आउनुभएन ? भाइहरूले त्यति हिरिक्क गर्थे, अङ्कलअन्टीहरूले पनि त्यति माया गर्नुहुन्थ्यो । साथीहरू त्यस्ता घनिष्ट थिए । आखिर धेरैजसोलाई त मआउँदै छु भनेर पनि भनेकै हुँ । किन कसैलाई पनि फुर्सद नभएको होला ? कतै बाबाआमासँगको सम्बन्ध राम्रो नभएर पो होकि ? उनको मनमा शङ्का पस्यो ।
र, उनले भनिन् ‘किन र बाबा अङकलहरूसँग राम्रो सम्बन्ध छैन र ?’ ‘त्यसो होइन छोरी सबै राम्रै छ । सबैका आआफ्नै कामहरू छन् । अफिस जान पर्छ, कलेज जाल पर्छ । आफ्ना घरका कामहरू त्यत्तिकै हुन्छन् । कतिजना टाढा छन् । यत्तिको लागि आउन पनि सजिलो कहाँ छ र ? भोलिपर्सि आइहाल्छन् नि ? अनि कतै हामीजाउँला कोही यहीँ आउलान् । भेटघाट भैहाल्छ नि, यस्तै हो छोरी भनेजस्तो कहाँ हुन्छ र ? मय मिलाउन । दश वर्ष भनेको थोरै होइन नि कति परिवर्तन भइसक्यो ।’
उनी घर आइन् उनीसँगै धेरै नयाँ कुराहरू घरमा आएका रहेछन् । उनलाई लागेको रहेछ मेरो उपस्थिति यो घरमा निकै महत्वपूर्ण हुन्छ र हुनुपर्छ । घरमा आइन् तर सबैका आआफ्नैकाम देखिन् । आमा भान्सा पसेपछि उतै व्यस्त ।
त्यसो त आमालाई पनि कसरी हुन्छ सकेसम्म मिठो खाना पकाएर खुवाउने चाहनाले ब्यस्तता बढेको होला तर जब भान्सा तयार हुन्छ छोरीलाई भनेजस्तो लाग्दैन । कुनै खानेकुरा स्वाथ्यका दृष्टि खान लायक छैनन्, कुनै स्वादका दृष्टिले उपयुक्त लाग्दैनन् । बिहानभरि आमा भान्सामा व्यस्त हुनुहुन्छ तर भनेजस्तो तरीकाको भुजा तयार हुँदैन । कता भनौँ, के के भनौँ । कतिपटक भनौँ ? भान्साको डेकोरेसन पनि केके नमिलेजस्तो । दराज कता फर्किनु पर्नेमा कता फर्किएको छ । किचेन र्याक कस्तो नमिलेजस्तो । डाइनिङ टेबुल नै सानो भान्सा नै कुचुक्क । फ्रिज हे¥यो सानो देखिन्छ भाँडा पनि अर्कै अर्कै । खानेवस्तु नै खुलाखुला छन् प्याकिङ्मा छैनन् । खाने कि नखाने ?
यस्तै यस्तै छ भान्सा । आमालाई भनौँ पिर मान्नुहोला भन्ने डर । नभानौँ चित्त बुझ्दैन । त्यस्तै अवस्था बाबाको छ । कताकता दौडधुप गरेर भान्साको निम्ति जतिसक्दो क्वालिटीका खानेकुरा ल्याएझैँ गर्नुहुन्छ । अरू पनि सामानहरू हुन् वा व्यवहार होस् मिलाएर गरेको ठान्नुहुन्छ तर आफूलाई पटक्कै मिलेजस्तो लाग्दैन । भन्ने आँट आउँदैन एक-दुई कुरा गर्यो बाबाले पनि चित्त दुखाएको जस्तो लाग्छ । बाबा आफ्नै काममा व्यस्त । बाबा आमालाई लाग्यो लामो समयपछि छोरी आइन् आफ्ना कतिपय गुनासाहरू पोख्न मन छ । उमेर पनि अब ढल्किँदै जाँदो छ । यही छोरी त एउटा सहारा हो ।
