आर्सनलमाथि सिटीको सानदार जित

Read Time = 4 mins

लण्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनलमाथि ४-१ को सानदार जित हात पारेको छ । सिटीको जितमा केभिन डि ब्रुएनाले दुई तथा जोन स्टोन्स र एर्लिङ ब्राउट हालाण्डले समान एक गोल गर्नुभयो । आर्सनलका रोब होल्डिङले एक गोल फर्काउनुभयो ।
खेलको सातौँ मिनेटमा बु्रएनाको गोलबाट सिटीले अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा जोन स्टोन्सले बु्रएनाको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पार्नुभयो । ५४औँ मिनेटमा बु्रएनाले हालाण्डकै पासमा व्यक्तिगत तेस्रो गोल गर्नुभयो ।

८६औँ मिनेटमा लियान्द्रो ट्रोसार्डको पासमा रोब होल्डिङले गोल गर्दै खेललाई तीन-एकको स्थितिमा पुर्‍याउनुभयो । पाँचौँ मिनेटमा हालाण्डले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई चार-एकको सानदार जित दिलाउनुभयो ।

हारसँगै शीर्षस्थानमा रहेको आर्सनलको ३३ खेलबाट ७५ अंक छ । आर्सनललाई हराएसँगै दुई खेल कम खेलेको सिटीको उपाधि जित्ने सम्भावना बलियो बनेको छ । दोस्रो स्थानमा रहेको सिटीको ३१ खेलबाट ७३ अंक पुगेको छ । अब सिटीले दुवै खेलमा जित निकालेमा आर्सनललाई चार अंकले पछि पार्नेछ ।

यस्तै, अर्को खेलमा लिभरपुलले वेस्टहृयाम युनाइटेडमाथि २-१ को पुनरागमन जित हात पारेको छ । लिभरपुलको जितमा कोडी गाक्पो र जोइल मटिपले एक-एक गोल गर्नुभयो । वेस्टहृयामका लुकास पाक्वेटाले एक गोल फर्काउनुभयो ।

खेलको १२औँ मिनेटमा लुकास पाक्वेटाको गोलबाट वेस्टहृयामले अग्रता लिएको थियो । १८औँ मिनेटमा कोडी गाक्पोले ट्रेन्ट एलेक्साण्डर आर्नाेल्डको पासमा बराबरी गोल फर्काउनुभयो । ५५औँ मिनेटमा जारोड वोवेनले गर्नुभएको गोलले भिएआरबाट मान्यता पाएन । त्यसपछि ६७औँ मिनेटमा जोइल मटिपले गोल गर्दै लिभरपुललाई जित दिलाउनुभयो ।

यस जितसँगै लिभरपुल ३२ खेलबाट ५३ अंक जोडेर छैटौँ स्थानमा उक्लिएको छ । पराजित वेस्टहृयाम ३४ अंक जोडेर १४औँ स्थानमा छ ।
प्रिमियर लिगकै अर्काे खेलमा चेल्सी घरेलु मैदानमा ब्रेन्टफर्डसँग २-० ले पराजित भयो । ब्रेन्टफर्डको जितमा ब्रायन एम्वेउमोले गोल गर्दा एक गोल उपहार पायो । खेलको ३७औँ मिनेटमा कप्तान सिजर एज्पिली क्वेटाको आत्मघाती गोलबाट चेल्सी खेलमा पछि पर्‍यो । त्यसपछि ७८औँ मिनेटमा ब्रायनले गोल गर्दै चेल्सीलाई २-० को हार चखानुभएको थियो ।

चेल्सीको यो लगातार पाँचौँ हार हो । चेल्सीले ११ मार्चमा लेस्टर सिटीलाई २-१ ले पराजित गरेयता जित निकाल्न सकेको छैन । जसमा दुई बराबरी र ६ हारको नतिजा छ । यस हारसँगै चेल्सी ३२ खेलबाट ३९ अंक जोडेर ११औँ स्थानमा यथावत् छ । चेल्सीलाई हराएको ब्रेन्टफर्ड ३३ खेलबाट ४७ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?