देशभर ५० प्रतिशत व्यापारिक सटर खाली

व्यवसायी भन्छन्- ‘बाध्यता’

Read Time = 9 mins

रमेश भारती/हिटा
काठमाडौं । एकातिर आर्थिक मन्दी अर्कातिर बैंक तथा वित्तीय संस्थाहरूले बढाएको चर्को ब्याजका कारण व्यवसायी छाड्नुपर्ने बाध्यता भएको महाबौद्धमा होलसेल जुत्ता व्यापार गदै आउनुभएका दीपेन्द्र कार्कीले बताउनुभयो । सात प्रतिशतका दरले लिएको ऋण अहिले १७ प्रतिशतसम्म तिर्नुपर्ने बाध्यता भएकै कारण व्यवसायी छोड्नुपर्ने अवस्था भएको उहाँको भनाइ छ । ‘बैंकको चर्को ब्याजका कारण ख्याति कमाएका व्यापारीसमेत धराशायी बन्दै छन् । हामी त सामान्य भयौँ । एकातिर व्यापार छैन, भने अर्कोतिर बैंकले छाड्दैन । त्यही भएर समस्या सुरु भएपछि व्यापार छाडेको हुँ ।’ कार्कीले भन्नुभयो, ‘खाद्य किरानासँगै अत्यावश्यक व्यवसाय चले पनि अन्य व्यवसायमा कारोबार न्यून हुँदा व्यवसायी विस्थापित भइरहेका छन् । व्यापार राम्रोसँग नहुँदा बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगेपछि धेरैजना व्यवसाय छोडेर वैदेशिक रोजगारीमा गएका छन् ।’ अहिलेको अवस्थामा व्यापार छाड्नुपर्ने अवस्था भएको उहाँको भनाइ छ ।

यस्तै, व्यापारीहरू धराशायी हुनुको मुख्य कारण आर्थिक मन्दी र बैंकको चर्को ब्याज रहेको न्युरोडमा कपडा पसल गर्दै आउनुभएका रामेछापका विकास अधिकारी आँैल्याउनुहुन्छ । आर्थिक मन्दीबाट पार लाग्न राष्ट्र बैंकले अर्थ नीति बनाउनुपर्ने हो, तर यसमा सरकार र राष्ट्र बैंक नै जिम्मेवार नभएको उहाँको बुझाइ छ । ‘सबैभन्दा पहिला आर्थिक मन्दीका बेला सरकारले करका दरहरू बढाउनुभएन । अहिले सरकारले करका दायराहरू बढाएका कारण व्यापारमा अझ प्रभाव परेको छ ।’ उहाँ भन्नुहुन्छ, ‘सरकार राजनीतिक खेलमा लाग्यो । स्थानीय सरकारले व्यापारको अवस्था कस्तो चासो दिएन । अहिलेको समस्या यही भएका कारण व्यापार छाड्नुपरेको हो ।’

कार्की र अधिकारी त न्युरोडका प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँहरू जस्तै ३० प्रतिशत न्युरोड क्षेत्रका व्यापारीले व्यवसाय छाडेका छन् । यो आर्थिक मन्दी र बैंकको ब्याजको कारण भएको व्यवसायीको आरोप छ ।

घरधनीको भाडा वृद्धि, बैंकको चर्को ब्याजदर र व्यापार नहुँदा किस्ता तिर्न नसक्ने अवस्थामा पुगेपछि सटर धमाधम बन्द हुन थालेको राष्ट्रिय व्यवसायी महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले जानकारी दिनुभयो । आर्थिक संकट र बैंककै व्याजका कारण व्यापार व्यवसाय चलन नसक्दा मुलुकभर ५० प्रतिशत सटर खाली हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

