हिलोलाई हिलोले धोइन्छ ?

प्रा. देवीभक्त ढकाल
Read Time = 19 mins

हाम्रो राजनीति आजका मितिसम्म नितान्त गलत तत्वहरूबाट निर्देशित र दीक्षित छ । किनकि सक्कली राजनीतिको केन्द्रबिन्दु जनता हुन्छन् र हुनुपर्छ । तर, यहाँ राजनीतिको केन्द्रबिन्दु नेता, उनका परिवार, गुटका सदस्यहरू भएका छन् । फेरि धनार्जनको सबालमा देश र जनता कहिल्यै प्राथमिकतामा परेनन् । राष्ट्रिय धनको लुट, बेवास्ता र व्यक्तिगत धनप्रतिको चरम आशक्तिमा नै नेपाली राजनीति लुटपुटिएको छ । संविधान नियम कानुनहरूका छिद्रहरूलाई आफ्नो हितमा प्रयोग गर्न कहिल्यै नचुक्नेहरूले देशलाई बर्बाद पारे । अहिले राजनीति भनेको देश लुट्ने कार्यक्रमको पर्यायवाची शब्द बनेको छ ।

राजनीतिमा सिद्धान्त, आदर्श, अनुशासन र इमानदारीको खडेरीले नेताहरूप्रति चरम घृणा आमजनतामा स्वतः विकसित भएको छ । पार्टीको बारबन्धनका कारण असन्तुष्टि विष्फोट हुन सकेको छैन । अब समयक्रममा नेतृत्वमा रहनेहरूले यदि आफैंले सुधारका प्रमाणहरू लथालिंग नगर्दासम्म विष्फोटको सम्भावना सधैं विद्यमान छ । देशप्रति इमानदार नेताको हातमा सत्ता जान नदिने जुन गठबन्धन क्रियाशील छ त्यसको पनि अब आयु लामो छैन । झुटलाई सधैं टिकाउने प्रयत्नहरू अन्ततोगत्वा असफल हुन्छन् । त्यही असफलताको पर्खाइमा नेपाली जनता व्यग्र छन् । नेताहरूको प्राथमिकता स्वयंभन्दा माथि उठ्न सकेन । हामी जनता केन्द्रित होइन कि धन केन्द्रित राजनीतिको चक्रव्यूहमा छौं ।

यसको निकासको सम्भावना शून्यताले हामी किंकर्तव्यविमुढ छौं । राजनीतिक निकासको यात्रा आफैंमा गन्तव्यहीन बन्यो । यसलाई अनन्तकालसम्म निरन्तरता दिन संसारमा अहिलेसम्म कसैले सकेको छैन । त्यो दुष्प्रयास यहाँ कति नै चल्ला र ? जनताका चाहनाहरू र नेताहरूका दशकौंदेखिका आश्वासन सबै उधारो खेती बने । तर ती आश्वासन र चाहनाहरूबाट प्राप्त मतले नेताहरूले हाताहाती उपलब्धि हासिल गरे । अहिलेसम्मको परिवर्तनको फलिफाप नेताहरू र तिनको परिवारमा सीमित हुँदा नेतृत्वमा रहनेहरू जनताबाट नितान्त टाढा भए । राजनीतिमा जनता र नेताहरूको दूरी बढ्नु भनेको जनताका चाहनाहरू र नेताहरूका आश्वासनहरू अलपत्र हुनु हो । जनताको समृद्धिको नाराबाट सुरुवात भएको नेपाली राजनीति नेताहरूको समृद्धिसम्म पुगेको छ ।

हामी फोहोरलाई सफा गर्ने काम फोहोरीबाट हुन्छ भन्ने गलत मान्यताबाट ग्रसित छौं । हिलोलाई हिलाले नै धुन्छु भनेर धोइन्छ ? किमार्थ धोइन्न । अहिलेसम्म नेपाली राजनीतिले गन्तव्य नै समात्न नसक्नुको मुख्य कारण हो हामीले हिलोलाई हिलोले नै सफाइ गर्ने दुष्प्रयास ।

