संसदीय दलको बैठकमा देउवाको बिफ्रिङः उपनिर्वाचनमा ठूला पार्टीप्रति जनताको चासो देखिएन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताउनुभएको छ ।

सोमवार संसद भवनमा बसेको काँग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता औंल्याएको बताउनुभएको पार्टीका सांसद रामहरि खतिवडाले बताउनुभएको हो ।

उहाँले पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरुसँग चासो राखेको बताउनु भयो । उहाँले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताउनुभएको जानकारी दिनुभयो ।

बैठकमा सांसदहरुले छोटो समय देशको नेतृत्व गर्नुभएका बिपीपछि काँग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बनेपनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । सांसदहरुले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने ? पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका सांसद खतिवडाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस संसदीय दलले अब केही समयपछि आउने बजेटमा सांसदहरुको धारणा के छ ? भन्नेकुराको बारेमा छलफल गरेको छ । पार्टी सभापतिज्युले अहिले देशको विषम परिस्थिति छ । यसलाई अब कसरी लैजाने ? उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो । अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता छ, त्यो सँगै काँग्रेसले बजेट ल्याउँदाखेरी जनतालाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्छ, साना साना जनतासँग जोडिने खालका कार्यक्रम आउनुपर्छ । बिपी काईरालाले छोटो समय देशको नेतृत्व गर्दा जनतासँग जोडिने कार्यक्रम ल्याउनुभयो । अरु बेला काँग्रेसका अर्थमन्त्री धेरै भए, धेरै कार्यक्रम जनताको पक्षमा आएनन् की भन्ने चिन्ताको विषय धेरै सांसदहरुले उठाउनुभएको छ । तर जनताको विकास निर्माणका अपेक्षा धेरै छन् । यसलाई कसरी सम्बोधन गरेर जाने ? भनेर छलफल भएको छ । आज धेरै मान्य सदस्यहरुले बोल्नुभएको छ र सबैले बोल्ने क्रम नसकिएकाले भोलि १० बजे पनि हामी बैठक बसेर छलफल हुनेछ । आगामी बजेटमा जनताका माग र कुरा कसरी सम्बोधन गर्ने, आयोजना पुराना कसरी सक्ने र नयाँ योजना कसरी थप्ने भन्ने बारेमा नै छलफल भयो । प्रत्येक निर्वाचन क्षेत्रमा देखिने योजनाहरु, कार्यक्रम आओस्, स्थानीय तहको कार्यालयमा जाने बाटोहरु कालोपत्रेको व्यवस्था होस्, शहरीकरण, खानेपानी र स्वास्थ्यको व्यवस्था होस् ।’

सांसद खतिवडाले सांसदहरुले आगामी बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा थारैमा एउटा नागरिकले खेख्ने योजना, स्थानीय तहको कार्यालयमा जाने बाटोहरु कालोपत्रे गर्ने र व्यवस्थित शहर, स्वास्थ्य र शिक्षा हरेक तहमा पुग्नुपर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?