मुख्य सहरमै प्रभाव
अहिले देशभरका व्यापारिक मुख्य बजारमा हरेक चोक र टोलका घर र सटरमा ‘टुलेट’, ‘सटर भाडामा’, ‘कोठा भाडामा’ लेखेर टाँसिएका पोस्टर भेटिन्छन् । केहीमा भाडा रकमसमेत खुलाइएको हुन्छ । यसका मतलव देशमा व्यापार–व्यवसायीको अवस्था नाजुक बन्दै गएको छ ।
विगत तीन महिनायता काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आवास तथा व्यावसायिक प्रयोजनका लागि भनेर राखिएका ‘टुलेट’ पोस्टर देखिन थालेका छन् । यो क्रम साउन लागेपछि अझ बढेको विभिन्न क्षेत्रका व्यापारीहरू नै बताउँछन् । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ‘टुलेट’सहितका पोस्टर तथा होर्डिङ बोर्ड जताततै देखिन्छन् । यसको अर्थ देशभर व्यवसायमा संकटमा परेको स्यंम व्यवसायीहरूले स्वीकार्ने थालेका छन् ।

पछिल्लो समय आर्थिक संकट तथा बैंकको ब्याजदर उच्च रूपमा वृद्धि भएपछि व्यवसाय चलाउन नसक्दा व्यवसायीहरू पलायन हुने क्रम बढेसँगै सहरी क्षेत्रमा व्यावसायिक सटर तथा गोदामहरू धमाधम खाली हुन थालेका छन् ।
देशभरमा मुख्य सहरमा आर्थिक मन्दीका धमाधम व्यावसायिक सटरहरू खाली हुन थालेका छन् । नयाँ आर्थिक वर्ष लागू भएपछि झन् व्यापारिक सटरहरू बन्द हुनेक्रम बढेको स्वयम् व्यवसायीहरूले बताइरहेका छन् । कुनै समय थाम्नै नसक्ने गरी व्यापार हुने न्युरोड, असन र महाबौद्ध र वसन्तपुर आसपासका मुख्य बजार क्षेत्रका सटरहरू आर्थिक मन्दीका कारण धमाधम बन्द भइरहेको छन् ।

बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यापारीहरूकै आरोप छ । उद्योग व्यवसाय पूर्ण रूपमा चल्न नसक्नु, रोजगारीका अवसर नहुँदा पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको सरकारी अध्ययनहरूमा भनिएको छ । नेपालका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था राष्ट्रिय व्यवसायी महासंघका अनुसार मुलुकभर ४० देखि ५० प्रतिशत सटर बन्द भएका छन् । पछिल्लो समय आर्थिक गतिविधि सुस्त गतिमा चलायमान हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको संख्या बढ्दै गएको समेत महासंघले औल्याएको छ ।

बैंकको उच्च ब्याजदर, ऋणको किस्ता तिर्न नसक्दा धेरै व्यवसाय बन्द हुन थालेका छन् । सहकारीबाट ऋण लिएर व्यापार व्यवसाय चलाउने गरेकामा अहिले नपाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा कुमार कार्कीले जानकारी दिनुभयो । सुन, लत्ताकपडा, गाडी, जुत्ताचप्पल, निर्माण सामग्री, हार्डवेयरका सामानको व्यापारमा कारोबार ५० प्रतिशतभन्दा कम भएको छ । भने, चारवटा सटर भएका व्यवसायीले दुईवटा सटरमा व्यवसाय झारेको उहाँले बताउनुभयो । अहिलेको अवस्था कायमै रहे आर्थिक अवस्थामा मात्र होइन । व्यवसायी पनि समस्याग्रस्त हुने उहाँको दाबी छ । व्यवसायीका अनुसार व्यापार व्यवसाय सञ्चालन हुन नसक्दा पछिल्लो समय व्यवसायबाट पलायन हुनेक्रम दिन प्रतिदिन बढ्दै छ । कोभिड-१९ को असरसँगै गत वर्ष देखापरेका रुस-युक्रेन युद्धका कारण मुलुकको आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको छ ।

यस्तै, काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा कोठा र पसलको सटर बन्द गराई भाडा असुल गरिदिनका लागि उजुरी दिनेको संख्या हृवात्तै बढेको छ । १० वटा उजुरीमध्ये आठवटा उजुरी भने कोठा र सटर बन्द गराई भाडा दिलाई पाऊँ भन्ने खालको आउने गरेको महानगरले जनाएको छ । आर्थिक मन्दीका कारण घरबेटीहरू नै कोठा र सटर बन्द गराई भाडा असुलीका लागि उजुरी दिन लागेको र यो क्रम अझै बढेर जाने काठमाडौं महानगरपालिकाको आँकलन छ । यो समय पछिल्लो समय देशभर देखिन थालेको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?