कृषिमा जनशक्तिको अभाव : समय वितिसक्दा पनि भएन रोपाइँ

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा रोपाइँको चटारो छ । मानो रोपेर मुरी उब्जाउने महिनाको रूपमा चिनिने असारमा रोपाइँका लागि चाहिने जनशक्तिको अभाव उत्पन्न भएको छ । जनशक्तिकै अभावमा धान फल्ने खेत बाँझै राख्न यहाँका कृषकहरु वाध्य भएका छन् । धान फल्ने खेत बनमारा झारले ढाकिएको छ ।

जिल्लाको मालिका गाउँपालिका २ का टेकवहादुर घर्तीले खेती लगाउने खेताला (जनशक्ति) नपाए पछि बिहीवार (आज) रोप्नका लागि ठीक्क पारेको खेतमा रोपाइँ गर्न पाउनुभएन ।

कृषकलाई कामको चटारो परिरहँदा गाउँमा काम गर्ने युवा जनशक्तिको अभाव भएर यहाँ खेती लगाउनै समस्या देखिन थालेको हो ।
त्यसैगरी बेनी नगरपालिका २ बगरफाँटका चन्द्रबहादुर घिमिरेले सात मुरी धान फल्ने खेत बाँझै राख्नुभएको छ । छोरा बुहारी विदेश र आफू काठमाण्डौमा वसोवास गर्ने भएकोले गाउमा कृषीका लागि चाहिने जनशक्ति नहुँदा खेत नै बाँझो राख्नुपरेको उहाँले बताउनुभयो ।

गाउँमा वैदेशिक रोजगारको आकर्षणले युवा जमात विदेश पलायन हुँदा गाउँ युवाविहीन बन्दा असारको हिलोमा धान रोपाइँ गर्न महिला, बालबालिका र वृद्धवृद्धा जानुपर्ने बाध्यता रहेको बेनी नगरपालिका २ खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

म्याग्दीका ६ वटै पालिकामा खेतमा यतिखेर किसान धान रोप्न व्यस्त छन्। मंगला गाउँपालिका वडा नं ५ छिसवाङ गाउँका अधिकांश युवा रोजगारीको लागि विदेश जाने र बुहारी सहर बजारमा डेरा गरेर बस्ने गरेकोले काम गर्नेको अभाव भएको छिसवाङका ४९ वर्षिय वीरबहादुर पुनले बताउनुभयो ।

गाउँघरमा अमपर्म चल्न छोडेको छ । महंगो ज्याला दिएर कामदार लगाइ खेती गर्दा उत्पादनले खर्च पनि नउठ्ने भएकोले पनि किसानहरु कृषिप्रति निरुत्साहित हुँदै गएका मालिका गाउँपालिका ६ का तीर्थबहादुर सिउथानीले बताउनुभयो ।

केही समय अघिसम्म आलोपालो रोपाइँ गर्ने गरिएकोमा पर्म लगाउने नहुँदा समस्या परेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘‘गाउँमा बुढाबुढी मात्रै छन् युवा नै छैनन् ज्यामी नपाइँदा समस्या परेको छ । खेतै भरी बनमारा झारको झाडी फैलिएका छन ।’’

जनशक्तिको अभावले बर्सेनि खेत बाँझो हुनेक्रम बढ्दै गएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।केन्द्रका अनुसार स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुँदा युवा विदेश पलायन हुन बाध्य छन्। राजनीतिक अस्थिरताले गर्दा देशभित्र रोजगारीका अवसर सहज नहुँदा जिल्लाबाट हरेक वर्ष बिदेसिनेको सङ्ख्या बढिरहेको छ ।

युवाशक्ति विदेश पलायन हुँदा करिव ५ हजार हेक्टर खेतमा वर्षेधान हुने गरेकोमा हाल घटेर ३ हजार ८ सय ९० हेक्टरमा मात्रै रोपाइँ हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो । त्यसमध्ये असारको दोस्रो साता बितिसक्दा १२ प्रतिशत मात्र रोपाइँ भएको उहाँको भनाइ छ ।

म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहेंले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातको धानखेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेतीसमेत हुन्छ ।

अनुकूल मौसमका कारण यस वर्ष मकै उत्पादन भने बढ्ने अनुमान छ । यस वर्ष नौ हजार ४ सय ३५ हेक्टर क्षेत्रफलमा मकैखेती भएको छ । गत वर्ष ३२ हजार २०० मेट्रिक टन मकै उत्पादन भएको थियो । मकै म्याग्दीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो ।
मकै खेती भएका बगरफाँट,सिंगा र पुलाचारका फाँटमा अझैँ धान रोप्ने समय भए पनि मकै खेती नभएका फाँटमा भने धान रोप्न ढिलाइ भएको किसानको भनाइ छ ।

समयमै धान रोप्न नपाउँदा धानको उत्पादन घट्ने किसानको भनाइ छ । यो वर्ष समयमै पानी पनि नपर्ने र मल पनि नपाउने समस्याले धान उत्पादन घट्न सक्ने बगरफाँटका कृषक भीमबहादुर रिजालले बताउनुभयो । समयमा मल पनि नपाउने र समयमा धान रोप्न नपाउने समस्याले उत्पादन घट्न सक्छ, रिजालले भन्नुभयो ।

पानी परिरहे पनि मूल फुट्ने गरी पानी नपरेकोले टारी खेतमा रोपाइँ हुन बाँकी रहेको केन्द्र प्रमुख सिग्देलले बताउनुभयो । धान रोपाइँमा आवश्यक पुरुष र महिला जनशक्ति कम भएपछि समस्या आएको उहाँ बताउनुहुन्छ ।

जनजाति समुदायको बाहुल्यता रहेको यस जिल्लामा रोजगारीका लागि विदेश पुग्नेक्रम पहिलेदेखि नै चल्दै आएको पाइन्छ। पहिले बेलायत र भारतीय सैनिकमा भर्ती भएर जाने चलन भए पनि पछिल्लो समय साउदी अरब, मलेसिया, दुबई, कतार, दक्षिण कोरिया, जापान लगायतका देशमा बढी जाने गरेको पाइएको केन्द्र प्रमुख सिग्देलले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?