उसलाई नभने कसलाई भन्ने ? कहिले छोरीले आफूहरूका बारेमा सोध्ली र सबै मनका कुरा भनौँला भनेर बाबाआमा प्रतीक्षा गरिरहे । छोरीलाई लाग्यो यतिका वर्षमा म आएकी छु मेरो त विशेष ख्याल हुन्छ होला । बाबाआमा पनि मेरै सुखदुःखमा चासो राखेर कुरा गर्लान् । विदेशमा मैले गर्न परेको संघर्ष र दुःखका कुरा सोधिएलान् । म भन्दै जाउँला मन हलुका पारौँला । तर त्यसो भएन न बाबाआमाले त्यो दुःख बिसाउने मौका पाए न छोरीले त्यो सहानुभूतिको मौका पाइन् । कस्तोकस्तो बार लागेजस्तो भइरहृयो । सबै व्यस्त छन् सबैको आफ्नो संसार बनेको छ । मन कुण्ठित छ व्यवहारमा औपचारिकता छ । कसैको भरोसा कसैलाई होला जस्तो पनि लाग्दैन । मन माझेर बोल्ने व्ययवहार गर्ने मौकै मिलेन ।
छिमेकी कसै कसैले यसो सामान्य कुरा गरे । मेरो उपस्थिति छिमेकीलाई त्यति चासोको विषय नै भएन । दिनहरू बित्तै गए आफूले सोचेजस्तो खास केही भएन । आफन्तहरू पनि यसो फाट्टफुट्ट कोही आए धेरैलाई मेरो आगमन कुनै महत्वको विषय नै भएन । संगी साथीहरूका पनि कुरा मात्रै मिठा भए । न कसैसँग भेट्ने मौका मिल्यो । मैले मेरो ठानेर आएका ती कोही आफन्तहरू मकहाँ आउने मेसो परेन म उहाँहरूकोमा जाने मेसो परेन । मलाई पो मेरो उपस्थिति महत्त्वपूर्ण छ । अरूको निम्ति त आफ्नै परिवेशको संसार हरेछ । आफन्तले सोचे होलान् यतिका वर्ष विदेश बसेर आएकी भेट भएर जाली । मैले चाहेँ यतिका वर्ष विदेश बसेर आएकी म सम्झेरै भेट्न आउलान् ।
हिजो त म परिवारमा चाखकै मानिस थिएँ । भाइहरूले त्यति धेरै माया गर्थे । म पनि उत्तिकै प्यारो गर्थेँ । अङ्कल अन्टीहरू, फुपूफुपाजूहरू, सानिमा सनबाहरू । सबैसबै त मेरा आफ्ना थिए,प्रिय थिए । आज ती कसैसँग फोन सम्पर्कसम्म हुँदैन । म उहाँहरूकै निम्ति त आएकी हुँ यहाँ । उहाँहरू नहुनुहुँदो हो त मेरो पनि आउने रहर किन हुँदो हो । यहाँको माटो कस्तो भए होला । यहाँका खोला खहरे, कुनाकन्दरा, खोल्सा, डाँडापाखा, ढुङ्गामाटो, चौतारीको बरपिपल, खेतका गरा, बारीका पाटा, कालीको पानी, ढाँडपानीको धारो । यिनै कुराहरूले ल्याएका हुन् मलाई यहाँ । अहिले जब यहाँ आएँ कुनै कुराले पनि आकर्षित गरेनन् । सबै कुराले मलाई बिर्सेजस्तो लाग्यो । कुनै कुरा पनि पहिलाजस्ता छैनन् । म पहिलाजस्ती भइन र यी पहिलाजस्ता देखिएनन् कि । यिनीहरू नै पहिलाजस्ता रहेनन् ।
छोरीलाई छोरीकै समय उचित लाग्यो बाआमालाई उहाँहरूकै समय राम्रो लाग्यो । न छोरीलाई माइत आएको अनुभूति भयो न बाआमालाई छोरी आएको हर्षको अनुभूति हुन पायो । दुवैथरिले देखेको दृष्टि स्वाभाविक थियो । छोरीले डलरको कुरा गरिन् हामीले रुपैयाँका कुरा गर्यौँ ।
विदेशमा विताएका यताका दश वर्ष उमेरले पारेको अन्तर उताको बीस वर्ष । बुबाआमाले आफ्नो अनुकूल चाहनुहुन्छ । छोरीलाई आफ्नो अनुकूल चाहिन्छ । तीस वर्षको ग्यापमा जेजस्ता अवस्थाहरू आइलाग्छन् ती बढ्दै जान थाले । बाआमा आफ्नो अनुसार हिँड्न खोज्ने छोरी आफ्नो अनुसार हिँडाउन खोज्ने । छोरी भन्छिन् यो कुरा नखाऊँ । उहाँहरू त्यही खान खोज्नुहुन्छ । छोरी भन्छिन् यतिबेला नखाऊँ उहाँहरू त्यही बेला चाहनुहुन्छ । बाहिरी कुरा नमिल्नु त स्वाभाविकै थियो भित्री विचारमै भिन्नता आएपछि कुरा अलि जटिल बन्दै गयो । यसरी हरेक कुरा आआफ्नै अनुकूल हुन थालेपछि उत्साह कम निराशा बढी हुन थाल्यो । बाआमा आफ्नै समयमा हिँड्न खोज्नुभयो छोरी आफ्नै समयमा हिँड्नखोजिन् ।
छोरीलाई छोरीकै समय उचित लाग्यो बाआमालाई उहाँहरूकै समय राम्रो लाग्यो । न छोरीलाई माइत आएको अनुभूति भयो न बाआमालाई छोरी आएको हर्षको अनुभूति हुन पायो । दुबैथरिले देखेको दृष्टि स्वाभाविक थियो । तर दुवैथरिले एकअर्कालाई पाएनौँ । छोरीले डलरको कुरा गरिन् हामीले रुपैयाँका कुरा गर्यौँ । उनका कुरा डलरजस्तै महङ्गा भए हाम्रा कुरा रुपैयाँजस्तै सस्ता भए ।
एकदिन बाबाले गम्भीर भएर भन्नुभयो-‘समय धेरै फेरिएछ छोरी हामीलाई हाम्रो समयकी छोरी चाहियो तिमीलाई तिम्रो समयका बाबाआमा चाहियो । यतिका वर्ष जुन रहर र सपना बोकेर हामी यहाँ बस्यौँ त्यही सपनाको समय नै उचित रहेछ । तिमीलाई पनि त्यस्तै लागेकोे होला । आफू जन्मिएको कोख र काख सुम्सुम्याउने तिम्रो रहर अनि आफ्नी छोरीलाई अँगालोभरि समेटेर ममता विसाउने हाम्रो चाहना यी सबै आफ्नै लागि प्रिय हुने रहेछन् । न तिमी हामीजस्तो हुन सक्ने न हामी तिमीले चाहेको जस्तो बन्न सक्ने । न हामीले हाम्री छोरी पायौँ न तिमीले तिम्रा बाआमा पायौँ ।
हामी दुबैथरि आ-आफ्नोतर्फका दृष्टिले बाँच्यौँ । हामीलाई तिमीप्रति कुनै गुनासो छैन जेजति दोष छ वा भयो हाम्रैतर्फबाट भयो । तिम्रो समय तिम्रा लागि, हाम्रो समय हाम्रा लागि । यस्तै रहेछ तिमी उतै खुसी हामी यतै खुसी । तिमीलाई यहाँ भनेजस्तो भएन हामीलाई वहाँ भनेजस्तो नहुने देखियो । भो जाऊ छोरी तिमी तिम्रै देशमा हामी हाम्रै देशमा । समयले साथ दिए भेटघाट हुँदै रहला । आफूलाई रित्याएर यहाँ नबस ।अश्रुपूर्ण मनले हामी तिमीलाई विदाइ गछौँ ।
समय नै यसरी बितेको थियो कि मैले बाबा कुरामा असहमति जनाउने अवस्था नै थिएन । मैले मेरा कुरा खोजिरहेकी थिएँ उहाँहरूले आफ्ना कुरा खोजिरहनुभएको थियो । र समयले यी सबैभन्दा भिन्न कुरा मागिरहेको थियो । त्यसपछि मैले पनि बाबासँग भनेँ ‘हो रहेछ बाबा हजुरले त सधैँ भन्ने गर्नुहुन्थ्यो । आफूगुनको हो संसार । हामीले आफूलाई जति महत्वपूर्ण ठान्छौँ । सबैले पनि आफूलाई त्यस्तै नठान्न सक्छ । त्यसैले बढी आवेगमा नआऊ ।
वास्तविकता बुझेपछि कुरो पचाउन गाह्रो हुन्छ । आज मलाई त्यस्तै भएको छ बाबा । म आफ्नै ठाउँमा नअटाउने भइसकिछु । हावाको झोक्कामा टाढा धेरै टाढा पुगिसकिछु । मलाई अँगाल्ने संसार अब यहाँ रहेनछ । आफैले बनाएको नयाँ संसार नै अब मेरो आफ्नो रहेछ । मलाई माफ गर्नु बाबा म हजुरहरूकी बन्नै सकिन ।’ ....र त्यसपछि नै हरिदत्तको अनुहारबाट हाँसोले बिदा लिएको हो !!!
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच