कथा : चाँदनी र चन्द्रप्रकाश

हिमालय टाइम्स
Read Time = 13 mins

✍️ भूपप्रसाद धमला

यस वर्षको वसन्तले पनि पोहोर साल झैँ आफ्नो वृत्त पार गर्दै थियो । लेकबेंशीका वसन्तकालीन पालुवाहरू परिपक्व पातमा बदलिँदै थिए । खेतबारीमा नयाँ बाली हुर्किँदै थियो । किसानहरू दिउँसोको मेलो सकेर घर फर्कने तरखर गर्दै थिए । गृष्मकालीन तातो घाम सेलाउँदै क्षितिजबाट तल भासिँदै थियो । चराचुरुङ्गी गुँडतिर फर्कने तरखर गर्दै थिए । गोधुली आउने बेलाको सुनौलो प्रकाश साँच्चै मनमोहक थियो ।
यसै मेसोमा चाँदनी शीतल हावा खान घरबाहिर मकैबारीको डिल हुँदै अलि पर जङ्गल छेउमा हरियाली हेर्न निस्किन् । परपरसम्मको सुन्दर भूदृश्य देखेर मुसुक्क मुस्कुराइन् । हेर्दाहेर्दै घाम पूरै अस्तायो । तारा चम्किन बाँकी नै थियो । पूर्णिमाको दिन परेकाले पूर्वी आकाशमा पूर्णचन्द्र देख्न सकिन्थ्यो । जसै साँझ पर्दै गयो आकाश र धर्ती एउटै भए ।

चाँदनीको मन पुलकित भयो । कल्पनाको सागरमा डुबिन् उनी । उमेर पाकेको भए बिगत सम्झिँदी हुन् तर भरखर किशोर वय पूरा गरेकी सुनौलो सपना बुन्दै गरेकी युवती हुन् उनी । त्यस साँझ उनका मनमा भविष्यका सपनाहरू एकपछि अर्को तरेली पर्दै आए । कत्ति त मिश्रित बनेर असङ्गठित आए । धेरैजसो पढाइ, जागिर र बिहेसँग सम्बन्धित थिए । जसोतसो ब्याचलर्स डिग्री त हात पारेकी हुन् तर आजको ब्याचलर्स डिग्री हिजोको हाइस्कुल डिग्री जस्तै अबिकाउ भयो । सोचिन् ब्याचलर्ससम्मको अध्ययन त गाउँघरकै कलेजमा सम्भव भयो । मास्टर्स डिग्री नभई प्रतिस्पर्धामा उत्रन पनि सजिलो छैन ।

चाँदनीले मनको काल्पनिक राजा मुटुभित्र सजाउन थालिन् । सोचिन् अरूलाई पनि उनलाई जस्तै हुँदो हो । उसलाई पनि मनकी रानी चाँहिदो हो । मेरो मनको राजाको मुटुभित्र म पनि मनकी रानी हुन सकुँली कि नसकुँली ?

त्यसका लागि विश्वविद्यालयमा थप दुई वर्ष अध्ययन गर्न राजधानी जानु पर्‍यो । खर्चबर्चको जोहो पनि गर्नै पर्‍यो । बाबा-आमासँग मागौँ भने उहाँहरूसँग पनि हुनुपर्‍यो । उहाँहरू त भनेजस्तो केटो आयो भने बरू बिहे गर्नुपर्छ पो भन्नु हुन्छ । बिहे गर्न पनि त मास्टर्स डिग्री गर्न पाए रोजा केटो आउँथ्यो होला । भविष्य सुनौलो हुन्थ्यो होला ।

सोच्दासोच्दै टहटह जून लागि सकेछ । जुनेली रातमा रूखबुट्टाको हरियाली अझ थप मनोरम देखियो । त्यससँगै चाँदनीको मन लहरायो । कल्पनाको सागर अझ गहिरियो । मनका रहरहरू झन् आकासिए । साँचै भनेजस्तो केटो आयो भने बिहे गरौँ कि ! तर भनेजस्तो केटो भनेको को होला ? बाबा आमाले भनेजस्तो हुने खाने कुलघरानको केटो हो कि ! सरकारी अधिकृत हो कि ! पैसा कमाउने व्यापारी पो हो कि ! उनकै उमेरकी एउटी साथीले पैसा धेरै हुने धनी केटासँग बिहे गर्दा चरम दुःख पाएको कुरा चाँदनीले झल्याँस्स सम्झिन् । उनको मनै चोइटियो । एक मनले सोचिन् उनको मनको राजा पैसावाला होइन दिलवाला हुनुपर्छ । अरू सबथोक छोडेर भए पनि उनलाई माया गर्ने उनको मनको राजा हुनुपर्छ ।

