सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको तयारी

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

सरकारले आफ्ना नीति तथा कार्यक्रम नसमेटेको भन्दै रास्वपाले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो । रास्वपाका प्रवक्ता मुकुल ढकालले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अवस्थामा पार्टी पुगेको बताउनुभयो।

‘हाम्रो एजेण्डा सरकारको नीति तथा कार्यक्रममा समेटिएन । तसर्थ हामीले सरकारलाई दिएको समर्थन कायम राख्ने औचित्य नै छैन,’ उहाँले भन्नुभयो, ‘हामीले मेन्टालिटी बनाइसकेका छौं । निर्णय मात्र गर्न बाँकी छ ।

गत पुस ११ गते उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी लिएर रवि लामिछाने सरकारमा जानुभएको थियो । तर, नागरिकता विवादमा सर्वोच्च अदालतले विपक्षमा फैसला गरेपछि उहाँको सांसद पद गुमेको थियो । त्यसपछि उहाँले आफ्ना दुई मन्त्री र एक राज्यमन्त्रीलाई राजीनामा दिन लगाउनुभएको थियो ।

बैशाख १० गते भएको उपनिर्वाचनबाट लामिछाने पुनः प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ। उहाँ सांसद निर्वाचित भएसँगै सरकारमा जाने अड्कलबाजी हुन थालेका थिए । तर, प्रतिनिधिसभामा उपनिर्वाचनमा निर्वाचित भएकै दिन उहाँले सरकारलाई दिएको समर्थन कायम राखिरहनुको औचित्य नभएको बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?