सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छः रवि लामिछाने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताउनुभएको छ ।

सभापति लामिछानेले शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताउनुभएको हो । उहाँले आफूहरुलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरुले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्युनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरुको आपत्ति रहेको बताउनु भयो । उहाँले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भिर समिक्षा गरेर मात्रै अगाडी बढ्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो-‘हामीले आम नागरिकसँग भोट मागिरहँदा हाम्रो सबैभन्दा महत्वपूर्ण विषय र हामीलाई सबैभन्दा बढी आम नागरिकले भोट दिएको हामीलाई लागेको विषय भनेको मुलुकको भ्रष्टाचारको अन्त्यको विषय हो । जसमा हामीले कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानविन हुनुपर्छ भनेका थियौँ । त्यो नै न्युनतम साझा कार्यक्रमबाट सरकारले हटायो । त्यसमा हाम्रो गम्भिर भन्दापनि गम्भिर आपत्ति छ । किनभने मतदाताले हामीलाई केही थान मान्छेलाई संसदमा पठाएको होइन । निश्चित एजेण्डासहित एउटा म्याण्डेड दिएर पठाएको हो । जुन वाचा गरेर हामी आएका थियौँ अझ निर्मम हुनुपर्ने कुरालाई भएको पनि हटाएको कुरामा हाम्रो गम्भिर आपत्ति छ । यसमा गम्भिर समिक्षा गरेर मात्रै अगाडी बढ्छौँ ।’

उहाँले आफूहरुले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको भएपनि सरकारलाई दिएको समर्थनबारे पुनःमूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । शुक्रवार सभामुख देवराज घिमिरेले चितवन २ बाट सांसदमा निर्वाचित रास्वपा सभापति रवि लामिछाने र रास्वपाबाटै तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेलाई पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?