समयक्रममा नेताहरूको नैतिकता, आदर्श, सिद्धान्त आदि घर, गाडी, सुन र विलासी जीवनमा गुटमुटिएको छ । हिजो पञ्चायतकालमा इन्धनमा प्रतिलिटर एक दुई रुपैयाँ मूल्यवृद्धि हुँदा आगो उकाल्ने यिनीहरू सम्बद्ध विद्यार्थी संगठनहरू अहिले एकै चोटि लिटरमा दश-पन्ध्र रुपैयाँ मूल्यवृद्धि हुँदा पनि किन चुप ? महँगीले सबै क्षेत्रमा नेटो काट्यो । सरकारका कर र महसुलका दरहरू अक्कासिदा पनि तैँचुप र मैचुपक किन ? हिजोका विद्यार्थीहरू जनताको अवस्था परिवर्तन गर्न व्यवस्था परिवर्तनको आकांक्षा राख्दथे भने आजका विद्यार्थीहरू आफ्नै अवस्था परिवर्तनको सपना देखेका छन् । तसर्थ उनीहरू सरकारबाट मात्रै आफ्नो अवस्था परिवर्तन सम्भव देखेका कारण सरकारका काम कारबाहीहरूको विरोधबाट होइन समर्थनका माध्यमले नितान्त व्यक्तिगत चाहना पूरा गर्न चिन्तनशील, क्रियाशील र उद्यत देखिन्छन् । सबैको गन्तव्य अहिले व्यक्तिगत आर्थिक र पदीय लाभमा केन्द्रीकृत हुँदा भ्रष्टाचार कुशासन, अनैतिकता, बेइमानी जस्ता विषय समाजमा सामान्यीकरण हुँदै गर्दा सरकार र सरकार समर्थित पक्ष अहिले फोहोर र दुर्गन्धको खानी बनेको छ । अहिले राजनीतिमा सदाचारी, स्वच्छ, इमानदार र इन्टिग्रिटी भएको व्यक्ति अत्यन्तै दुर्लभ विषय बनेको अवस्था छ ।

यहाँ भ्रष्टाचारी, दुराचारी बेइमानीहरूको दरिलो र बलियो सञ्जाल छ । त्यही सञ्जालको सूत्र प्रयोग गरेर भ्रष्टहरूले भ्रष्टाचारलाई निरन्तरता दिने वातावरण बनाएका छन् । यहाँ संविधान, कानुन, इमानदारी, नैतिकता, सुशासन सबै लिखितमा सीमित छन् । यहाँ सर्वत्र फोहोर र फोहोरीहरूकै बिगबिगी छ । त्यो फोहोरलाई सफा गर्ने अख्तियारी पनि फोहोरी र भ्रष्टले नै लिएका छन् । निर्वाचन नामको परिवर्तनले पार्टीहरूको हैसियत यदाकदा फेरिन्छ । तर, सबै पार्टीको नेतृत्वमा भ्रष्ट र कुशासन विज्ञहरू नै ढसमस्स हुँदा परिवर्तनले एउटा भ्रष्टबाट सत्ता अर्को भ्रष्टमा हस्तान्तरण हुन्छ । फोहोरलाई अर्को फोहोरीले सफा गर्छ भन्ने मान्यता नै गलत मान्यता हो । हामी फोहोरलाई सफा गर्ने काम फोहोरीबाट हुन्छ भन्ने गलत मान्यताबाट ग्रसित छौं । हिलोलाई हिलाले नै धुन्छु भनेर धोइन्छ ? किमार्थ धोइन्न । अहिलेसम्म नेपाली राजनीतिले गन्तव्य नै समात्न नसक्नुको मुख्य कारण हो हामीले हिलोलाई हिलोले नै सफाइ गर्ने दुष्प्रयास ।

बहुदलवादीहरू पञ्चायती राजनीतिलाई दुर्गन्धित राजनीतिको संज्ञा दिन्थे । यसमा किच्चड छ त्यसैले यसलाई परिवर्तन गर्नुपर्छ भन्ने नेताहरूको भावनालाई कदर गर्दै पञ्चायतका विरुद्धको आन्दोलनमा जनताले अनौठो ऐक्यबद्धता प्रदर्शन गरे । त्यहाँ हिलो सफा गर्न निष्कलंकित नेताहरू प्रयोग भए । त्यसैले जनताको अपूर्व साथ, सहयोग र उत्साहका कारण राजाले जनताको चाहनालाई आत्मसात गर्दै बहुदलीय संविधानको घोषणा गरे । परिणामस्वरूप देशको राजनीतिले एकाएक नयाँ मोड नयाँ दिशा अख्तियार गर्‍यो । बहुदलीय व्यवस्थापछिको नेतृत्व इमानदार नहुँदा जनतालाई धोखा भएको छ ।

त्यसरी धोखा दिने कांग्रेस र एमालेलगायतका दलहरूसँग सम्बन्धित नेताहरू नै हुन् । कांग्रेस, एमालेको मिलिजुली लुटलाई चुनौती दिन अर्को छट्टुहरूको समूहले राजनीतिक आवरणमा र विदेशीहरूसँगको गठबन्धनमा भएको हिंसात्मक आन्दोलनलाई विदेशीकै सहयोगमा विदेशीकै भूमिमा तयार भएको १२ बुँदे सहमतिका माध्यमले नयाँ पार्टीको नाममा माओवादीहरूले पनि लुटको भागिदारी लिए । सबैले जनतालाई देखाउने र अन्ततः आफू मोटाउनेमात्रै काम गरे । जनता दुब्लाउने विषय यहाँ सामान्य बन्यो । अब फोहोरीहरूसँग अर्को माओवादी नामको फोहोरी मिसियो । नयाँ फोहोरीले अब म फोहोरलाई सफा गर्छु भनेर जनतालाई भ्रम छर्‍यो । त्यस भ्रमलाई पनि उनीहरूको शृंखलाबद्ध सत्तारोहणले पटाक्षेप गरे । समयक्रममा रवि र राजेन्द्र लिङ्देनहरूले पनि फोहोरलाई सफा गर्ने योजना सुनाए । जनता तिनको पनि भर परे । विश्वास गरे । उनीहरले पनि त्यसलाई त्यही फोहोरी सत्तासँग आफ्नो प्रतिबद्धतालाई विनिमय गरे । जनता निराश भए । निराशहरूसँग आशावादी बन्ने नियतिको सिकार जनता कति बन्ने ? अब देश निर्वाचित र देशप्रेम भएको शक्तिलाई जबर्जस्त जनताको हितमा प्रयोग गर्ने हिम्मत भएको तानाशाहको खोजीमा भौंतारिएको छ ।

हाम्रो राजनीति आजका मितिसम्म हिलोको किच्चडमा धेरै वर्षदेखि जाकिएको मात्रै छैन जकडिएको पनि छ । राजनीतिलाई दुषित, दुर्गन्धित बनाउने मुख्य जिम्मेवार भनेको राजनीतिका जिम्मेवार नेता र तिनका इमानदार र आज्ञाकारी साथै विवेक र चेतनासमेत जिम्मा लगाएका कार्यकर्ताहरू हुन् । अब हिलोमा नै हुर्केका बढेका, पद र पैशासमेत जम्मा गरेर पेट नै फुटेर मर्छन् कि जस्ता नेताहरू, तिनका आसपासका कार्यकर्ताहरू सबै दुर्गन्धित राजनितिको किच्चडमा लतपतिएका छन् । राजनीति गर्ने नेताहरू र कार्यकर्ताहरू किच्चड, हिलोले लतपतिएका कारण उनीहरूको वास्तविक अनुहार नै न देखिन्छ न चिनिन्छ ? उनीहरू सक्कली अनुहार देखाउन पनि नचाहने अवस्थामा भएको हिलाम्मे अनुहार नै उनीहरूलाई लुटको खेतीका लागि बरदान बनेको छ ।

अब त्यो हिलोलाई सफा पानीले नधोइकन अब राजनीति सफा हुँदै हुँदैन । राजनीतिलाई सफा, स्वच्छ र निष्कलंकित बनाउने विशेष आधार र पूर्वाधारहरू निर्माण नगरिकन राजनीतिलाई सपार्छु भन्नेहरू थप विकृतिहरूलाई उत्पादन गर्ने तत्वहरू हुन् । अहिले सबै नेताहरूले आफूलाई सुकिलो देखेका छन् तर जनताले भने उनीहरूको भ्रष्टाचारी प्रवृत्तिका कारण उनीहरूको अनुहारमा कहिल्यै नमेटिने कालो दाग देखेका छन् । हाम्रो दुर्भाग्य भनेको के हो भने राजनीतिलाई सफा गर्ने विषयलाई सबैले बहसको विषय बनाएका छन् । सबै पार्टीका सबै नेताहरूले दुर्गन्धित राजनीतिलाई सफा गर्ने कुरा गर्छन् । राजनीति गर्नेहरूले जनतालाई निरन्तर ठग्ने भनेको विषय नै अब म, हामी विद्यमान फोहोर सफा गर्छौं भन्ने प्रतिबद्धता हो ।

राजनीतिको हिलोलाई धुने प्रयास गरेको धेरै भयो । हिलो धुन हामीले धेरै संघर्ष गर्‍यौं, आन्दोलन गर्‍यौं, व्यवस्था परिवर्तन गर्‍यौं तर त्यो प्रयास हिलोले नै हिलो धुने प्रयास जस्तो हुँदा परिस्थिति सप्रन्छ भनेर हामी अगाडि बढ्यौ, झन् दयनीय भयो ।

प्रत्येक पटकको निर्वाचनको नारा नै हिजोका कमीकमजोरीलाई सुधार्छौं । नयाँ परिस्थिति ल्याउँछौं, भ्रष्टाचार गर्दैनौं र गर्न दिन्नौं । सुशासन बहाली अबको एकमात्र एजेण्डा हो भन्दै निर्वाचन बारम्बार जितेका छन् । तर, उनीहरूले राजनीतिको दुर्गन्धलाई सफा होइन अझ थप दुर्गन्धित हिलो थुपारेका छन् । दुर्गन्धित हिलो सफा गर्ने त कुरै छोडौं स्वच्छ व्यक्तिले हेर्नसम्म पनि नसक्ने हिलोको डुङ्गुर छ । जो हिलोमा लत्पतिएका छन् उनीहरूले त्यसबाट आनन्द लिएका छन् । त्यही हिलो छ र त धन छ भन्ने विषयले आकर्षित छन् । सरकारको ढुकुटी दुरुपयोग गर्ने अधिकारलाई चरम दुरुपयोग कसरी गर्ने ? कहाँबाट, कोमार्फत, कति भ्रष्टाचार गर्ने भन्ने चिन्तन नै राजनीति भएकाले देशमा भ्रष्टाचार, कुशासनको आहलै आहाल बनाउन र त्यही आहलको हिलो, किच्चडमा मात्रै जीवन छ भन्ने मनोविज्ञान अहिल सबै राजनीति गर्नेहरू तथा तिनका कार्यकर्तामा अमिट छाप बसेको छ । कुनै पनि देशको विकास, नागरिकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने शक्ति राजनीतिमा र राजनेतामा हुन्छ । त्यसका लागि राजनीतिमा स्वच्छ, निष्पक्ष, मर्यादित, अनुशासित, नैतिक र चारित्रिक रूपमा बेदाग नेतृत्व आवश्यक हुन्छ । त्यो सफा र बेदाग नेतृत्व वर्तमान राजनीतिभित्रैबाट खोज्नु बनाउनुभनेको हिलोले नै हिलोलाई धुने प्रयत्न गर्नु हो ।

अहिले राजनीतिमा क्रियाशील दोस्रो पुस्तासमेत फोहोरमा लत्पतिएकाले तिनीहरूबाट पनि राजनीति सफा हुँदैन । राजनीतिलाई सफा गर्ने काम अहिलेको सन्दर्भमा राजनीति बाहिर क्रियाशीलहरूको उपस्थिति आवश्यक भएको होइन भन्नेहरूको तर्कले बहस सुरुवात भएको छ । राजनीतिको हिलोलाई धुने प्रयास गरेको धेरै भयो । हिलो धुन हामीले धेरै संघर्ष गर्‍यौं, आन्दोलन गर्‍यौं, व्यवस्था परिवर्तन गर्‍यौं तर त्यो प्रयास हिलोले नै हिलो धुने प्रयास जस्तो हुँदा परिस्थिति हामी सप्रन्छ भनेर अगाडि बढ्यौ तर परिस्थिति झन्-झन् नकारात्मक र दयनीय भयो । अब हामीले फोहोरबाटै फोहोर सफा गर्ने सोच, दृष्टिकोण र प्रयोगलाई बदल्नुको विकल्प छैन । निष्कर्षमा नेपाली दुर्गन्धित राजनीतिलाई दुर्गन्धितमार्फत सफा गर्ने जुन प्रयास हामीले गरेका छौं यो बाटो र शैलीबाट अब राजनीति शुद्धीकरण हुँदैन भन्ने निष्कर्ष निकाल्न हामी बाध्य छौं । तर, राजनीतिलाई हिलै हिलोको किच्चडमा युगौंदेखि जकडिएको अवस्थामा सफा गर्ने सूत्रहरू र रणनीति पूर्णरूपले असफल भए । राजनीतिक पार्टीहरूभित्र आन्तरिक प्रजातन्त्रिक अभ्यास छैन । चुनावमा उम्मेदवारहरूको चयन प्रतिस्पर्धामा हँदैन । माथिबाट कुनै आधार नखुलाई मनोनयन, नियुक्ति गरिन्छ । शीर्ष नेताहरू पार्टी हितभन्दा आफ्नो हैकम र वर्चस्व बढाउनतर्फ गुट बन्दी र एकाधिकार कायम राख्न केन्द्रित छन् ।

परिणामस्वरूप, देश र जनताले त्यही पुराना कार्य सम्पादन गर्न र परिणाम दिन असमर्थ अयोग्य नेताहरू बीचबाट पटक-पटक चुनावमा छनौट गर्नु पर्ने बाध्यत्मक परिस्थिति सिर्जना गरिएको छ । जबसम्म यो परिस्थिति परिवर्तन हुँदैन, गरिँदैन हामी नेपालीले चाहेर पनि परिस्थितिलाई राम्रो बनाउन सक्ने अवस्था छैन । हाम्रो राजनीति अझै चुरोमा प्रवेश नगरिकन कुरोमा नै रुमलिएको छ । निकासको उचित गन्तव्य खोजी र कार्यान्वयन विना निकासको खोजी के सम्भव होला ?

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2023-04-25 12:39 pm

धन्यवाद हिटा परिवारलाई

गोविन्द विनोदी
गोविन्द विनोदी
2023-04-28 9:14 am

निकै चित्तबुझ्दो समसामयिक लेख । हिलोले ढाकिएको फोहर राजनीतिको शल्यक्रिया !!!

रिलेटेड न्युज

छुटाउनुभयो कि ?