चाँदनीले मनको काल्पनिक राजा मुटुभित्र सजाउन थालिन् । सोचिन् अरूलाई पनि उनलाई जस्तै हुँदो हो । उसलाई पनि मनकी रानी चाँहिदो हो । मेरो मनको राजाको मुटुभित्र म पनि मनकी रानी हुन सकुँली कि नसकुँली ? फेरि सोचिन् रहरले मात्र मनको राजा आउने हो कि ? भाग्यले जुराई ल्याउने हो कि ? आफैँले खोजी फेला पार्नुपर्ने हो कि ? रनभुल्लमा परिन् उनी । सोच्दासोच्दै आफैँलाई बिर्सिन् । छिप्पिँदै गरेको रात उनको कल्पनाको तरेलीमा हरायो । शून्यतामा विलीन भयो मानौँ रातको अस्तित्व नै छैन ।

साँझको सीमा पनि पार भयो । चराचुरुङ्गी गुँडभित्र पसिसकेका थिए । जङ्गली जनावर पनि कतै पर सुरक्षित ठाउँमा बास बसिसकेका थिए । नजिकैको गाउँको एउटा घरभित्र टुकी बत्तीको मधुरो प्रकाश देखिन्थ्यो । जुनेली रातको स्वच्छ प्रकाशमा चाँदनी जुनकिरी जस्तै चम्किन् । आकाशको चन्द्रप्रकाशको मुनि धरतीकी चाँदनी दोब्बर टल्किन् । मत्र्यलोकमा झरेकी स्वर्गकी परी पनि उनको छेउमा फिक्का हुँदी हुन् ।
सोच बिचारमा टहलिइरहेकी चाँदनीको मुखाकृतिमा चन्द्रप्रकाश छायो । चन्द्रप्रकाशले एकटक लगाएर चाँदनीलाई हेर्‍यो । उनको अनुपम सौन्दर्यमा मन्त्रमुग्ध भएर बिस्तारै तल झर्‍यो । चाँदनीलाई अङ्कमाल गर्‍यो । चाँदनीको चन्द्रमुहारमा चुम्बन गर्‍यो । चाँदनी र चन्द्रप्रकाशको मिलन भयो । दुवैका चन्द्रमुहार चम्किए । भय र आश्चर्यको दोसाँधमा चाँदनीले टाउको उठाएर हेरिन् । ठ्याक्कै चन्द्रमुहारको चन्द्रप्रकाश आफ्नो सामुन्ने प्रेमको याचना गर्दो छ । होइन यो चन्द्रप्रकाशमात्रै हो कि साक्षात् मान्छे हो ? यो सब सपना हो कि यथार्थ हो ? फेरि उनी रनभुल्ल भइन् ।

जुनेली रातको उज्यालोमा पातलो जङ्गलबीच चाँदनी र चन्द्रप्रकाश घण्टौंसम्म हातेमालो गर्दै डुलिरहे । पवित्र प्रेम साटासाट गरे । जीवन जीवनान्तर सँगै बस्ने प्रण गरे । दुःख सबै बिर्से । सुखस्वर्गको कल्पनामा डुबे । स्वप्निल घर बनाए । बिहे गरे । सुहागरात मनाए । मनोहर दृश्यावलोकन गर्न टाढा-टाढा गए । समुदको तरङ्ग लहरीमा लहराए । देवदूत जस्तै सन्तानको कल्पना गरे । आफैँभित्र रमाए । सुखस्वर्ग भोगे ।

डुल्दाडुल्दै अकस्मात एउटा रूखको छहारीमुनि पुगिछन् चाँदनी । चन्द्रप्रकाश पनि कतै छलिएछ । चाँदनी झल्याँस्स भइन् । उनी स्वप्न संसारमा पो रहिछन् । सोच्दासोच्दै रात छिप्पिएको चाँदनीलाई पत्तै भएनछ । सुन्दर सपनाको सुनौलो घर एकै छिनमा भताभुङ्ग भत्कियो । सपनाको राजा अनायास बेपत्ता भयो । चन्द्रप्रकाश बिलायो । जुनेली रात अझै थियो तर चाँदनीलाई पर्खने समय थिएन । यति रातिसम्म कहाँ गएकी भनेर बाबा आमाले झपार्ने सम्भावनाले उनलाई सतायो ।

भाग्यवश बाबा-आमा सुतिसक्नु भएछ । चाँदनी सर्लक्क आफ्नो कोठामा गएर सुतिन् । मनमा बेसरी कुरा खेले । धेरै बेर निद्रा नै परेन । बिहानीपख अलि निद्रा परेजस्तो भयो । तन्द्रामै सपना देखिन्-बाबा-आमाले बोलाएको, आफूले डराउँदै ‘हजुर’ भनेको, बाबा-आमाले कता गयौ भनेर सोधेको, उनले जुनेली रातमा चन्द्रप्रकाशलाई भेटेको, ऊसँग घण्टौंसम्म प्रेमपूर्वक कुरा गरेको, बिहे गरी घरजमसमेत गर्ने वाचा गरेको, जीवन सुखी हुने कल्पना गरेको बताइन् । छोरीको कुरा सुनेर बाबा-आमा चौपट्ट खुशी भएको देखिन् । चाँदनीले ठानिन् हाम्रो पवित्र प्रेम सफल भएछ ।

सधैँ त जुनेली रात नहुने रहेछ । औंसीको रात के गर्ने होला ? सोचिन् जीवन भनेकै यस्तै होला । जीवन पनि जगतकै नियममा चल्ने होला । कहिले औंसी, कहिले पूर्णिमा, कहिले दिन, कहिले रात । कहिले घाम, कहिले पानी ।

तर, सपना त सपना नै हो । रातमा निदाएको बेला देखिने त सपना हुँदै हो । जुनेली रातमा चन्द्रप्रकाश मान्छेको रूपमा भेट्नु पनि त सपना हो तर चाँदनीका लागि चन्द्रप्रकाश साक्षात मान्छे थियो । ऊसँगको कुरा सपना थिएन । चन्द्रमुहार भएको आकृतिको आलिङ्गन कसरी सपना हुन सक्छ ? साक्षात् मान्छेको प्रत्यक्ष चुम्बन कसरी सपना हुन सक्छ ? उनले पटक्कै पत्याइनन् ।

भोलिपल्टदेखि उनको दिनचर्या बिहान सबेरै उठ्ने, नित्यकर्म सक्ने, चिया खाजा खाने, काममा निस्कने, छिट्टै घर फर्कने, अनि साँझ परेपछि जुनेली रातमा बाहिर निस्कने रहृयो । तर, अफसोच ! सधैँ त जुनेली रात नहुने रहेछ । औंसीको रात के गर्ने होला ? सोचिन् जीवन भनेकै यस्तै होला । जीवन पनि जगतकै नियममा चल्ने होला । कहिले औंसी, कहिले पूर्णिमा, कहिले दिन, कहिले रात । कहिले घाम, कहिले पानी । राम्रैसँग प्रकृतिको नियम बुझेजस्तो लाग्यो उनलाई ।

औंसीको रातमा पनि चाँदनी उसै गरी साँझमा बाहिर निस्किन् । त्यस दिन चन्द्रप्रकाश आएन । अनेक प्रार्थना गरिन् तर पनि ऊ आएन । जुनेली रातमा जस्तै चुम्बन चाहिन् तर चन्द्रप्रकाशले चुम्बन गरेन । आफैंले आलिङ्गन गर्न खोजिन् तर रित्तो हात हावामा उठाइन् । राधाले कृष्ण कल्पे झैँ कल्पिन् । मनमनै ईश्वर भाकिन् तर चन्द्रप्रकाश आउँदै आएन ।

चाँदनीले बुझिन् जीवन रोमान्समात्र होइन रहेछ । सधैँ-सधैँ रमाइलो होइन कहिले कतै नरमाइलो पनि हुनेरहेछ । अनगिन्ती सम्भावनाको खेल रहेछ जीवन । कहिले हर्ष, कहिले विस्मात ! कहिले सुख, कहिले दुःख । एकनासको कहाँ र कहिले पो हुन्छ र जीवन ? कसको पो हुन्छ र स्वर्णीम सुखको जीवन ? धेरै कुराको सम्मिश्रण रहेछ जीवन ।

बल्ल चाँदनीको चेत खुल्यो । जुनेली रातको रहर अँधेरी रातमा यसै बिलायो । मीठो सपना हुरीले उडाएर बेपत्ता पार्‍यो । निर्ममतापूर्वक तितो विपनामा पु¥यायो । नेपथ्यमा उनले बाबा-आमाको स्वर सुनिन् ‘छोरी कहाँ गयौ ? रात छिप्पियो छिटो घर आऊ ।’ फेरि पनि चन्द्रप्रकाशसँग मिलनको कल्पना गर्दै चाँदनी घर फर्किन् । समाप्त

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?