कृषि सामग्री प्रदर्शनी सुरु

Read Time = 3 mins

सर्लाही । कृषि यान्त्रीकरणको वृद्धि, दुग्धजन्य एवं कृषि उत्पादनमा नवीनतम् प्रविधि भन्ने नाराका साथ सर्लाहीको हरिवनमा मंगलबारदेखि डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको छ । हरिवन नगरपालिका र प्रदेश दुग्ध विकास बोर्ड मधेश प्रदेशको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहले उद्घाटन गर्नुभएको छ ।

मन्त्री कुशवाहले किसानको जीवनस्तर उकास्न प्रदेश सरकारले यस वर्षदेखि विभिन्न योजना ल्याएको बताउनुभयो । आठवटै जिल्लाका एक हजार दुई सय ७० वडामा जैविक मलका साना उद्योग स्थापना, पालिकास्तरमा बजार व्यवस्थापन, ३२ स्थानमा शीतभण्डार निर्माण, एक लाख किसानलाई गाईभैँसीमा अनुदानलगायतका कार्यक्रम ल्याउन लागिएको उहाँको भनाइ थियो ।

मन्त्री कुशवाहले मधेश प्रदेशमा उत्पादित तरकारीलगायत अन्य कृषि उपज काठमाडौं, पोखरा, वीरगञ्ज, विराटनगरलगायत ठूला शहरमा बिक्रीको प्रबन्ध मिलाउन आफूले पहल गरिरहेको बताउनुभयो । कृषि उपज हुने मधेश प्रदेशमा मलको सधैँ अभाव रहँदा किसानलाई खेती लगाउनै समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै संघीय सरकारसँग मधेश प्रदेशका लागि मलको कोटा बढाइदिन आफूले पहल गरिरहेको पनि उहाँले बताउनुभयो ।

मधेश प्रदेशसभाका सदस्य जवाहरलाल कुशवाहले किसानले आफ्ना उत्पादनको उचित मूल्य नपाउञ्जेल देश समृद्ध बन्न नसक्ने भन्दै कृषिजन्य र पशुजन्य उत्पादन घट्दै जानु चिन्ताको विषय भएकाले किसानलाई प्रोत्साहन हुने खालका सहुलियत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका प्रमुख राजनप्रसाद यादवलगायतले पनि बोलेका थिए ।

प्रदर्शनीमा किसानसँगै कृषि तथा पशुजन्य उत्पादन र औजारका उत्पादकलाई निःशुल्क स्टलको व्यवस्था मिलाइएको प्रदर्शनीका संयोजक केशवराज थापाले जानकारी दिनुभयो । थापाका अनुसार प्रदर्शनमा कृषि तथा डेरीजन्य उत्पादनका विज्ञबाट किसानलाई निःशुल्क परामर्शको व्यवस्थासमेत मिलाइएको छ । प्रदर्शनी १४ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?