खार्तुम । सुडानमा युद्धविरामको अवधि लम्बिएको भए पनि संघर्ष रोकिएको छैन । सुडानी सशस्त्र बल (एसएएफ) र विपक्षी र्यापिड सपोर्ट फोर्सेस (एसआरएफ) अर्को ७२ घण्टा युद्धविराम गर्न सहमत भए पनि राजधानी खार्तुम र डार्फुरमा हवाई हमलाका साथै लुटपाट जारी छ । साउदी अरब र अमेरिकाको दबाबमा द्वन्द्वरत दुवै पक्षले युद्धविराम गर्ने सहमति जनाए पनि युद्ध भड्केकामा अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ । उक्त समुदायले युद्ध बन्द गर्ने सहमति पूर्णरूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ ।
अफ्रिकी संघ, संयुक्त राष्ट्रसंघ, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बेलायत र अमेरिकाले एक संयुक्त वक्तव्य निकालेर युद्धविराम गर्न सहमति जनाएकामा त्यसको स्वागत गरेका छन् । उनीहरूले शत्रुतापूर्ण गतिविधि सदाका निम्ति अन्त्य गर्न वार्ता र मानवीय सहायता सुनिश्चित गर्नेतर्फ द्वन्द्वरत पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
पश्चिमी डार्फुरमा भड्किएको युद्धका कारण कुपोषणको शिकार भएका करिब पचास हजार बालबालिकालाई खाद्य सहायता उपलब्ध गराउन नसकिएको राष्ट्रसंघीय खाद्य कार्यक्रमले जनाएको छ । सहायता निकायहरूका अनुसार हिंसाका कारण घरभित्रै फसेका धेरै सुडानी खाना, पानी, इन्धन र बिजुलीको अभावमा छटपटाइरहेका छन् । केही भने ज्यान जोखिममा पारेर सुडानबाट पलायन भएका छन् ।
१४ दिनअघि युद्ध सुरु भएपछि सुडानबाट १४ हजार नागरिक सुरक्षाको खोजीमा देशबाट पलायन भएका इजिप्टका अधिकारीले बताएका छन् । पचास देशका दुई हजार विदेशीले पनि सुडान छाडेका छन् । २० हजार सुडानी चाड पुगेका छन् भने चार हजार दक्षिण सुडानमा शरणार्थी भएका छन् तीन हजार पाँच सयजना इथियोपिया पुगेका तथा तीन हजारको हाराहारीमा अन्यत्र पलायन भएका राष्ट्रसंघीय निकायले जनाएका छन् । युद्ध जारी रहेमा थप दुई लाख ७० हजार सुडानी मुलुकबाट विस्थापित हुने चेतावनी पनि राष्ट्रसंघीय निकायहरूले दिएका छन् । रासस/एएफपी ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच